सञ्चार

अभ्यास

1.  सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्चारका तत्वहरुको सूची बनाउनुहोस् ।

उत्तर:- दुई पक्षहरुबिच सुचना आदान प्रदान गर्ने र अर्थ बुझ्ने प्रक्रियालाई सन्ञचार भनिन्छ । सञ्चारमा दुई वा दुईभन्दा बढी पक्षहरु वा व्यक्तिहरु पनि हुन सक्छन् । सञ्चार व्यक्ति, समूह वा संस्थाहरुबिच हुने गर्दछ । सञ्चार एउटा व्यवस्थित प्रक्रिया हो ।

एल.ए.एलेन (L.A. Allen) का अनुसार सञ्चार अरुको मस्तिष्कसँग सम्झदारी कायम गर्नका लागि व्यक्तिले गर्ने सबै कार्यहरुको योग हो । सञ्चारमा सूचना, जानकारी, विचार वा भावना आदि पठाउने तथा बुझ्ने काम हुन्छ । सञ्चारका लागि माध्यमको आवश्यकता पर्छ ।

सञ्चारको प्रकार:

– सञ्चार तीन प्रकारका हुन्छन्,

i)  मौखिक सञ्चार:- व्यक्तिले कुनै भाषा प्रयोग गरेर सूचना वा सन्देश आदान प्रदान गर्छ भने त्यसलाई मौखिक सञ्चार भनिन्छ । यो सबैभन्दा सरल, प्रचलित र महत्वपूर्ण विधि हो । मौखिक सञ्चार प्रत्येक भेटघाट वा सञ्चार माध्यमको प्रयोग गरी गर्न सकिन्छ । यो बढी प्रभावकारी तथा भरपर्दो हुन्छ ।

ii)  लिखित सञ्चार:- लिखित रुपमा सन्देश, सूचना वा जानकारी आदान प्रदान गरिन्छ भने त्यसलाई लिखित सञ्चार भनिन्छ। चिठीपत्र, आकाशवाणी, प्रतिवेदन, ऐन कानुन, नीतिनियम, वुलेटिन, पत्रपत्रिका, पुस्तक आदेश स्वरुपमा लिखित सञ्चार प्रभाव गरिन्छ । यो प्रभावकारी र भरपर्दो हुन्छ । यसलाई कानुनी मान्यता प्राप्त हुन्छ । यसलाई सुरक्षित अभिलेखको रुपमा राख्न सकिन्छ तथा भविष्यमा कानुनी प्रमाणको रुपमा पेस गर्न सकिन्छ ।

iii)  साङ्केतिक सञ्चार:- कुनै भाषा वा शब्दको प्रयोग नगरी सङ्केतका आधारमा सूचना आदान प्रदान गरिन्छ भने त्यसलाई साङ्केतिक सञ्चार भनिन्छ । यसमा इशारा, सङ्केत चिन्ह, चित्र, शारीरिक हाउभाउ, नक्सा आदिको प्रयोग गरिन्छ । ट्राफिक चिन्हहरु पनि साङ्केतिक सञ्चार हुन् । छोटो समयमा तत्काल सन्देश पठाउन साङ्केतिक सञ्चार महत्वपूर्ण हुन्छ । जस्तै विराना ठाउँमा रहेका मानिसहरुले झण्डा हल्लाएर वा आगो बालेर हवाई खोजीलाई सन्देश प्रवाह गर्छन् ।

सञ्चारका  तत्वहरु:-

– सञ्चार स्थापना गर्न निम्न तत्त्वहरूको आवश्यकता पर्छ:

i)  दुई वा दुईभन्दा बढी पक्षहरु वा व्यक्तिहरु

ii)  सञ्चारको माध्यम प्रेषक (सूचना पठाउने)

iii)  प्रापक (सूचना पाउने)

iv)  प्राप्त सूचनालाई स्वीकार गर्नु

v)  सूचनालाई सही रुपमा बुझ्नु

vi)  सूचनाप्रति प्रतिक्रिया जनाउनु ।

2.  प्रभावकारी सञ्चारका अवरोधहरु उल्लेख गर्नुहोस् ।

उत्तर:- सञ्चार प्रणालीमा विभिन्न तत्वहरुले बाधा उत्पन्न गर्दछन् । प्रभावकारी सञ्चारमा देखा परेका प्रमुख अवरोधहरु निम्नलिखित छन्:

