अभ्यास
१. ‘आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्र एकअर्काका परिपूरक हुन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:- आर्थिक विकासका लागि सार्वजनिक, निजी तथा सहकारी तीनै क्षेत्रको आवश्यकता पर्छ । नेपालले पनि यही तीन खम्बे नीति अङ्गालेको छ । देशका लागि आवश्यक सेवा र वस्तु तथा मानिसका लागि आवश्यक सेवा र वस्तु केहीमा समानता भएपनि केहीमा असमानता पनि हुन्छ । देशलाई प्रतिरक्षाको सामान चाहिन्छ । जनतालाई यसको आवश्यकता पर्दैन । प्रजातान्त्रिक मुलुकमा आर्थिक विकास गरी जनताको सामाजिक एवम् सांस्कृतिक रूपान्तरण गर्ने पनि लक्ष्य रहेको हुन्छ । सरकारले आफ्नो नागरिकलाई सकेसम्म सेवा प्रदान गरी जीवनस्तर उकास्ने प्रयास गर्छ । जति जति आय बढ्दै गयो । त्यति नै मानिसको जीवनस्तरमा सुधार आउँछ । मानिसको सोचमा सकारात्मक परिवर्तन आउँछ । यसकारण राज्यले सकेसम्म आर्थिक विकासका लागि योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्छ । सरकारले यस्ता योजना कार्यान्वयन गर्न जनता माथि कर लगाई राजस्व सङ्कलन गर्छ । सरकारले कर लगाउँदा जनताको आर्थिक स्थिति तथा कर आउने स्रोतहरू बारेमा सोच्नुपर्छ । जथाभावी कर लगाएर कर उठाउन सकिँदैन । कर तिर्न नसक्ने स्थिति भएमा सरकारी नीतिको विरोध हुन सक्छ । यसकारण सरकारले सबै आवश्यक वस्तु र सेवाको क्षेत्रमा लगानी गर्न सक्दैन । अति आवश्यक तर लगानी बढी चाहिने भए सरकारले यस्ता आयोजना पूरा गर्न योजना तर्जुमा गर्छ । त्यस्ता ठूला आयोजनालाई क्रमैसँग समय लगाएर पूरा गरिन्छ । हाल हाम्रो देशमा शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार, यातायात आदि क्षेत्रमा सार्वजनिक लगानी देखिएको छ । सरकारले सबै आवश्यक वस्तु र सेवाको उत्पादनमा लगानी गर्न सक्दैन । यस्ता क्षेत्रहरूमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गरिन्छ । कतिपय उद्यमीलाई आफ्नो उद्यम सञ्चालन गरी नाफा पनि कमाउने, प्रतिष्ठा पनि कमाउने इच्छा हुन्छ । त्यस्ता उद्यमीहरूले जनतालाई आवश्यक वस्तु र सेवाको उत्पादनमा लगानी गर्छन् । यस्ता लगानीले युवा जनशक्तिले रोजगार पाउँछ । आयात घट्छ । देशमा बचत बढ्छ । रोजगारी गर्नेहरूको जीवनस्तरमा सुधार आउँछ । यसले आर्थिक प्रगतिलाई टेवा दिन्छ । सिमेन्ट उद्योग, औषधि, उद्योग, जुत्ता, भाडाकुँडा, इंट टायल, परिवहन आदि क्षेत्रमा हाम्रो देशमा निजी क्षेत्रले काम गरेको देख्दैछौं । व्यापार व्यवसायमा पनि निजी क्षेत्रले रोजगारी दिएर आर्थिक विकासमा