अभ्यास
1. ‘बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:– यातायात, सञ्चार, विज्ञान र प्रविधिको विकासले विश्वलाई एउटा सिङ्गो गाउँ बनाइदिएको छ । विश्वको कुनै ठाउँ टाढा रहेन । विश्वको कुनै पनि ठाउँ जान गाह्रो छैन । विश्वको कुनै ठाउँमा सम्पर्क गर्न कठिन छैन । नेपालमा आफ्नै घरमा बसेर अमेरिकामा बसेका आफन्तसँग कुराकानी गर्न सकिन्छ । उहाँको स्वास्थ्यबारेमा उहाँलाई नै भिडियो मार्फत् हेरी जानकारी लिन सकिन्छ । रोजगारी, शिक्षा, स्वास्थ्य, उच्च जीवनस्तर आदि कारणहरूले गर्दा मानिसहरू आफ्नो देश छोडी अन्य देशमा गई बसेका छन् । यसरी बस्दा बसेको ठाउँका मानिसहरूको सामाजिक तथा सांस्कृतिक गतिविधि हेर्न पाइन्छ । कालान्तरमा त्यस्ता गतिविधिहरूमा सामिल पनि भइन्छ । जुन ठाउँमा गयो, त्यहीँको सामाजिक परिवशेमा रमाउनु पर्छ । यसरी भिन्न भिन्न सामाजिक तथा सांस्कृतिक विशेषताहरू भएका मानिसहरूबिच अन्तर सम्बन्धले सामाजिक तथा सांस्कृतिक विशेषता आदान प्रदान हुन्छ । एउटा मुलुकको सामाजिक तथा सांस्कृतिक विशेषता अर्को मुलुकमा पनि विकसित हुन्छ । जस्तै: जनवरी १ का दिनलाई संसारका कतिपय मुलुकमा नयाँ वर्षको रूपमा मनाइन्छ । अमेरिका, क्यानाडा, भारत, न्युजील्याण्ड, अष्ट्रेलिया आदि देशमा नयाँ वर्ष धुमधामसँग मनाइन्छ । क्रिसमस मनाउने काम आज भारत, नेपाल, चीन आदि देशहरूमा पनि हुन्छ । बौद्ध गुम्बा नेपालमा मात्र होइन, भारत, कम्बोड़िया थाइल्याण्ड, जापान आदि देशहरूमा पनि देखिन्छ ।
2. ‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।
उत्तर:– विश्वका प्रत्येक मुलुकमा आफ्नै विशिष्ट सामाजिक, धार्मिक तथा राजनैतिक संरचना छ।
विश्वको जनसङ्ख्याको कम्तीमा १ प्रतिशतभन्दा बढीले आस्था राख्ने धर्महरू इसाई, इस्लाम, हिन्दू र बौद्ध हुन् । त्यस्तै, जापानमा बौद्ध बाहेक अर्को धर्मपनि प्रचलनमा छ । चीनमा पनि कतिपय धर्महरू प्रचलनमा छन् । भारतका पारसीहरूले अलग धर्म मान्छन् । कतै कतै मानिसहरूले बोन धर्म मानेको पनि सुनिन्छ । नेपालमा मात्र सयभन्दा बढी जातजातिहरू रहेका छन् । विश्वमा अनेक जातजातिहरूको बसोबास छ । प्रत्येक जातजातिहरुको आफ्नै भाषा छ । UNESCO ले सन् २०१६ मा संसारमा करीब ६ हजार पाचँसय भन्दा बढी भाषाहरु बोलिन्छन् भनी उल्लेख गरेको थियो । आर्थिक वर्ग विभाजन पनि मुलुक अनुसार फरक फरक छ । तापनि उच्च, मध्यम र निम्न वर्ग भनेर अर्थशास्त्रीहरुले परिभाषित गरेका छन् । यस्तै भूमिपति, भूमिहीन, उद्योगपति, मजदुर, किसान आदि पनि वर्ग विभाजनमा राख्न सकिन्छ । संसारमा एकै प्रकारको राजनैतिक प्रणाली छैन । बेलायतमा संवैधानिक राजतन्त्र छ । नेपालमा तथा भारतमा लोकतन्त्र छ । अमेरिकामा पनि लोकतन्त्र छ । विश्वमा धेरै देशहरुमा प्रजातन्त्र छ । जापान र स्पेनमा राजतन्त्र छ । रुस र चीनमा कम्युनिष्ट शासन प्रणाली छ । यसरी विश्वमा पूर्ण प्रजातन्त्र, नियन्त्रित प्रजातन्त्र, संवैधानिक राजतन्त्र, सैनिक तानाशाह, पूर्ण राजतन्त्र आदि विभिन्न थरिका राजनैतिक प्रणालीका व्यवस्थाहरु कायम छन् ।
3. मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
उत्तर:– मानवका आधारभूत सामाजिक आवश्यकताहरु निम्नलिखित छन् :
i) खाना, कपडा, वासस्थान, निद्रा
ii) रोजगारी
iii) सुरक्षा
iv) परिवार
v) शिक्षा
vi) स्वास्थ्य सुविधा
vii) स्नेह, मित्रता
viii) सम्मान, नैतिकता
ix) यातायात, सञ्चार
x) मनोरन्जन
xi) पानी आदि
परियोजना कार्य
1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर:- हाम्रो समुदायका केही विशेषताहरू :
i) हाम्रो समुदायमा विभिन्न धर्म मान्ने मानिसहरूको बसोबास छ । यहाँ हिन्दु, इसाईं, खाल्सा, इस्लाम र किराती धर्म आदि मान्ने मानिसहरू बस्छन् ।
ii) हाम्रो समुदाय बहुभाषिक छ । यहाँ नेपाली, राई, लिम्बू, नेवार, मैथिली, भोजपुरी आदि भाषाहरू बोलिन्छन् ।
iii) हाम्रो समुदायमा बाहुन, क्षेत्री, नेवार, राई, लिम्बु, थारु, यादव मुसलमान, कुर्मी, गुरुङ आदि जातिका मानिसहरू बस्छन् ।
iv) हाम्रो समुदायमा विभिन्न जातज्जाति, भाषा, धर्मका मानिसहरूको बसोबास भएपनि सबैजना मिलेर बसेका छन् । एकअर्काको सहयोग गर्छन् । यहाँ झैं झगडा छैन ।