अभ्यास
1. समस्या भनेको के हो ?
उत्तर:- विचार ग्रहणमा परेका कठिनको अवस्था समस्या हो । कसैको कुरा वा ज्ञान बुझ्न नसके पनि समस्या हो। एक व्यक्ति र अर्को व्यक्तिबिच हुने फरक विचारले पनि समस्या सृजना हुन्छ । काम गर्दै जाँदा काम पूरा गर्न नसक्ने अवस्था पनि समस्या हो । बुझाई वा विचार ग्रहणमा परेको कठिनाइको अवस्था समाधानका लागि खोजिने प्रश्न पनि समस्या हो । नकरात्मक सोच पनि समस्या हो ।
मानिसको उमेर, खोजको अवस्था, काम गर्ने ठाउँमा वातावरण, अनुभव तथा ज्ञान आदि जस्ता कुराहरुले कुनै कुरा समस्या ठान्ने वा ठान्ने कुरा निर्धारण गर्छ । मानिसको उमेर, क्षमता तथा अनुभव आदिले गर्दा कुनै विषयलाई समाधान गर्न सक्षम छ भने सो विषय उसका लागि समस्या हुँदैन तर समाधान गर्न सकेन भने समस्या हुन्छ ।
2. समस्या कसरी पहिचान गरिन्छ ?
उत्तर:- कुनै पनि काम वा विषय वा पेशा गर्न नसकेमा समस्या हुन्छ । विचार फरक गरी विवाद हुने अवस्था भए समस्या हुन्छ । आफुले चाहेको वातावरण नपाए समस्या हुन्छ । काम गर्ने तरिका फरक परेमा समस्या हुन सक्छ । आफुले नजानेको वा नगरेको काम आइ परेमा समस्या हुन्छ । यसकारण बुझाइमा वा विचार ग्रहण गर्नमा कठिनाई परेको अवस्था सृजना भएमा समस्या पनि पहिचान गर्नुपर्छ ।
3. समस्या समाधानका मुख्य चरण के-के हुन् ।
उत्तर:- समस्या समाधानका मुख्य चरणहरु निम्नलिखित छन् :
चरण | प्रकृया |
समस्या पहिचान र परिभाषा | समस्या के हो, कसरी सृजना भयो, किन भयो आदि प्रश्नको मूल कारण तथा अन्य कारणको पहिचान गर्ने । |
परिकल्पना | समस्या समाधानका लागि विश्लेषणात्मक, तार्किक, औचित्यपूर्ण, सिर्जनात्मक र सकारात्मक विकल्पहरुको खोजी गरी उपयुक्त विकल्प छनोट गरी सोको सम्भाव्य प्रभावबारे विश्लेषण गर्ने । |
तथ्य सङ्कलन | समस्या समाधानका लागि पहिचान गरिएका विकल्पसँग सम्बन्धित आवश्यक तथ्यहरु खोजी गरी सोको प्रयोग गर्ने तरिकाको सोच विकास गर्ने । |
विश्लेषण | पहिचान गरिएका विभिन्न विकल्पहरूको तथ्य र सूचनामा आधारित भई विश्लेषण गर्ने । |
निष्कर्ष | समस्याको कारण, समस्या समाधानका लागि छनोट गरिएका विकल्प र सो विकल्पसँग सम्बन्धित तथ्यका आधारमा समस्या समाधानको निष्कर्ष निकाल्ने । |
प्रयोग | समस्या समाधानको निष्कर्ष प्रयोग गर्ने वा छनौट गरिएका उत्तम विकल्पका माध्यमबाट समस्या समधान गर्ने |
4. समस्याको निष्कर्ष कसरी निकालिन्छ ?
उत्तर:- समस्या देखापरेमा पहिले समस्या सृजना भएको कारणहरु खोज्नुपर्छ । समस्या सिर्जना भएको विभिन्न पक्षहरू केलाउनु पर्छ । यसरी समस्याको पहिचान हुन्छ । समस्या पहिचान भई सकेपछि यसका समाधानका लागि विभिन्न विकल्पहरु खोज्नुपर्छ । समस्यासँग सम्बन्धित पक्षहरुलाई कसरी निराकरण गर्न सकिन्छ, सोको खोजी गर्नुपर्छ । तार्किक, औचित्यपूर्ण, सिर्जनात्मक तथा सकारात्मक सम्भाव्य विकल्पहरु खोज्नुपर्छ किनकि समस्या समाधान गरीसकेपछि सो समस्या फेरि नदोहोरियोस् । छनोट गरी प्रयोग गरिएको विकल्पले सबै पक्षलाई सन्तुष्ट पार्न सकोस् भनी सोच राख्नुपर्छ । सम्भाव्य विकल्पहरुको बारे तथ्य र प्रभावको खोजी गरी विश्लेषण गर्नुपर्छ । कुन विकल्पको सबैभन्दा न्यून नकारात्मक प्रभाव रहेको हुन्छ, सो विकल्प उत्तम हुन्छ । यसरी विश्लेषण गरी उत्तम विकल्पलाई छनोट गरी निष्कर्ष निकालिन्छ।