Nepali Pahichan Exercise : Question Answers and Grammar

Nepali Pahichan Exercise : Question Answers and Grammar

शब्दभण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

निष्कर्षोन्मुख : निष्कर्षमा पुग्न खोजेको
अर्गानिक : जैविक
सौन्दर्य : सुन्दर हुनुको भाव
लैंगिक : लिङ्गसम्बन्धी
विभेद : भेदभाव
कुपरम्परा : नराम्रो परम्परा
संश्लेषण : जोड्ने काम
निर्मूल : पूरै सखाप पारिएको
सान्दर्भिक : प्रसङ्गअनुसार मिल्ने
आडम्बर : देखावटी, ठाटबाट
फलदायी : फल दिने, फाइदादाजनक

२. शब्दकोशको सहायताबाट दिइएका शब्दको कोशीय क्रम मिलाई अर्थ लेख्नुहोस् :

अवलोकन : सूक्ष्म रूपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम
आरोहण : चढ्ने वा उक्लने काम वा प्रक्रिया
आविष्कार : नयाँ सिद्धान्तको प्रतिपादन, उत्पादन
गन्तव्य : जाने वा पुग्ने स्थान
छरपस्ट : चारैतिर छरिएको, लथालिङ्ग
परिकार : विभिन्न प्रकार वा किसिमका
पहिचान : परिचय, प्रत्यभिज्ञान
मौका : सुहाउँदो समय
विशिष्टता : विशिष्ट हुनाको भाव वा स्थिति
सदुपयोग : कुनै विषयवस्तुलाई राम्रो किसिमले व्यवहारमा ल्याउने काम, उचित उपयोग
सम्मान : विशेष मान, ठुलो आदर वा सत्कार
सरोकार : प्रयोजन, वास्ता, चासो

३. दिइएका टुक्काको अर्थ पहिल्याई तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

लख काट्नु : अनुमान गर्नु
पहाडतर्फ कतै कतै बलेको पिलपिल बत्तीले दुई पहाडको दूरी लख काट्न सकिन्छ ।

आलु खानु : असफल हुनु
बहिनी श्रेयाले कक्षा १२ को ५ ओटै विषयमा आलु खाईछन् ।

पसिना काढ्नु : मिहिनेत गर्नु
राम बहादुरले सालभर पसिना काढेर दुई धार्नी घिउ र चार माना मह जम्मा पार्छ ।

कुरा खानु : भनेको मान्नु
शिक्षकले भनेको कुरा खानु विद्यार्थीको हितमा हुन्छ ।

कान खानु : दिक्क लगाउनु
सानो भाईले बिहानदेखि मिठाई मिठाई भन्दै कान खाएको छ ।

हावा खानु : खुस्कनु
मनपरी सोच्नेको हावा खान समय लाग्दैन ।

आँखा चिम्लिनु : देखेको नदेखी गर्नु
संविधानको संरक्षक राष्ट्रपतिले आँखा चिम्लिनु विडम्बना कुरा छ ।

मन चोर्नु : माया जालमा पार्नु
तिम्रो मन चोर्नु पर्यो भनेर गको त बाटोमा पुलिस घुमीरा रहेछ भनि रमेशले ठट्टा गर्यो ।

मुख छाड्नु : गाली गर्नु
रितेसले भाइको अगाडी मुख छाड्यो ।

४. दिइएका उखानको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :

अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भनेजस्तै कक्षा १२ मा अध्यन्रत विजय एक पटक दुर्घटनामा परेपछि बाइक देख्ना साथ डराउछ । अड्को पड्को तेलको धूप भनेझै एकपटक उसले परीक्षामा कलमको मसी सकिएपछि सिसाकलमले लेखेछ । अनुभवी शिक्षकका अगाडि पाठेक्रमको गफ छाँट्नु इन्द्रका अगाडि स्वर्गको बयान गरे जस्तै हुन्छ । एक हातले ताली नबज्ने भएकाले एकआपसमा सहयोगको आदानप्रदान गर्नुपर्छ । हामी अरुले के भन्ला भनेर डराउनु हुँदैन किनकि काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।

५. दिइएका मानविकी तथा साहित्यिक क्षेत्रका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :

अधिमूल्यन : कुनै वस्तु वा मुद्राको सामान्यभन्दा बढ्न गएको मूल्य

अलङ्कार : अर्थगत वा शाब्दिक चमत्कारद्वारा साहित्यलाई सिँगार्ने तत्त्व भएको

अवमूल्यन : कुनै वस्तुको मूल्य घट्ने वा महत्त्व कम हुने क्रिया

आवासीय : नियत स्थानमै बसेर काम गर्ने

आशुकवि : कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा वर्णन गर्न सक्ने कवि

उपन्यास : धेरै अध्याय वा खण्डहरूमा लेखिने लामो साहित्यिक कथा

कथा : प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना

कविता : कविद्वारा आफ्ना संवेद्य अनुभूति वा स्फूर्त भावनालाई छन्द वा लयमा उनेर प्रस्तुत गरिएको पद्यात्मक वा गद्यात्मक साहित्यिक कृति वा रचना

छन्द : यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित मान वा रूप

निबन्ध : कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना

रस : साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण, हास्य, अद्भुत, भयानक, रौद्र, वीभत्स र शान्तसमेतका अनुभूतिगत नवरस

बोध र अभिव्यक्ति

१. संवाद पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) नेपाली समाजको अवस्थाप्रति घनश्यामको बुझाइ कस्तो छ भन्नुहोस् ।

नेपाली समाजको विविधतामय अवस्था देख्दा घनश्यामलाई अचम्म लाग्छ । एउटा सानो समाजमा अनेक जाति, अनेक भाषा, अनेक संस्कृति भएकाले अनेक मतमतान्तर हुने रहेछ – जसले हाम्रो समाजको विकासमा असर गर्छ कि भन्ने प्रश्नले घनश्यामको चासो र चिन्तनसँगै कमजोर बुझाइ रहेको छ ।

(ख) नेपाली समाजको पहिचान के हो, बेखामानको भनाइका आधारमा लेख्नुहोस् ।

बेखामानको भनाइका आधारमा नेपाली समाज विविधतामय छ । नेपाली समाजमा रहेका विविधता नै नेपाली समाजको पहिचान हो । पहिचान भनेको चिनारी हो । नेपाली समाज बहुजातीय छ । त्यसैले हाम्रो समाजको पहिचान बहुजातीय हो ।

(ग) विविधता नै सम्पत्ति हो कसरी, सिम्माको भनाइका आधारमा लेख्नुहोस् ।

सिम्माको भनाइका आधारमा नेपाल एक बहुजातीय मुलुक हो । अर्थात् यहा थुप्रै जाति छन् । हरेक जातिका आफ्नै प्रकारका परम्परा, संस्कृति, ज्ञान, अनुभव छन् । जातिमा जस्तै हरेक भाषामा पनि मानिसका ज्ञान, अनुभव, संस्कृति सुरक्षित हुन्छन् । सभ्यता भनेको जाति, भाषा र संस्कृतिको समष्टि हो । जाति, भाषा, संस्कृतिमा विविधता हुनु भनेको सभ्यतामा पनि विविधता हुनु हो । त्यसैले जाति, भाषा, संस्कृतिमा विविधता भएको हाम्रो समाज विविध सभ्यताको सङ्गम भएकाले विविधता नै सम्पत्ति हो ।

(घ) सलिमको भनाइका आधारमा नेपाली समाजको सुन्दर पक्षका बारेमा स्पष्ट पार्नुहोस् ।

सलिमको भनाइका आधारमा नेपाली समाजको सुन्दर पक्ष भनेको विविधता र अनेकतामा रहेको आपसी सहिष्णुता र एकता हो । नेपालीहरुको आपसमा मिलेर बस्ने, एकले अर्काको भाषा, संस्कृतिप्रति सम्मान गर्ने साह्रै राम्रो बानी छ । यो नेपाली समाजको विशिष्ट पहिचान हो । यो नै हाम्रो समाजको सौन्दर्य हो ।

