Skip links

विप्रेषण र नेपाली अर्थतन्त्र

अभ्यास

१.  नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ। विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला, आफ्ना तकीहरू दिनुहोस् ।

उत्तर:- नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्व ठूलो छ । किनकि देशमा कृषि, उद्योग, सेवा व्यवसाय आदिले देशका युवा जनशक्तिलाई यथेष्ट रोजगारी दिन सकेको छैन । न्यून आय भएकोले अधिकांश जनताको जीवनस्तर पनि न्यून छ । हाल देशमा केही प्रतिशत परिवारको जीवनमा सकारात्मक सुधार विप्रेषणले गर्दा आएको छ।

विप्रेषण रकम नभएको भए :

(क) नेपालमा अधिकांश परिवारको आर्थिक स्थिति दयनीय हुन्थ्यो।

(ख) देशको विदेशी मुद्राको संचिती धेरै कम हुन्थ्यो।

(ग) विदेशबाट आयात गरिदै आएका अत्यावश्यक उरुत्पादन सामग्रीको अभावमा उद्योग व्यवसायको स्थिति कमजोर हुन्थ्यो।

(घ) बेरोजगारी अझ बढ्थ्यो । सामाजिक विकृति बढ्ने सम्भावना हुन्थ्यो।

(ङ) देशमा पूर्वाधार विकासमा बाधा पुग्थ्यो।

(च) देशको राष्ट्रिय आय तथा गार्हस्थ उत्पादनमा नकारात्मक प्रभाव पर्थ्यो ।

(छ) देशमा उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात आदि सेवाहरूमा नकारात्मक प्रभाव पर्थ्यो । देशको आर्थिक अवस्था दयनीय हुन्थ्यो होला।

२.  विप्रेषण रकम उत्पादनभन्दा उपभोगमा खर्च भएको अवस्थामा यसको सदुपयोग कसरी गर्न सकिन्छ, बँदागत रूपमा सुझाव दिनुहोस् ।

उत्तर:- नेपालमा भित्रिएको विप्रेषण रकमको अधिकांश भाग उपभोगमा खर्च हुन्छ । यसकारण यसले देशको आर्थिक विकासमा ठूलो भूमिका खेल्न सकेको छैन । विप्रेषण रकमलाई उत्पादनमूलक कार्यमा लगानी गरेमा यसले देशको आर्थिक स्थितिमा सुधार ल्याउँछ । यसका लागि-

(क) विप्रेषण रकमलाई जनताको दैनिक आवश्यकता वस्तुहरू उत्पादन गर्ने उद्योगहरूको स्थापनामा लगानी गर्नुपर्छ । यसले गर्दा देशको आयात घट्छ र बचत वृद्धि हुन्छ ।

(ख) विप्रेषणको रकम युवा जनशक्तिलाई दक्ष बनाउन सिप र प्रविधिको तालिम दिन प्रयोग गर्नुपर्छ । यसबाट युवा जनशक्ति स्वरोजमारमा संलग्न हुँदा देशमा उत्पादन बढ्छ र रोजगारी बढ्छ ।

(ग) विप्रेषण रकमलाई कृषिलाई आधुनिकीकरण र व्यवसायीकरणका लागि उपयोग गर्नुपर्छ । कृषि उत्पादन वृद्धि भए खाद्यान्नको आयात घट्छ र देश आत्मनिर्भर बन्छ ।

(घ)  कृषि उत्पादनलाई प्रशोधन गरी निर्यात योग्य बनाई विदेशी बजारमा निर्यात गर्ने योजना निर्माण तथा कार्यान्वयनमा लगानी गर्नुपर्छ । नेपालबाट हाल चिया कफी, अलैंची, अदुवा, अंग्रेसो आदिलाई गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्द्धन गर्न सकिन्छ ।

(ङ) विप्रेषणको रकमलाई साना जलविद्युत् आयोजना निर्माणमा उपयोग गर्न सकिन्छ । यसबाट ऊर्जाको सहज आपूर्ति भई उद्योगहरू सहज रूपमा सञ्चालन हुन सक्छन् । यसबाट पनि रोजगार सिर्जना हुन्छ ।

(च) साहसिक पर्यटक तथा मनोरञ्जन केन्द्रको स्थापनामा लगानी गर्नाले पर्यटकहरू आकर्षित हुन्छन् र आय वृद्धि हुन्छ ।

(छ) स्वास्थ्य सेवा सुदृढीकरण, औषधि निर्माण, जडीबुटी उत्पादन वृद्धि, आदि कार्यमा पनि विप्रेषणको रकम लगानी गर्न सकिन्छ।