i)  मनोवैज्ञानिक अवरोध (Psychological Barriers):- व्यक्तिको मनोवैज्ञानिक अवस्थाले पनि सञ्चार प्रवाहमा अवरोध हुन सक्छ । रिस र आवेगको अवस्थामा गरिएको सूचनाले नकारात्मक प्रभाव दिन सक्छ । त्यस्तै रिस र आवेगको अवस्थामा सूचना ग्रहण गर्दा सूचनाले चाहेको अभिप्राय: पूरा न हुन सक्छ । सूचना पठाउने व्यक्तिले सूचनालाई पढि प्रभावकारी बनाउन अनावश्यक थपघट गरेमा सूचनाले दिन चाहेको अभिप्राय: पुरा हुँदैन । यसबाट सूचनाको अर्थको अनर्थ बन्न सक्छ । व्यक्तिको अनुभव,  ज्ञान, पृष्ठभूमि आदि व्यक्तिगत गुणका आधारमा पनि सही सूचना पठाउने वा प्राप्त गर्ने सम्भावना बढी हुन्छ । बढी सूचना  प्रवाह भएमा सूचना प्राप्त गर्नेलाई पनि  सूचनाको बोझ बढी भई सही सूचना लिन कठिनाई पर्न सक्छ । उदाहरणका लागि सौन्दर्य प्रशाधनको प्रचारका लागि गरिने सूचना प्रवाहमा महिलाको प्रयोग बढी प्रभावकारी देखिन्छ ।

ii)  भाषिक अवरोध (Semantic Barriers): भिन्न भिन्न समाज वा समुदायको भाषा फरक फरक हुन सक्छ । देश, धर्म, संस्कृति आदिले भाषामा प्रभाव पार्न सक्छ । सन्देश पठाउने व्यक्तिले प्रयोग गरेको भाषा सन्देश पाउने व्यक्तिले बुझेन भने सञ्चारमा अवरोध हुन्छ । कुनै भाषाको शब्दको प्रयोग अर्को भाषामा अर्कै रुपमा पनि हुनसक्छ । एउटा समुदायको भाषा अर्को समुदायका लागि सन्देश प्राप्त गर्नमा समस्या उत्पन्न गर्न सक्छ । एउटा भाषाले प्रयोग गरेको शब्द अर्को भाषामा अर्कै अर्थमा प्रयोग हुन सक्छ । प्राविधिक शब्दका छोटकरी शब्दको प्रयोगले सन्चार प्रभावकारी नहुन पनि सक्छ ।

iii)  भौतिक अवरोध (Physical Barriers):- भौतिक  प्रबन्ध, दुरी, ध्वनी जस्ता कुराहरु भौतिक अवरोध हुन् । सन्देश वा सूचना प्रेषक र प्रापकका बीच उपयुक्त सम्बन्ध हुनुपर्छ । सञ्चार माध्यममा हुने गडबडी, ठूलो आवाज वा सार्है मसिनो अlवाजले सन्देश वा सूचना बुझ्न कठिनाई हुन सक्छ । मौखिक सञ्चारमा लामो दुरीले अवरोध उत्पन्न गर्छ । उदाहरणका लागि फोनमा, टि.भी. मा आदिमा यान्त्रिक गडबडी भएमा सही सन्देश प्रवाह हुन सक्दैनन ।

iv)  सङ्गठनात्मक अवरोध (Organizational Barriers):- सङ्गठनभित्रको आन्तरिक तत्वले समेत सञ्चार प्रक्रियामा बाधा उत्पन्न गर्छ । खराब योजना, जटिल संरचना, मर्यादा, अहं भावना आदिले पनि सञ्चार प्रकृयामा प्रभाव पार्छ । संदेशको साङ्केतिकरण, सञ्चार साधनको प्रयोग तथा रुपान्तरण आदि कार्यले पनि सञ्चार प्रकृया प्रभावित हुन सक्छ र कर्मचारीहरुमा हुने अहं भावनाले पनि सन्देश प्रवाहमा बाधा उत्पन्न हुन सक्छ । अहं भावनाले एकअर्कासँग असल सम्बन्ध राख्न र सरसल्लाह गर्न बाधा पुर्याउँछ । यसबाट सञ्चारको प्रभावकारिता कम हुन्छ ।

3.  प्रभावकारी सञ्चारका माध्यमहरु उल्लेख गरी तिनीहरुले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।

उत्तर:- सञ्चारका माध्यमहरु :

  • प्रत्यक्ष भेटघाट
  • टेलिफोन
  • मोबाइल फोन
  • रेडियो
  • टेलिभिजन
  • चिठीपत्र
  • पत्रपत्रिका
  • इन्टरनेट
  • फ्याक्स
  • भिडियो  आदि ।