(ङ) कसरी नेपाली विविधतालाई पर्यटनसँग जोड्न सकिन्छ, आफ्नो विचार लेख्नुहोस् ।

नेपाल क्षेत्रफलको हिसाबमा सानो भएपनि सांस्कृतिक हिसाबले विशाल छ । नेपाल आरोहण गर्न आउने पर्यटनहरु मध्ये केहि घुम्न मात्र नभएर जैविक विविधताको अध्ययन र अवलोकन गर्न आउने गर्दछन् । पर्यटकहरुलाई पहाड, तराई, उपत्यका, दुन, जङ्गल, जैविक विविधताको अध्ययन र अवलोकन गर्न मन लाग्छ । कसैलाई इतिहास, संस्कृति आदिको अध्ययन अवलोकन गर्ने रूचि र चाहना हुन्छ । तसर्थ नेपाली विविधतालाई सांस्कृतिक पर्यटनसँग जोड्न सकिन्छ ।

(च) नेपाली समाजमा के कस्ता विकृति, विसङ्गति छन्, पाठका आधारमा लेख्नुहोस् ।

नेपाली समाज विकृति, विसङ्गति तथा अन्धविश्वासले ग्रसित छ । यहाँ संस्कृतिका नाममा धेरै विकृति तथा अन्धविश्वास छन् । जातीय तथा लैङ्गिक विभेद छन् । चाडपर्व, संस्कार आदिमा अनावश्यक आडम्बर देखाउने जस्ता विकृति पनि छन् । त्यस्तै मानिसलाई जात, वर्ग, वर्ण, लिङ्ग, क्षेत्रीयता आदिका आधारमा गरिने विभेद पनि छ । कहीं कतै अझै पनि समाजमा छुवाछुत भूत प्रेत बोक्सी हुन्छ भन्ने अन्धविश्वासी मान्यता रहेको छ । दाइजो र तिलकजस्ता कुपरम्पराहरू पनि नेपाली समाजमा रहेका विकृति, विसङ्गति हुन् ।

२. जब शिक्षाको राम्रो विकास हुन्छ तब अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुँदै जान्छन् । यस कथनलाई स्पष्ट पार्नुहोस् ।

“जब शिक्षाको राम्रो विकास हुन्छ तब अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुँदै जान्छन् ।” यो कथन ‘नेपाली पहिचान’ शीर्षकको संवादमा सिम्माले बेखामानको अभिमतमा सहमति जनाउने प्रसङ्गमा आएको हो । कुनै पनि विकृतिलाई हटाई संस्कृतिलाई जोगाउन शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ भन्नु नै यस कथनको मुख्य तात्पर्य हो ।

मानिस चेत्नशिल तथा बुद्धिमान प्राणी हो । मानव जातिका लागि शिक्षा तेस्रो आँखा हो जसले ज्ञानको आलोक दिन्छ । शिक्षाले मानिसको चेतनास्तरलाई बडाईदिन्छ । शिक्षा नै परिवर्तनको आधारशीला हो । जवसम्म शिक्षाको राम्रो विकास हुन सक्दैन तवसम्म अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुनै सक्दैनन् । शिक्षा नै अन्धविश्वास, कुसंस्कार, कुरीति नियन्त्रण गर्ने गतिलो अस्त्र बन्न सक्छ । सानै कक्षादेखि अन्धविश्वास र कुरीतिलाई सामाजिक अपराधको रूपमा व्याख्या गर्दै जानु पर्ने खाँचो छ । विश्वले विज्ञानको सहायताले प्रविधिमा निकै लामो फड्को मारिसकेको यस अवस्थामा हामी भने दुई सय वर्ष अगाडिको सोच लिएर हिँडेका छौं । शिक्षित व्यक्तिले अन्धविश्वासका कार्यलाई रोक्न सक्छ र अन्धविश्वास मान्ने व्यक्तिलाई निरूत्साहित गर्न सक्छ । अन्धविश्वासको रूख तब ढल्छ जब सबै जना शिक्षित हुन्छन् । शिक्षा र ज्ञानको ज्योतिले क्रमिक रूपमै अन्धविश्वासको अस्तित्वलाई समाप्त पार्दै जानु पर्छ । यस कुरामा हामी विद्यार्थीको पनि महत्त्वपूर्ण भूमिका रहन्छ ।

३. दिइएको संवादांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) नेपालको प्राकृतिक सौन्दर्यभित्र के के कुरा पर्छन् ?

