अभ्यास
1. सामाजिक अध्ययन र सामाजिक शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् ।
उत्तर:- सामाजिक विज्ञान, सामाजिक शिक्षा र सामाजिक अध्ययन एकआपसमा जोडिएको विषयहरू हुन् । यी विषयहरु जीवनका विभिन्न पक्षसँग सम्बन्धित छन् । मानिस सामाजिक प्राणी हो । मानिस जन्मेदेखि मृत्युसम्म समाजमा नै रहन्छ । मानिसले आफ्नो जीवन सार्थक बनाउन विभिन्न ज्ञान, सिप र अभिवृत्तिको विकास गर्नुपर्छ । यस्ता सिप, ज्ञान र अभिवृत्ति मानिसले कतिपय विषयको अध्ययनबाट तथा जीवनमा आइपरेका समस्या र यसको समाधान तथा समाजका विविध गतिविधिबाट सिक्दछ । समाजिक विज्ञानले समाजिक जीवनसँग सम्बन्धित विभिन्न विषयको सैद्धान्तिक पक्षको अध्ययन गर्छ । समाजिक अध्ययनले यी विषयहरुको व्यवहारिक पक्षको अध्ययन गर्छ । राजनीतिशास्त्रमा नागरिकको मौलिक अधिकार, संविधान, सरकारको गठन र कार्य तथा चुनाव प्रक्रिया आदिको बारेमा अध्ययन गरिन्छ। राजनीतिशास्त्रका यी सैद्धान्तिक पक्ष हुन् । नागरिकले चुनाव प्रक्रियामा भाग लिन्छ । संसदमा गएर सरकार गठन गर्छ र राज्य सञ्चालन गर्छ । चित्त नबुझेका कुराहरु माथि संविधान प्रदत्त अधिकार प्रयोग गरी आफ्नो पक्ष सरकार समक्ष राख्छ । यसरी मानिसले राजनीतिशास्त्रका व्यवहारिक पक्षको ज्ञान पाउँछ । समाजमा हुने विविध गतिविधिहरु बाट सिकिने अनियमित सिकाइ सामाजिक शिक्षाको पक्ष हुन् । समाजमा यिनै गतिविधिहरुबाट सिकिने अभिवृत्ति, सिप र ज्ञान समाजिक अध्ययन का पक्ष हुन् । समाजिक विज्ञान गहन विषय हो । यसका सैद्धान्तिक पक्षहरु धेरै छन् । सामाजिक अध्ययनले समाजिक विज्ञानका मानव जीवनसँग सम्बन्धित व्यवहार पक्षको मात्र अध्ययन गर्छ । समाजिक शिक्षा तथा समाजिक विज्ञानको क्षेत्र ठूलो छ । समाजिक अध्ययन विषय विद्यालयसम्म मात्र केन्द्रित छ । समाजिक अध्ययन शिक्षक र विद्यार्थीहरुबीच अन्तरक्रिया र सहकार्यबाट सिकिन्छ । समाजिक शिक्षा र समाजिक विज्ञान जोसुकैले पनि अध्ययन गर्न सक्छन् । समाजिक शिक्षाको क्षेत्र असीमित छ तर समाजिक अध्ययनको क्षेत्र सिमित छ । समाजिक विज्ञान, समाजिक शिक्षा तथा समाजिक अध्ययनका आधारमा विषयहरु एउटै छन् । भूगोल, इतिहास, अर्थशास्त्र ,राजनीतिशास्त्र, मानवशास्त्र, जनसंख्याशास्त्र, दर्शनशास्त्र, समाजसास्त्र , नीतिशास्त्र तथा मनोविज्ञान आदि विषयहरू मानिसको जीवनसँग सम्बन्धित विषयहरू हुन् । राज्य सञ्चालन गर्ने, आर्थिक क्रियाकलाप गर्ने, विकास निर्माणका काम गर्ने, स्वस्थ र सफल जीवन यापन गर्ने, सोहार्दपूर्ण वातावरण सिर्जना गर्ने, सहयोग र सहकार्य गर्ने, मानवीय मूल्य र मान्यताहरु अनुरुप आचरण गर्ने, शान्तिपूर्वक सबैसँग मिलेर जीवन यापन गर्ने आदि विभिन्न गुणहरूको विकास गर्न यी विषयहरूको आवश्यकता परेको हो । यी विषयहरु नै समाजिक विज्ञान, समाजिक शिक्षा तथा समाजिक अध्ययनका आधार विषयहरु हुन् । यसैले यी विषयहरु एकअर्कासँग सम्बन्धित छन्।
2. सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो’ , यस भनाइलाई पृष्टि गर्नुहोस् ।
उत्तर:- सामाजिक विज्ञानअन्तरगत भूगोल, इतिहास, अर्थशास्त्र, दर्शनशास्त्र, समाजसास्त्र, मानवशास्त्र, नागरिकशास्त्र, राजनीतिशास्त्र, जनसंख्याशास्त्र, नीतिशास्त्र र मनोविज्ञान आदि विषयहरू पर्दछन् । यी सबै बिषयहरु मानव जीवनसँग सम्बन्धित छ । समाजिक विज्ञान अन्तरगत यी विषयहरूको गहन अध्ययन गरिन्छ । यसका सैद्धान्तिक पक्ष तथा व्यवहारिक पक्ष पनि अध्ययन गरिन्छ तर, समाजिक विज्ञानअन्तर्गत बढी मात्रामा सैद्धान्तिक पक्षको अध्ययन गरिन्छ । यस्ता विषयहरूमा अध्ययन गरेन पाठ्यवस्तुहरु विषयविज्ञहरुले तयार पार्छन् । यस्ता विषयहरूको अध्ययन उच्च तहसम्म हुन्छ ।
समाजलाई गतिशील राख्नुपर्छ । समाजलाई व्यवस्थित र सन्तुलनमा राख्न राज्यको पनि आवश्यकता पर्छ । राज्यमा रहेका मानिसहरूको हितमा लागि कल्याणकारी काम गर्नुपर्ने हुन्छ । विश्वका अन्य मुलुकहरुसँग मैत्रीपुन सम्बन्ध राखी देशमा शान्ति, समृद्धि र सुव्यवस्थाको बारेमा काम गर्नुपर्ने हुन्छ । यसका लागि सिर्जनात्मक सोच भएका इमान्दार, नैतिकवान, राष्ट्रभक्त, आफ्नो परम्परा तथा संस्कृतिको रक्षा गर्ने दक्ष नागरिकहरूको आवश्यकता पर्छ । यसैले यस्ता गुणहरुको विकास विद्यार्थीहरूमा विद्यालय तहदेखि नै गर्नुपर्छ, जसबाट पछि सो विद्यार्थी योग्य नागरिक भए देशको काममा सहभागी बन्न सकुन् । यसकारण समाजको आवश्यकता, राष्ट्रको माग र मानव समुदायको चाहनाअनुरुपका विषयवस्तुहरु, समाजिक विज्ञानका विषयहरुबाट समाजिक अध्ययनका पाठ्यवस्तुमा संयोजन गरिएका हुन्छन् । उदाहरणका लागि भूगोलबाट आफ्नो देश तथा विश्वका अन्य मुलुकहरुको भौतिक जानकारी, अर्थशास्त्रबाट आर्थिक क्रियाकलापबारे जानकारी, इतिहासबाट आफ्नो देश तथा विश्वको अन्य देशको विगत बारे जानकारी, राजनीतिशास्त्रबाट विभिन्न राजनैतिक संगठनहरूको गठन तथा कार्य पद्धति , नागरिकशास्त्रबाट नागरिकहरु अधिकार तथा कर्तव्य, जनसंख्याशास्त्रबाट आफ्नो देशको जनसङ्ख्यालाई व्यवस्थित गर्न सक्ने ज्ञान, नीतिशास्त्रबाट नैतिकता र सच्चरित्र तथा इमान्दारी आदि गुणहरूको विकास गर्ने पाठ्यवस्तुहरू समावेश गरिएका छन् ।