थप प्रश्नहरू

१. वैदेशिक रोजगारमा जाने कामदारले के के कुराको जानकारी राख्न आवश्यक छ ? उल्लेख गर्नुहोस् । 

उत्तर:- वैदेशिक रोजगारमा जाने कामदारले जान्नुपर्ने कुराहरु:

(क) राज्यले कामदार जान स्वीकृत गरी सम्झौता गरेका देशमा मात्र जानुपर्छ ।

(ख) कामदारले जानु अघि आफ्नो सिपमा दक्षता हासिल गर्नुपर्छ । सिप नजानी, वैदेशिक रोजगारीमा जानु हुदैन नत्र दुःख पाइन्छ ।

(ग) आफू जाने देशको धर्म, परम्परा रीतिरिवाज, कानुन, भाषा आदिको जानकारी राख्नुपर्छ।

(घ) आफू काम गर्न गएको देशमा पाइने तलब सुविधा, आदिको र खर्चको तुलनात्मक अध्ययन गर्नुपर्छ। लाग्ने खर्च उकास्न कति दिन लाग्छ ? आफू यहाँ बस्दा जति कमाई हुन्थ्यो त्यो भन्दा बढी कमाइ हुन्छ भने मात्र जानुपर्छ ।

(ङ) आधिकारिक कम्पनीमार्फत् आधिकारिक बाटो प्रयोग गरी जानुपर्छ चोर बाटो प्रयोग गरी गएमा दुःख पाइन्छ । कोही जवाफदेही हुँदैन ।

(च) आफू आधिकारिक कागजात प्रयोग गरी जानुपर्छ । सोको प्रतिलिपि परिवारलाई पनि दिनुपर्छ ।

(छ) Visit भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन ।

(ज) वैदेशिक रोजगारीमा गएर ठगिएको थाहा पाएमा सरकारको वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ ।

(झ) आफू रोजगारीमा गएपछि केही अप्ठ्यारो परे कहाँ सम्पर्क गर्ने भन्ने कुराको पनि जानकारी लिनुपर्छ।

(ञ) वैदेशिक रोजगारीमा जानका लागि बुझाएको शुल्कको भरपाई रसिद लिनुपर्छ। भरपाई सक्कल नभए ठगी गर्ने नियत रहेको बुझ्नुपर्छ ।

२. वैदेशिक रोजगारबाट देशको अर्थतन्त्रलाई पर्ने कुनै ५ सकारात्मक र कुनै ५ नकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।

सकारात्मक:

(क) देशमा बेरोजगारी घट्छ । यसले सामाजिक विकृति पनि घट्ने सम्भावना बढ्छ।

(ख) यसबाट विप्रेषण रकम प्राप्त हुन्छ । यसले देशको विदेशी मुद्राको आय बढ्छ ।

(ग) रोजगारीमा गएका परिवारको आर्थिक स्थितिमा सुधार आउँछ । यसरी यसबाट देशको आर्थिक अवस्थामा सुधार हुन्छ।

(घ) देशले विप्रेषण रकम उत्पादनमूलक कार्यमा लगानी गरी रोजगारी सिर्जना गर्न सक्छ ।

(ङ) विप्रेषण रकमले राज्यलाई आवश्यक वस्तु आयात गर्न सहज गर्छ।

(च) यसबाट राष्ट्रिय आय वृद्धि हुन्छ र देशको आर्थिक अवस्थामा सुधार आउँछ ।

नकारात्मकः

(क) देशमा परनिर्भरता बढ्छ।

(ख) देशमा आवश्यक श्रमशक्तिको कमी हुन्छ । जसबाट योजना समयमा पूरा गर्न बाधा पर्छ।

(ग) देशको युवाशक्ति विदेशको विकासमा संलग्न हुन्छ आफ्नो देशको प्रगतिमा बाधा पर्छ । (घ) परिवारको आय बढ्नाले विलासिताको वस्तु उपभोग गर्ने प्रवृत्ति बढ्छ। आफ्नो काम गर्ने जाँगर घट्छ।

(ङ) देशमा उत्पादनमूलक वस्तुकोभन्दा बिलासिता सामग्रीको आयात बढ्छ र व्यापार घाटा बढ्छ।

(च) बैदेशिक रोजगारी स्थायी आयको स्रोत नभएकोले यसबाट दिगो आर्थिक विकासलाई टेवा पुग्दैन ।