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । यहाँको प्राकृतिक सौन्दर्यभित्र सगरमाथा, कञ्चनजङ्घा, मकालु, मनास्लु, चोयु आदि जस्ता विभिन्न हिमालहरु पर्दछन् । यहाँका खोलानाला, हिमाल, ताल, झर्ना, पोखरी, गुफा, डाँडापाखा, सबै सौन्दर्य बढाउने साधन हुन् । अतः नेपालको प्राकृतिक सौन्दर्यभित्र वनजङ्गल, चराचुरुङ्गीलगायत विभिन्न जीवजन्तु, पशुपक्षी एवं प्राणीहरू नदीनाला, तालतलैया, यहाँको जैविक विविधता आदि पर्छन् ।

(ख) नेपालमा सांस्कृतिक पर्यटनको कस्तो सम्भावना छ ?

नेपालमा पर्यटन सम्भावनाका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये एक सांस्कृतिक विविधता हो । विश्वभरका पर्यटकहरू केवल नेपालको प्राकृतिक सौन्दर्य हेर्नका लागि आई रहेका छन् । नेपालको प्राकृतिक विविधताका जानकार विदेशी पर्यटकहरू नेपालको सांस्कृतिक विविधताका बारेमा भने अनभिज्ञ छन् । प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई घुम्न आउने पाहुनाहरूले चासोको साथ लिनु र त्यसबाट मनोरञ्जन, आनन्द लिनु तथा खोजी गर्नुलाई सांस्कृतिक पर्यटन भनिन्छ । सांस्कृतिक पर्यटनले पर्यटकहरूलाई स्थानीय अनुष्ठान र दिनचर्यामा डुबाइदिन्छ, केवल प्राकृतिक सौन्दर्यता मात्र हैन, अनौठा अनुभवहरूको सम्झनाहरू पनि साझेदारी गर्दछ । विविधतामय नेपाली समाजमा सांस्कृतिक विविधता पाइने भएकाले सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना छ । तसर्थ, हरेक भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आवश्यक छ ।

४. दिइएको समाचारको नमुना पढ्नुहोस् र यसका विषयवस्तु संरचना र शैलीका बारेमा छलफल गर्नुहोस् :

सगरमाथामा आरोहणमा कीर्तिमानदिइएको समाचार लामा छोटा गरि छ ओटा अनुच्छेदमा संरचित छ । प्रस्तुत समाचारको नमुना नेपालको हिमाल आरोहण, आरोहण गरी राखिएका विश्व कीतिमान, पर्यटनसँग सम्बन्धित छ । यस समाचारको लेखनशैलीमा वर्णनात्मक भन्दा ज्यादा तथ्यपरकता एवं विवरणात्मकतालाई नै जोड दिइएको पाइन्छ । समाचार सरल, सहज, स्पष्ट र विशिष्ट भाषा शैलीमा संरचित भएको पाइन्छ । सगरमाथाको सफल आरोहण गरी को को ले के कस्ता कीर्तिमान राखेका थिए भन्ने विषयमा नै प्रस्तुत समाचार लेखिएको पाइन्छ । समग्रमा ज्ञानवर्धक सूचना सम्प्रेषण गरी नेपालको पर्यटकीय गतिविधिमा केन्द्रित रही सरल, तथ्यपरक र विवरणात्मक शैलीका माध्यमबाट समाचार प्रस्तुत भएको पाइन्छ ।

५. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) कस्तो विषयवस्तु समाचार बन्न सक्छ ?

पाठक वा श्रोताको ध्यान आकर्षित गर्ने र नयाँ सूचना सम्प्रेषण गर्ने राजनीति, शिक्षा, खेलकुद, व्यापार, वाणिज्य, संस्कृति आदि जुनसुकै विषयवस्तु समाचार बन्न सक्छ ।

(ख) समाचारको भाषा कस्तो हुनुपर्छ ?

समाचारको भाषा सरल, छोटो छोटो वाक्य प्रयोग गरिएको र अनावश्यक विशेषण, क्रियाविशेषण नजोडिएको हुनुपर्छ ।

(ग) फिचर, घटनापरक र प्रक्रियापरक समाचारमा के भिन्नता छ ?