सघाएको छ । निजी र सार्वजनिक लगानी नपुगेको ठाउँमा सहकारीले पनि सहयोग गर्न सक्छ । ससाना बचतलाई एकत्रित गरी देशमा पूँजी निर्माणमा सहकारीले ठूलो भूमिका खेल्न सक्छ। निम्न आय भएकालाई आर्थिक प्रगति गर्न आर्थिक सहयोगको रूपमा ऋण प्रवाह गरी स्वरोजगार गर्न सघाउँछ । समुदायका मानिसहरू मिली सरकारी ऐन अन्तर्गत रही सहकारी संस्था स्थापना गर्न सक्छन् । यस्ता सहकारीले ग्रामीण समुदायमा कृषिलाई आवश्यक वस्तु, खाद्यान्न, दैनिक उपभोगका वस्तु आदि उपलब्ध गराउन सक्छ । साथै ग्रामीण समुदायका मानिसलाई बचत गर्ने प्रवृत्तितिर प्रेरित गर्न सक्छ । बचत गर्ने प्रवृत्तिले मितव्ययिता बढ्छ । विलासिता वस्तुमा खर्च घट्छ । मानिसहरूको आर्थिक स्थितिमा सुधार आउँछ । यसकारण देशमा आर्थिक उन्नतिका लागि सार्वजनिक निजी तथा सहकारी क्षेत्रले
एकअर्कालाई सहयोग गरी आर्थिक विकासमा टेवा पुर्याउँछन् । सरकारले बाटो बनाउँछ । निजी क्षेत्रले यातायातको साधन ल्याउँछ र आवागमन सहज बनाउँछ । सहकारीले किसानलाई कृषिलाई आवश्यक वस्तु उपलब्ध गराउँछ तथा कृषि उत्पादन बजारसम्म पुर्याउन सहयोग गर्छ ।
२. के सहकारीहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तहरूको पूर्णपालना गरेका छन् ? विभिन्न सञ्चारका स्रोतहरूबाट सूचना सङ्कलन गरी समीक्षा गर्नुहोस् र सोअनुसार गर्न सुझाव पनि दिनुहोस् ।
उत्तर:- नेपालमा हाल प्रशस्त सहकारी संस्थाहरू कार्यरत छन् । ग्रामीण समुदायमा पनि सहकारी संस्थाहरू चलेको सुनिन्छ । महिलाहरूले पनि सहकारी चलाएको देखिन्छ । हाल नेपालमा चलेका सहकारी संस्थाहरूमा बढी संस्थाहरू सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुरूप नै चलेको पाइन्छ । कतै कतै गाउँघर तथा सहरबजारमा पनि सहकारी संस्थाहरू, सहकारीको मूल्य मान्यता विरुद्ध चलेको सुनिएको छ । पत्रपत्रिकामा सहकारीको पैसा लिएर निर्देशक भागेको समाचार पनि पढिन्छ । कतिपय त पक्राउ पनि परेको समाचार पत्रिकामा आउँछ । सहकारीले न्यून आय भएको वर्गलाई जीवनस्तर सुधार्न सेवा प्रदान गर्नुपर्ने हो । समाजमा छरिएर रहेको ससाना बचतलाई एकत्रित गरी स्वरोजगार प्रवर्द्धन गरी रोजगारीको सिर्जना गर्नमा अहम् भूमिका खेल्नुपर्ने हो । सहकारीले सहकारीको मूल्य र मान्यता अनुरूप काम गरी देशको आर्थिक विकासमा सहयोग पुगोस् भन्ने आशयले केही सुझावहरू प्रस्तुत गरिएको छ-
i) ग्रामीण वा सहरी समुदायको स-साना बचतलाई जम्मा गरी जनतालाई बचत गर्ने प्रवृत्तिलाई अभिप्रेरित गर्ने।