समाजिक विज्ञानले सैद्धान्तिक पक्षसँग सम्बन्ध राख्छ र विषयविज्ञ उत्पादनमा सघाव पुर्याउँछ । सामाजिक अध्ययनले विद्यार्थीहरूमा सकरात्मक गुणहरु विकास गरी भविष्यमा हुने दक्ष, चरित्रवान र परिश्रमी नागरिक उत्पादन गर्नमा सघाउ पुर्याउँछ । समाजिक अध्ययन र समाजिक विज्ञान दुवै मानव जीवनसँग सम्बन्धित छन् । दुवै विषयले मानिसलाई सफल एवं स्वस्थ जीवन यापन गर्ने ज्ञान दिन्छन् । यसैले समाज र राष्ट्रको आवश्यकता तथा मानव समुदायको चाहना अनुरुपका पाठ्यवस्तुहरु समाजिक विज्ञानका विभिन्न विषयहरुबाट लिएर समाजिक अध्ययन विषय निर्माण गरिएको हो ।
3. सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता छुट्टयाउनुहोस् ।
उत्तर:- सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता
सामाजिक अध्ययन | सामाजिक विज्ञान |
क) सामाजिक अध्ययन विभिन्न विषयवस्तुहरु समेटिएर बनेको एकिकृतविधा हो । | क) स्वतन्त्रअस्तित्व भएको पूर्ण विकसित विधा हो । |
ख) यो ज्ञानको उपयोग पक्षसँग संबन्धित छ । | ख) यो ज्ञानको उत्पादन पक्षसँग संबन्धित छ । |
ग) यो व्यवहारिक हुन्छ । | ग) यो सिद्धान्तिक हुन्छ l |
घ) यो मानव जीवनको विविध पक्षसँग संबन्धित छ l | घ) यो मानव जीवनको कुनै एक पक्षसँग संबन्धित छ l |
ङ) यसमा विषय वस्तुको सामान्य अध्धयन गरिन्छ l | ङ) यसमा विषय वस्तुको गहिराईसम्म अध्धयन गरिन्छ l |
च) यसको उदेश्य सक्षम, सिर्जनशील तथा सभ्य नागरिक तयार पार्नु हो l | च) यसको उदेश्य विषयविज्ञ तयार पार्नु हो l |
छ) यो विधालय तहसम्म केन्द्रित छ l | छ) यसको अध्धयन उच्च शिक्षासम्म गरिन्छ l |
थप प्रश्नहरू
1. सामाजिक अध्ययन र सामाजिक शिक्षाबिच भिन्नता छुट्टयाउनुहोस् ।
उत्तर:- सामाजिक अध्ययन र सामाजिक शिक्षाबिच भिन्नता निम्नलिखित छन:
सामाजिक अध्ययन | सामाजिक शिक्षा |
क) यसको क्षेत्र निश्चित र सीमित हुन्छ l | क) यसको क्षेत्र असीमित हुन्छ l |
ख) यसको सिकाई निश्चित पाठ्यक्रममा आधारित हुन्छ l | ख) यसको सिकाई खुल्ला सिकाइको रुपमा हुन्छ l |
ग) सामान्यतया विधालयमा अध्ययनरत बालबालिकाका लागि मात्र संचालित हुन्छ l | ग) यो जोसुकै व्यक्तिले अध्ययन गर्न सक्छन् l |
घ) यो स्थापित विषय हो l | घ) यो सामाजिकीकरणको प्रकृया हो l |
ङ) सामाजिक अध्ययन सिद्धान्तमा आधारित हुन्छ l | ङ) सामाजिक शिक्षा दर्शनमा आधारित हुन्छ l |
2. सामाजिक विज्ञान र सामाजिक अध्ययनबिचको अन्तरसम्बन्धबारे छोटो टिप्पणी लेख्नुहोस् ।