फिचरमा कुनै खास घटना वा तथ्यलाई कलात्मक बनाएर प्रस्तुत गरिन्छ । त्यसै गरी घटनापरक समाचार प्रायः दृश्य विवरणमा केन्द्रित रही को ? के ? कहाँ ? किन ? कसरी ? कहिले ? जस्ता प्रश्नको उत्तर खोज्ने प्रयास गरिन्छ । प्रक्रियापरक समाचारमा भने घटनाको सरसरती वर्णन मात्र नगरी तथ्यको विस्तृत व्याख्या, त्यसको पृष्ठभूमि र परिणामका बारेमा पनि उल्लेख गरिएको हुन्छ ।

(घ) समाचारका विशेषता के के हुन् ?

समाचारका विशेषता सत्यता, विश्वसनीयता, नवीनता, रोचकता, सन्तुलन, भाषिक सरलता स्पष्टता र मिठास हुन् ।

६. आफ्नो टोलमा वातावरण सुधारका लागि गरिएका प्रयत्नका बारेमा छोटो समाचार लेखी कक्षामा सुनाउनुहोस् ।

सरसफाई कार्यक्रम सम्पन्नपोखरा, १३ माघ ।
आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर पोखरा बनाऔं भन्ने नाराका साथ वडा नं.१० भित्र रहेको पृथ्वीराजमार्गको सेतीनदी चाइनापुलदेखि पोखरा औद्योगिक क्षेत्रको नहरसम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा पोखरालाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गर्ने कार्य अनुसार चैत १६ गते वडा नं.१० लाई निषेधित वडा घोषणा भएपश्चात पृथ्वीराजमार्गको सडकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी नगरपालिकाको २ वटा टिपरले उठाएको सघाएको थियो ।

सरसफाई अभियानमा टोल विकास संस्था वडा समन्वय समिति वडा महिला समिति, नागरिक मञ्च, राजनीतिक संयन्त्र टोल विकास संस्थाहरु, आमा समूहहरु लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

उक्त अभियान सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई पोउमनपाको नियमानसार कारवाही गर्ने पहल गरिने टोल विकास संस्था वडा समन्वय समिति १० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत रंगशालागेट, बुद्धचोक, उत्तमचोक, नागिनटोल, १३२ केभी, शिवचोक, पोखरा औद्योगिक क्षेत्रदेखि नहरसम्म बृहत सरसफाई गरिएको थियो । उक्त अवसरमा उपस्थित सम्पूर्णलाई वडा कार्यालय १० का सचिव नवराज थापाले हार्दिक धन्यवाद व्यक्त गर्दै नमूना वडा बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

वडा महिला समन्वय समिति वडा नं.१० का अध्यक्ष पवित्रा गुरुङ्गको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

भाषातत्व

१. उदाहरणमा दिए जस्तै गरी वाक्य संश्लेषण गर्नुहोस् :

(क) अस्मिता घर गइन् । अस्मिताले आफ्ना साथीसङ्गी भेटिन् । अस्मिता साथीसँग जङ्गल घुम्न गइन् । अस्मिताले खोलामा गएर पौडी खेलिन् । अस्मिताले एक हप्ता रमाइलोसँग बिताइन् । अस्मिता सहर फर्किइन् ।

घर गएर आफ्ना साथीसङ्गी भेटी उनीहरूसँग जङ्गल घुम्न गएकी अस्मिता खोलामा गएर पौडी खेल्दै एक हप्ता रमाइलोसँग बिताएर सहर फर्किइन् ।

(ख) मुस्ताङ हिमाली जिल्ला हो । मुस्ताङ पर्यटकीय जिल्ला हो । मुस्ताङमा धेरै हावा चल्छ । मुस्ताङ स्याउका लागि प्रसिद्ध छ । मलाई मुस्ताङ घुम्न मन लागेको छ ।

पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा धेरै हावा चले पनि स्याउका लागि प्रसिद्ध भएकाले मलाई मुस्ताङ घुम्न मन लागेको छ ।

(ग) विनोद कर्ण सप्तरीका बासिन्दा हुन् । उनी नेपाली साहित्यका प्राध्यापक हुन् । उनी सहयोगी र इमानदार छन् । उनी कविता लेख्न र चित्र कोर्न मन पराउँछन् ।

सहयोगी र इमानदार सप्तरीका बासिन्दा विनोद कर्ण नेपाली साहित्यका प्राध्यापक भएकाले उनी कविता लेख्न र चित्र कोर्न मन पराउँछन् ।