ii) निम्न आय भएका समुदायका परिवारका व्यक्तिलाई सहकारीका सदस्यहरूको जमानीमा ऋण प्रवाह गरी स्वरोजगार गर्न प्रोत्साहन गर्ने ।
iii) ऋण प्रवाह गर्दा ऋण नडुवोस भन्नाका लागि जमानीमा बस्नेले ऋणीले नतिरेमा उनीहरूबाट भरपाई गरिने भनी लिखित कागज बनाउनु पर्छ । यसबाट ऋणीलाई ऋण तिर्न र काम गर्न जमानीकर्ताहरू दवाव दिइरहन्छन् ।
iv) सहकारी संस्थाले भरसक अचल सम्पत्तिमा लगानी गर्नु हुँदैन । किनकि अचल सम्पत्तिमा प्रवाह भएको पूँजी अर्को लगानीमा प्रयोग गर्न पाइँदैन । यसबाट बढी मानिसलाई ऋण लिएर कम गर्न बाधा पुग्छ ।
v) सहकारीले विना धितो ठूलो रकम ऋणमा प्रवाह गर्नु हुँदैन । खराब ऋणले सहकारीलाई घाटा पुर्याउँछ ।
vi) सहकारी संस्थामा एउटा निर्देशकलाई सर्वोपरि अधिकार दिई काम गर्न दिइनु हुँदैन । यसबाट संस्थामा एकलौटीपन बढ्छ र संस्थामा अरूको सकृयता घट्छ ।
vii) सबै सदस्यहरू सक्रिय भइरहेका संस्था जागृत रहन्छ, प्रतिष्ठा बढ्छ र यसले गुणात्मक सेवा प्रदान गर्न सक्छ।
viii) ग्रामीण समुदायमा सेवा प्रदान गर्ने सहकारीले ग्रामीण समुदायलाई दैनिक उपभोगका वस्तु बिक्री गर्ने गर्नु पर्छ । यसबाट ग्रामीण समुदायले उचित मूल्यमा सामान प्राप्त हुन्छ । कालाबजारियाबाट उनीहरू जोगिन्छन् । साथै ग्रामीण उत्पादनलाई सहरबजारसम्म पुर्याई बिक्री गर्नमा वा सहर बजारका व्यापारीलाई सहज रूपमा उत्पादन बिक्री गर्ने प्रबन्ध गरेमा ग्रामीण समुदायलाई सहयोग पुग्छ ।
३. ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रबिनको साझेदारीबाट नै आर्थिक विकास हुन सक्छ ।’ यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
उत्तर:- देशको आर्थिक प्रगति एउटै क्षेत्रले गर्न सक्दैन । यसमा निजी, सहकारी तथा सार्वजनिक क्षेत्रको साझेदारी आवश्यक हुन्छ । अधिकांश प्रजातान्त्रिक मुलुकहरूले गआर्थिक विकासका लागि मिश्रित आर्थिक प्रणाली अङ्गालेका छन् । यस्तो आर्थिक प्रणालीमा निजी, सार्वजनिक तथा सहकागरीले काम गर्न पाउँछन् । सार्वजनिक क्षेत्र सरकारी क्षेत्र हो । सरकारले सबै क्षेत्रमा लगानी गर्न सक्दैन । किनकि सरकारले लगानीका लागि जनताबाट कर उठाउनुपर्छ । करको बोझ बढी भएमा कर उठाउन सकिँदैन । देशको आर्थिक स्थिति खराब हुन्छ । यसकारण ठूला ठूला अति महत्त्वपूर्ण र राष्ट्रिय गौरवका आयोजना सरकारले पूरा गर्छ । सरकारले अति आवश्यक प्रतिरक्षाका सामान, यातायात, शिक्षा, स्वास्थ्य, विद्यूत, सञ्चार आदि क्षेत्रमा सरकारले लगानी गर्छ। राज्यले यस्तो सेवा नाफा नलिई प्रदान गर्छ । सार्वजनिक क्षेत्रको उद्देश्य जनतालाई आवश्यक