मानिसको जीवनमा सञ्चारको माध्यमले ठूलो प्रभाव पार्छ । सञ्चारको माध्यमको अभावमा मानिसको जीवन आदिम युग सहरको अनुमान गर्नुपर्ने हुन्छ । आज सारा विश्वमा एकअर्कासँग सम्पर्क गर्न, संसारको विभिन्न स्थानहरुमा घटेका घटनाहरू जान्न, व्यवसायबारे प्रचार प्रसार गर्न, एक स्थान वा व्यक्तिबाट अर्को स्थान वा व्यक्तिसम्म सन्देश प्रवाह गर्न आदि विभिन्न कार्यहरुमा लागि सञ्चार माध्यमको आवश्यकता पर्छ । मेरो जीवनमा सञ्चारका विभिन्न माध्यमहरुले प्रभाव पारेका छन् । तीनमध्ये केहीको विश्लेषण यहाँ गरिएको छ :

i)  मोबाइल फोन:- मोबाइल फोनले मलाई साथीभाइ तथा आफन्तहरुसँग सम्पर्क गर्न मद्दत गरेको छ । मोबाइल फोनबाट मलाई इन्टरनेटको सहयोगले आफूले नजानेको पाठ्यवस्तु अध्ययन गर्ने सहयोग पुर्याएको छ ।

ii)  इन्टरनेट:- इन्टरनेटले मलाई अध्ययनमा मद्दत गरेको छ । इन्टरनेटका माध्यमबाट मलाई साथीहरुसँग फेसबुक मार्फत् समूह बनाई जानकारी आदान प्रदान गर्नमा सहयोग मिलेको छ ।

iii)  टेलिभिजन:- टेलिभिजनबाट देश विदेशमा घटेका विभिन्न घटनाहरुको बारेमा जानकारी पाइन्छ । विश्वमा भइरहेको सामाजिक, राजनैतिक, भौतिक, धार्मिक तथा सांस्कृतिक गतिविधिहरुको बारेमा जानकारी पाइन्छ। साथै विदाको समयमा मनोरञ्जनको माध्यम पनि टेलिभिजन नै हुने गर्दछ ।

 iv)  पत्रपत्रिका:- पत्रपत्रिकाबाट स्थानीय गतिविधीहरुको बारेमा जानकारी मिल्छ । महत्वपूर्ण विषयमाथि विभिन्न व्यक्तिहरुको विचार र टिप्पणी पढ्न पाइन्छ । नयाँ नयाँ अन्वेषणहरुको बारेमा पनि जानकारी पाइन्छ ।

 v)  भेटघाट:- महत्त्वपूर्ण संवाद गर्नु परेमा वा जानकारी लिनु परेमा प्रत्यक्ष भेटघाट गरी जानकारी लिने गर्छु र साथीहरुले जान्न चाहेको जानकारी दिन्छु ।

4.  प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

उत्तर:- सञ्चारको माध्यमको प्रभावकारी उपयोगले अन्य पक्षसँग प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग मिल्छ ।  प्रभावकारी सञ्चारले सही सन्देश, भाव, अभिप्राय: आदि सम्बन्धित पक्षसम्म स्पष्टरुपमा पुर्याउँछ । यसबाट सन्देश प्रवाह गर्नेको इच्छा स्पष्ट रुपमा बुझ्न र निजको स्पष्ट प्रतिक्रिया जान्न सहयोग मिल्छ । सही सञ्चारले सन्देश प्रवाहमा स्पष्टता हुन्छ । यसबाट नचाँहिदो कुरा सृजना हुदैँन । सम्बन्धित पक्षबिच सम्बन्ध प्रगाढ बनाउन सहयोग मिल्छ । उदाहरणका लागि नरेशले आफ्नो जन्मदिनमा आफ्नो साथीहरु रमेश, निरज, कृष्ण र गोपाललाई आफ्नो फोनबाट सम्पर्क गरी जन्मदिनको पार्टीमा बोलायो । उसको निमन्त्रणा स्पष्ट थियो । साथीहरु आए । ती साथीहरुले नरेशको जन्मदिनको उपलक्ष्यमा उपहार पनि दिए , खुसीयाली साथ जन्मदिन मनाई घर गए । रमेशको जन्मदिनमा पनि फोनबाट नै निमन्त्रणा गरे र सबैजनाले  स्वीकार गरी एकआपसमा जम्मा भए र खुशीयाली साथ जन्मदिन मनाए । ती सबै साथीहरु आफूले नजानेका कुराहरु अरु साथिहरुसँग सोधपुछ गर्छन र मिलेर अध्ययन गर्छन् । साथीहरूसँग फेसबुकमार्फत् सम्पर्क गर्छन् । ती सबै साथीहरूबीच राम्रो सम्बन्ध छ ।