२. वाक्य विश्लेषण गर्नुहोस् :

(क) जगल सखाप हुन थालेपछि मृग, घोरल जस्ता जनावर र कतिपय चरा लोप हुने अनि पानीको मुहान पनि सुक्ने खतरा भएको छ । (३ वाक्यमा)

जङ्गल सखाप हुन थाल्छ । मृग, घोरल जस्ता जनावर र कतिपय चरा लोप हुन्छन् । पानीको मुहान पनि सुक्ने खतरा भएको छ ।

(ख) प्रदूषण बढेसँगै हिमालमा हिउँ घट्यो समयमा पानी पर्न छाड्यो अनि सफा आकाश देख्न छाडियो । (४ वाक्यमा)

प्रदूषण बढ्यो । हिमालमा हिउँ घट्यो । समयमा पानी पर्न छाड्यो । सफा आकाश देख्न छाडियो ।

(ग) सुदूरपश्चिम र कर्नाली क्षेत्रमा प्रचलित देउडा काठमाडौँ र विदेशमा समेत लोकप्रिय छ । (३ वाक्यमा)

देउडा सुदूरपश्चिम क्षेत्रमा प्रचलित छ । देउडा कर्नाली क्षेत्रमा प्रचलित छ । देउडा काठमाडौँ र विदेशमा समेत लोकप्रिय छ ।

(घ) मलाई घमाइलो दिन, जुनेली रात, हरियो वन, लहलह बाली झुलेको खेतबारी, नेपाली खाना र सहयोगी साथी मनपर्छ । (५वाक्यमा)

मलाई घमाइलो दिन र जुनेली रात मनपर्छ । मलाई हरियो वन मनपर्छ । मलाई लहलह बाली झुलेको खेतबारी मनपर्छ । मलाई नेपाली खाना मनपर्छ । मलाई सहयोगी साथी मनपर्छ ।

(ङ) जब असार लाग्छ तब मेरो मनले गाउँघर सम्झिन्छ । (२ वाक्यमा)

असार लाग्छ । मेरो मनले गाउँघर सम्झिन्छ ।

३. दिइएको अनुच्छेदबाट कर्तृ, कर्म र भाव वाच्यका वाक्य पहिचान गरी तालिकामा देखाउनुहोस्ः

कर्तृवाच्यका वाक्यहरू :
म सबेरै उठें ।
मैले उमेशलाई बोलाएँ ।
उमेश आँखा मिच्दै आयो ।
हामी बाटो लाग्यौँ ।

कर्मवाच्यका वाक्यहरू :
दाउन्नेमा पुगेर खाना खाइयो ।
भालुवाङमा चिया पिइयो ।
गाडीमा गीत गाइयो ।
ठट्टा गरियो ।
भोलिपल्ट स्थानीय साथी भेटिए ।
कुराकानी गरियो ।
रमाइलो गरियो ।

भाववाच्यका वाक्यहरू :
बेलुका घोराहीमा वास बसियो ।
राती मस्त निदाइयो ।
मस्तसँग हाँसियो ।

४. कर्तृवाच्यको प्रयोग गरी आफ्नो दिनचर्याका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।

म बिहान सबेरै ६ बजे उठ्छु । करिब १५ मिनट जति हातमुख धोई ताजा दिनको सुरुवात गर्दछु । म दिनहुँ आधा घण्टा जति शारीरिक व्यायाम गर्दछु । सधैँ सात बजे चिया नास्ता खाएर गृहकार्य गर्दछु । नौ बजे खाना खाएर विद्यालय जान्छु । विद्यालयमा अनुशासित भएर पढ्छु । आफूले नजानेका विषयवस्तुहरू गुरूहरूलाई सोधेर लेख्छु । चार बजे विद्यालय छुट्टी भएपछि घर आउँछु । घर आएर विद्यालयको पोशाक काढदछु । हातमुख धोई आमाले दिएको खाजा खाएर केही समय खेल्न जान्छु । बेलुका गृहकार्य गर्छु । प्राय : साढे सात बजेतिर खाना खान्छु । केही समय पढेपछि दश बजेतिर सुत्छु ।