सेवा प्रदान गरी जीवनस्तरमा सुधार ल्याउनु हो । देशका जनतालाई अन्य दैनिक उपभोग्य वस्तुहरूको आवश्यकता पर्छ । यस्ता क्षेत्रमा सरकारले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सृजना गर्छ र लगानी गर्न उत्प्रेरित गर्छ । निजी क्षेत्रले पनि देशकै स्रोत र साधन उपयोग गरी आवश्यक वस्तु र सेवाको उत्पादन गर्छ र जनतालाई सहज उपलब्ध गराउँछ । निजी क्षेत्रको उद्देश्य सेवा प्रदान गरी नाफा कमाउनु पनि हो । तर सरकारले नियम बनाई अनुचित नाफा लिनबाट निजी क्षेत्रलाई रोक्छ । देशमा जति निजी उद्यम बढ्यो, त्यति नै सरकारले बढी राजस्व प्राप्त गर्छ । बढी राजस्व प्राप्त गरेमा सरकारले जनतालाई बढी सेवा प्रदान गर्न सक्छ । सरकारले समुदायका मानिसहरूलाई आय आर्जनका साथै समुदायलाई सेवा दिने उद्देश्यले सहकारी संस्था खोल्न इजाजत दिन्छ । यस्ता सहकारीले सानो बचतलाई सङ्कलन गरी स्वरोजगार प्रवर्धन गरी आर्थिक प्रगतिमा मद्दत दिन्छ । बढी भन्दा बढी मानिसहरू रोजगारीमा लागेमा देशमा सामाजिक विकृति पनि घट्छ साथै मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन पनि आउँछ । यसैले देशको आर्थिक उन्नतिका लागि निजी सहकारी तथा सार्वजनिक क्षेत्रको साझोदारी आवश्यक पर्छ ।
थप प्रश्नहरू
१. सहकारीमार्फत् सञ्चालन गर्न सकिने उद्योग व्यवसायहरू उल्लेख गर्नुहोस् ।
उत्तर:- सहकारी मार्फत् निम्न उद्योग व्यवसाय सञ्चालन गर्न सकिन्छ ।
(क) कृषि उत्पादन, भण्डारण, प्रशोधन, वितरण, बजारीकरण तथा कृषि सामग्रीको आपूर्ति ।
(ख) व्यावसायिक पशुपालन तथा पशुजन्य उद्योग व्यवसाय ।
(ग) बनजन्य उत्पादन तथा प्रशोधन उद्योगहरू र वातावरण संरक्षणसम्बन्धी उद्योगहरू ।
(घ) विद्यालयको स्थापना तथा व्यवस्थापन, व्यावसायिक तथा सिपमूलक प्रशिक्षण केन्द्र स्थापना र व्यवस्थापन तथा परामर्श सेवा ।
(ङ) अस्पताल, सामुदायिक स्वास्थ्य सेवा, औषधी तथा स्वास्थ्य उपकरण उत्पदन तथा बिक्री र स्वास्थ्यसँग सम्बन्धित अन्य उद्योग व्यवसाय |
(च) पर्यटन उद्योग, व्यवसाय ।
(छ) सञ्चार तथा प्रविधिको विकास, विस्तार तथा प्रसारण ।
(ज) बचत तथा ऋण एवम् बैङ्क तथा वित्तीय सेवा ।
(झ) यातायात तथा ढुवानी सेवा ।
(ञ) जग्गा तथा आवास विकास ।
(ट) श्रमिक स्वामित्वका उद्योग व्यवसाय ।
(ठ) उपभोक्ता सहकारी।
(ड) ऊर्जा उत्पादन, प्रसारण र वितरण ।
(ढ) विमा व्यवसाय ।
(ण) खुद्रा तथा थोक पसल
(त) जडीबुटी खेती, प्रशोधन र बजारीकरण ।
(थ) सिपमूलक घरेलु तथा साना उद्योग ।
(द) सम्भाव्यताका आधारमा अन्य उद्योग व्यवसाय.