उत्तर:- सामाजिक विज्ञानअन्तर्गत विभिन्न विषयहरु जस्तै: भूगोल, इतिहास, समाजशास्त्र, अर्थशास्त्र, जनसंख्या शास्त्र, नीतिशास्त्र, दर्शनशास्त्र, राजनीतिशास्त्र आदि विषयहरू समेटिएका हुन्छन् । ती विषयहरु मानव जीवनसँग सम्बन्धित छन् । समाजिक विज्ञानअन्तर्गतका विषयहरूको अध्ययन उच्चतहसम्म हुन्छ । यसमा सैद्धान्तिक पक्षको बढी अध्ययन हुन्छ । समाजको आवश्यकता, राष्ट्र र मानव समुदायको चाहनाअनुसार सामाजिक विज्ञानका विषयहरुबाट लिएर एकीकृत रुपमा यो विषय तयार पारिएको हो । यसमा मानव जीवनको व्यवहार पक्षसँग सम्बन्धित विषयवस्तुहरु राखिएका छन् । समाजिक अध्ययनको सिकाइबाट विद्यार्थीहरुमा सिर्जनात्मक सोच, नैतिकता ,सच्चरित्रता, इमान्दारी, परिश्रमी, राष्ट्रभक्ति एवं विश्वपरिवेशको जानकारी राख्न सक्ने गुणहरूको विकास विद्यार्थीहरूको उमेरबाट नै होस् भन्ने यसको उद्देश्य हो । सामाजिक विज्ञानका विषयहरुबाट नै मानवजीवनसँग सम्बन्धित व्यवहारिक पक्षलाई अध्ययन गर्न सामाजिक अध्ययन विषयको सृजना भएको हो । यी दुवै विधाको आधारमा विषयहरु उही भएकाले यी दुवै विधाहरु एकअर्कासँग सम्बन्धित छन् ।
3. सामाजिक अध्ययन र सामाजिक शिक्षाबिचको अन्तरसम्बन्ध दर्शाउनुहोस् ।
उत्तर:- मानिसल समाजिक प्राणी हो । मानिसले आवश्यकताअनुसार समाज, राष्ट्र र विश्वमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । देशको प्रशासक भई , किसान भई, उद्धमी भई, सैनिक भई, प्रहरी भई, शिक्षक भई, आदि विभिन्न क्षेत्रमा काम गर्नुपर्छ । यसरी काम गर्दा मानिसमा विभिन्न सिप, अभिवृत्ति र ज्ञानको आवश्यकता पर्छ । सानीमा लागेको बानी पछिसम्म रहन्छ भन्ने उखानअनुसार विधार्थी अवस्थादेखि नै आवश्यक ज्ञान, सिप र अभिवृत्तिको विकास गर्नुपर्छ । यसता सिपहरूको सिकाइ समाजमा हुने विभिन्न गतिविधिहरुबाट प्राप्त हुन्छ । यी सिपहरु समाजिक शिक्षासँग सम्बन्धित छन् । यी सिपहरूको सिकाई समाजबाट हुने अनौपचारिक शिक्षा हुन् । परिवार तथा समाजका मान्यजनहरुलाई गर्ने आदरसत्कार , सहकार्य , सहयोग , सौहाद्र , सहिष्णुता , आफ्नो संस्कृति र परम्परा मानवीय मूल्य र मान्यताहरु, सामाजिक शिक्षाका मुख्य विषय वस्तुहरू हुन् । यी सिपहरुको ज्ञान परिवार, समाज र परिवेशबाट प्राप्त हुन्छ । समाजिक अध्ययन विषयले पनि विद्यार्थीहरुमा भावी जीवन सार्थक रुपमा यापन गर्न ठुलावडालाई सम्मान, सहकार्य, सहयोग, सिर्जनात्मक सोच, नैतिकता, मानवीय मूल्य र मान्यताहरु, आफ्नो संस्कार परम्पराको ज्ञान, आधुनिक सूचना र प्रविधिको ज्ञान आदि गुणहरुको विकास गर्ने सिकाई हो । यसैले मानवीय जीवनसँग सम्बन्धित विभिन्न सिप अभिवृद्धि नैतिकता, ज्ञान आदिको सिकाइ गर्ने दुवै विधाका मूख्य विषयवस्तुहरू हुन् । यसैले यी दुवै विषयहरु एकअर्कासँग सम्बन्धित छन् ।