५. कर्म तथा भाव वाच्यको प्रयोग गरी वनभोज गएको विषयमा एउटा अनुच्छेद लेख्नुहोस् ।

वनभोज गाउँका साथीहरू मिलि हामी वैशाख १ गते बिहानै वनभोज गइयो । घरदेखि एक किलोमिटर पश्चिम ‘केप्छाकी टाहार’ सम्म पुगियो । साथीहरूद्वारा गाडीबाट सामानहरू झारिए । मद्वारा चिया पकाइयो । चिया खाइसकेपछि हामी सबै मिलेर खानपिनको काममा व्यस्त भइयो । कसैद्वारा दाउरा–झिक्रा खोजियो, कसैद्वारा आगो बालियो, कसैद्वारा पानी ल्याइयो त कसैद्वारा सब्जी केलाइयो । हामीद्वारा रमाइला गीतहरू गाइएका थिए । मद्वारा साथीहरू नचाइएका थिए । अर्जुनद्वारा मादल बजाइएको थियो । वनभोजमा आफू पनि खुब नाचियो अनि साथीहरूद्वारा पनि नाचियो । घर फर्किने बेला राजेश हमाल, विराज भट्ट, रेखा थापा, निखिल उप्रेती, रमित ढुङ्गानाको पोस्टर किनेर फर्कियो ।

६. दिइएको अनुच्छेदलाई कर्तृवाच्यमा परिवर्तन गर्नुहोस् ः

मैले जीवनमा धेरै दुःखसुख भोगेँ । मैले धेरै अनुभव गरेँ । म कहिले खुसीले हाँसें । म कहिले साथीभाइसँग नाचॆं । म देशविदेश घुमेँ । मैले दुःख र अभावलाई केल्दै विद्यालयमा पढ़ें । मैले आफैँ खर्च जुटाएर उच्च शिक्षा हासिल गरेँ । मैले सबैको भलो सोचें । मैले कहिल्यै कसैको चित्त दुखाइनँ । मैले कहिल्यै कसैको अहित चिताइनँ । मैले सकेसम्म अरूको भलाइ हुने काम गरेँ । मैले जीवन सङ्घर्ष हो भन्ने कुरा सिकेँ । अब पनि इमानदार भएरै बाँच्ने छु । म कर्तव्य कहिल्यै भुल्दिनँ । म अन्याय सहन्नँ । म अरूमाथि अन्याय गर्दिनँ ।

७. दिइएको अनुच्छेदलाई कर्म वा भाव वाच्यमा परिवर्तन गर्नुहोस् :

बिसन र अनुपमाद्वारा पुस्तकालय गइयो । बिसनद्वारा कथाका किताब छानिए । अनुपमाद्वारा मौसम विज्ञानसम्बन्धी किताब छानियो । त्यसपछि (उनीहरूद्वारा) पुस्तकालयबाट बाहिर निस्कियो । (उनीहरूद्वारा) कलेजको भोजनालयमा पसियो । बिसनद्वारा दही चिउरा खाइयो । अनुपमाद्वारा चिउरा तरकारी खाइयो । त्यसपछि (उनीहरूद्वारा) कक्षाकोठामा आइयो । गुरूआमाद्वारा वाच्य पढाइयो ।

८. शुद्ध गरी लेख्नुहोस् :

(क) रेडीयो टीभी जस्ता सव्यद्रिस्य माध्एमबाट प्रसारित वा पत्रीका आदि छापामाध्यम बाट पर्काशित घटनाका ताजा विवरण समाचार हुन् ।

रेडियो र टिभी जस्ता श्रव्यदृश्य माध्यमबाट प्रसारित वा पत्रिका आदि छापा माध्यमबाट प्रकाशित घटनाका ताजा विवरण समाचार हुन् ।

(ख) जातीए बिभेद लैङ्गिक विभेद वर्ण वर्ग र क्षेत्रका नाममा रहेका विभेदमा पनी कमि आउँदै छ । तिन लाई पनि हटाउनुपर्छ । सङ्गीता जीले भनेजस्तै यशका लागि शिक्षाको खांचो छ ।

जातीय विभेद, लैङ्गिक विभेद, वर्ण, वर्ग र क्षेत्रका नाममा रहेका विभेदमा पनि कमी आउँदै छ । तिनलाई पनि हटाउनुपर्छ । सङ्गीताजीले भने जस्तै यसका लागि शिक्षाको खाँचो छ ।