स्रोत : सहकारी नीति २०६९
२. हाल नेपालमा सार्वजनिक क्षेत्र कसरी लगानीका लागि काम गरिरहेको छ ? उल्लेख गर्नुहोस् ।
उत्तर:- सार्वजनिक क्षेत्रलाई सरकारी क्षेत्र पनि भनिन्छ । सरकारसँग राष्ट्रको दुरदृष्टि, योजना स्रोत र साधन उपलब्ध हुन्छ । स्रोत र साधन परिचालन गर्नलाई संविधान, मानव संसाधन र जनताद्वारा प्रदान गरिएको शक्ति पनि हुन्छ । जनताबाट जम्मा गरेको राजस्वलाई बजेट मार्फत सरकारले खर्च गर्छ । सरकारले निजी, सहकारी, सामुदायिक र गैर सरकारी क्षेत्रमा लगानी र सहभागिताका लागि प्रेरित गर्छ । सरकारी क्षेत्रको लगानीका लागि तीन तहका सरकारहरू रहेका छन्:
(क) सङ्घ:- केन्द्रीय सरकारलाई संघीय सरकार पनि भनिन्छ । केन्द्रीय सरकारले प्रदेश तथा स्थानीय तहसँग सहकार्य, समन्वय र साझेदारी गरी आर्थिक विकासका योजना कार्यान्वयन गर्छ । सङ्घले विश्वविद्यालय, अस्पताल, लोकमार्ग, विद्युत्, सञ्चार आदि क्षेत्रमा लगानी गर्छ। सार्वजनिक संस्थानमार्फत् बजारमा वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्छ।
(ख) प्रदेश:- नेपालमा हाल सात वटा प्रदेश छन् । प्रदेश सरकारले राष्ट्रिय सोच, लक्ष्य, उद्देश्य र रणनीति अनुरूप संघसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्छ । प्रदेश स्तरीय आर्थिक सामाजिक विकासका लागि निजी, गैर सरकारी, सहकारी र सामुदायिकसँग सहकार्य, समन्वय र साझेदारी गर्छ। प्रदेश तहले सडक, खानेपानी, सिँचाइ, उच्च शिक्षा लगायतका मध्यमस्तरका विकासका लागि लगानी गर्छ ।
(ग) स्थानीय तह:- नेपालमा हाल ७५३ वटा स्थानीय तह छन्। नागरिकलाई आधारभूत तहको सेवा प्रदान गर्ने कार्यमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ । जनतालाई प्रत्यक्ष अनुभूति दिलाउन शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सरसफाई लगायतका सेवा सुविधा प्रदान गर्ने यस तहको भूमिका अहम् हुन्छ । स्थानीय तहले विद्यालय व्यवस्थापन, स्वास्थ्य चौकी, कृषि, पशुपालन, पूर्वाधार निर्माण जस्ता क्षेत्रमा लगानी गर्छ ।
३. आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख गर्नुहोस्।
उत्तर:- निजी क्षेत्रले राज्यको तीनै तहको सरकारसँग सहकार्य गर्छ । निजी क्षेत्रले गुणस्तरीय सेवा तथा वस्तु उत्पादन, सहज र सुलभ आपूर्ति व्यवस्थापन, गुणस्तरीय पूर्वाधार निर्माण, आयात व्यवस्थापन, निर्यात प्रवर्द्धन, उत्पादनशील र मर्यादित रोजगारी सिर्जनामा सहयोग गर्छ । निजी क्षेत्रले सरकारलाई कर तिर्छ। यो कर नै सरकारले खर्च गर्ने हो। निजी लगानी नाफा वा लगानीको प्रतिफलसँग जोडिएको हुन्छ । सरकारले निजी क्षेत्रलाई लगानी गर्न नीतिगत, कानुनी व्यवस्था तथा सुरक्षित लगानीको वातावरण बनाई दिनुपर्छ । निजी क्षेत्र फस्टाउन सक्छ । यसले कृषि, व्यापार, उद्योग, पर्यटन, सेवामूलक व्यवसाय आदिमा लगानी गरी रोजगारीको सिर्जना गर्छ । निजी क्षेत्र नाफामूलक भएपनि यसले सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने हुन्छ ।