अन्तरवैयक्तिक सिपहरु

अभ्यास

1.  अन्तरवैयक्तिक सिप भनेको के हो ?

उत्तर:- अन्तरवैयक्तिक सिप भनेको सामाजिक संवाद गर्ने र अरुसँग सम्बन्ध बढाउने सिप हो । यो व्यक्तिको आन्तरिक क्षमता विकास गरी समाजिक परिवेशमा समायोजन (मिलन) गर्न सक्ने सिप हो । यो आफूले नजानेको कुरा अरुसँग सिक्ने र आफ्नो विचार अरुसँग सञ्चार गर्ने सिप हो ।

2.  अन्तरवैयक्तिक सिप किन महत्त्वपूर्ण छ ?

उत्तर: अन्तरवैयक्तिक सिप महत्त्वपूर्ण छ किनकि :

i)  यसले समाजिक संवाद गर्ने र अरूसँग सम्बन्ध बढाउने सिप विकास गर्छ ।

ii)  व्यक्तिको आन्तरिक क्षमता विकास गरी सामाजिक परिवेशमा मिल्न सिकाउँछ ।

iii)  आफ्नो लक्ष्य प्राप्तिका लागि चुनौतीको सामना गर्न सिकाउँछ ।

iv)  आफ्ना आचार विचार र संवाद संस्कृतिलाई राम्रो बनाउन सिकाउँछ ।

v)  आफ्नो कामलाई व्यवस्थित गर्न सिकाउँछ ।

vi)  आफूभित्रका असमझदारी हटाई अरूको क्षमता पहिचान गर्ने सिपको विकास गराउँछ ।

vii)  आफ्नो व्यक्तित्व विकास गर्न सघाउँछ ।

viii)  संकट व्यवस्थापन गर्न र जुनसुकै कामलाई पनि सम्मान गर्ने सिप सिकाउँछ ।

ix)  अरु कुरा ध्यानपूर्वक राखी आफ्नो विचार राखी विषयवस्तुप्रति स्पष्ट संवाद गर्न सिकाउँछ ।

x)  अरुलाई विश्वासमा लिएर आफ्नो काम सफल बनाउने सिप विकास गर्छ ।

xi)   उत्तरदायित्व बहन गर्ने, नेतृत्व सिप विकास गर्ने, सहानुभूति र समभाव विकास गरी सामाजिक परिवेशमा आफूलाई समायोजन गर्ने असल व्यक्तित्वको विकास गर्न सघाउँछ ।

3.  अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने उपायहरु लेख्नुहोस् ।

उत्तर: अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने निम्न उपायहरु अवलम्बन गर्नुपर्छ :

i)  हामीले रिस, डाहा, ईर्ष्या जस्ता संवेग नियन्त्रण गर्नुपर्छ ।

ii)  आफूलाई विज्ञ र ठुलो ठान्ने तथा अरुलाई नराम्रो ठान्ने विचार छोड्नुपर्छ ।

iii)  सकारात्मक सोच राख्नु पर्छ ।

iv)  अरूको ज्ञानबाट राम्रो कुरा सिक्नु पर्छ ।

v)  अरूको कुरा राम्ररी सुन्ने बुझ्ने र आफ्नो प्रतिक्रिया शिष्ट भाषामा जनाउनु पर्छ ।

vi)  अहं भावना र घमण्ड छोड्नुपर्छ ।

vii)  अरुप्रति सहानुभुति र समभाव राख्नुपर्छ ।

viii)  आफ्नो मनको विकार फाली अरूको असल कुरा सुन्ने र आफूले पनि अरुलाई असल कुरा भन्ने गर्नुपर्छ ।

ix)  आफुले सम्मान पाउन अरुलाई सम्मान गर्नुपर्छ ।

x)  अग्रगामी सोच राख्नुपर्छ ।

यस्ता उपायहरुको अबलम्बन गर्नाले अरुसँगको सुसम्बन्ध विस्तार हुन्छ ।

4.  अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि समाजिक सञ्जाललाई कसरी प्रयोग गर्नुपर्छ ?

उत्तर:  इन्टरनेटको माध्यमबाट चल्ने युट्युब, फेसबुक, ट्वीटर आदि सामाजिक सञ्जालका अङ्गहरु हुन् । सामाजिक सञ्जालको उपयोग विश्वमा वृहत मात्रामा भइरहेको छ । अभिनेता, नेता, राजनेता, व्यापारी तथा अन्य व्यक्तिहरुले पनि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जालमा आफूले गरेको टिप्पणी तथा चित्र आदि मन पराए लाइक (Like) भनी टिप्पणी आउँछ । अरु बढी प्रचार भए भाइरल (Viral) भयो  भनी भनिन्छ । अन्य व्यक्तिहरूसँग घर बसी सम्बन्ध स्थापित गर्ने यो उत्तम माध्यम हो । तर सामाजिक सञ्जालको दुरुपयोग पनि बढिरहेको छ । नचाहिँदो टिप्पणी गर्ने प्रवृत्ति पनि देखिएको छ । फोटोको दुरुपयोग हुन सक्छ । असामाजिक तत्त्वहरुले सम्पर्क गरी नचाहिँदो काममा फँसाउन सक्छन् । अस्वस्थ मनोरञ्जनले मनमा  विकार उत्पन्न गराउन सक्छ ।

सामाजिक सञ्जाल सिकाइको असल माध्यम हो । विज्ञहरुसँग नजानेको कुरा सोध्ने, साथीहरुसँग पढाइसम्बन्धमा  छलफल गर्ने, ज्ञानसिप आर्जन गर्ने, कुलतमा  लाग्न सक्ने सम्भावनालाई ध्यानमा राखी सचेत र सतर्क भई सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ । असल सम्बन्ध विस्तारका लागि यसको प्रयोग गरिनु पर्छ ।

5.  असल नेतृत्व विकास गर्न के के गर्न सकिन्छ ?

उत्तर: समूहलाई उत्प्रेरित गरी लक्ष्य प्राप्तिका लागि सबैको सहयोग लिने क्षमता असल नेतृत्वमा हुन्छ । सामूहिक विचारको सम्मान गर्दै विभिन्न क्षेत्रमा काम गर्ने सक्रिय समूह निर्माण गरी व्यक्तिगत सम्बन्ध विस्तार गरी समन्वय र सहयोगको वातावरण सृजना गर्न सकिन्छ । अरूको सम्मान गर्ने, सकारात्मक सुझाव लिने, गुनासाहरु सुन्ने, निर्णय गर्ने क्षमता तथा समस्या पहिचान गरी समाधान गर्ने सिप परिष्कृत गर्न सकिन्छ । अस्वस्थ आलोचना, नकरात्मक सोच, अपहेलना तथा गलत सन्देह प्रवाह गर्नु हुँदैन । असल नेतृत्व विकास गर्न व्यक्तिले आफू, अन्य व्यक्ति, समूहका बिचमा असल सम्बन्ध विस्तार गरी कार्य गर्न सक्नु पर्छ । असल नेतृत्वका लागि सामाजिक तथा संवेगात्मक अन्तरक्रिया आवश्यक पर्छ ।

6.  टोलीकार्य भनेको के हो र यसबाट कसरी नेतृत्व विकास हुन्छ ?

उत्तर: टोली कार्य भनेको समूहमा मिलेर काम गर्ने सिप हो । समूहमा काम गर्दा व्यवस्थापक र कामदार व्यक्ति आफैँ हुन्छ । टोली कार्य भन्नाले समूहमा संवाद गर्ने, योजना बनाउने, बैठक गर्ने र सहकार्यमा अरुसँग मिलेर काम गर्ने दक्षता र गुण हो ।

समूहमा काम गर्दा एकअर्कासँग मिलेर काम गरिन्छ । आफूले नजानेको कुरा अरुबाट सिकिन्छ । आफूले जानेको कुरा अरुलाई  सिकाइन्छ । होस्टेमा हैंसे गर्दै सबैलाई मिलेर काम गर्न भनिन्छ । आफू पनि काम गरिन्छ साथै अरुलाई पनि काम गर्न प्रेरित गरिन्छ । यसरी असल काम गर्नेलाई स्याबासी गर्दै गरिन्छ । काम पूरा गर्न समूहमै छलफल गरी सहकार्यमा सबैलाई एकजुट हुन आह्वान गरिन्छ । समूहमा परेको समस्या समाधान गर्नुपर्छ । समूहमा खुला रुपमा इमानदारीपूर्वक काम गर्न सक्नुपर्छ । कामप्रति सबैलाई उत्तरदायित्व वहन गर्ने भावना विकास गर्न सक्नुपर्छ । निष्कलङ्क सार्वजनिक व्यक्तित्व विकास गर्न सक्नुपर्छ । काम पूरा गर्न समूहमा योजना बनाउने र समूहमै छलफल गर्न र समूहका सबै काम गर्ने प्रेरित गर्दै, समूहबिच असल सम्बन्ध,  समन्वय कायम गर्दै जाँदा नेतृत्वसिप विकास हुन्छ ।