लोकतन्त्र

अभ्यास

1.  विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।

उत्तर:- विश्वमा विभिन्न मुलुकमा लोकतान्त्रिक आन्दोलनहरू भए । देश अनुसारका कारणहरू फरक फरक हुन सक्छन् तापनि केही कारणहरू मोटामोटी रूपमा समान देखिन्छन् । ती हुन्:

i) निरङ्कुश शासन:- कतिपय देशमा प्रचलित शासन व्यवस्थाले जनताको हकहितलाई कुण्ठित पारेको थियो । शासकको स्वेच्छाकारी शासनले जनतालाई पीरमार्का परेको थियो । जनताले अत्यावश्यक मानव अधिकारको उपयोग गर्न पाएका थिएनन् । शासकलाई सङ्का लागे, मन नपरे वा गुनासो पोखेमा कठोर सजाय भोग्नु पर्थ्यो । निरङ्कुश शासन असह्य भएपछि जनता सङ्गठित भई लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए । रुसमा जारको निरङ्कुश शासन, फ्रान्समा लुई सोहौं को निरङ्कुश शासन, बेलायतको गौरवमय क्रान्ति, नेपालमा राणाहरूको निरङ्कुश शासन विरुद्ध यसैकारण लोकतान्त्रिक आन्दोलन भए।

ii) उपनिवेशवाद:- युरोपीय औद्योगिक मुलुकहरूले विशवमा कतिपय स्थानमा उपनिवेश खडा गरेका थिए । ती उपनिवेशहरूमा जनतालाई कुनै मौलिक हक थिएन । देशको आर्थिक तथा राजनैतिक शोषण हुन्थ्यो । नयाँ विचार तथा अवधारणा शासकको पक्षमा नभए त्यसलाई दमन गरिन्थ्यो । उपनिवेशको आर्थिक उन्नतिभन्दा शासकहरू आफ्नो देशको आर्थिक उन्नतिमा बढी ध्यान दिन्थे। यसैले औपनिवेशिक शासनबाट आजित भई जनता सङ्गठित भएर शासक देशका विरुद्ध प्रजातन्त्रका लागि जनआन्दोलन गरे । संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता सङ्ग्राम, भारतको स्वतन्त्रता सङ्ग्राम, श्रीलङ्काको स्वतन्त्रता सङ्ग्राम आदि यसैका उदाहरणहरू हुन् ।

iii) शिक्षाको प्रचार:- परम्परागत शिक्षापद्धतिको सट्टा नयाँ शिक्षा पद्धतिको विकासले शिक्षाको प्रचार भयो । अङ्ग्रेजी साहित्यका पुस्तकहरू अन्य स्थानीय भाषामा अनुवाद गरिए । अन्य भाषाका पुस्तकहरूले पनि जनतामा चेतनाको सञ्चार भयो । शिक्षाको प्रचार प्रसारले जनताहरू आफ्ना अधिकारप्रति सचेत भए । देशमा भएको निरङ्कुश शासन विरुद्ध सङ्गठित हुन शिक्षा प्रेरणा दियो । नेपालमा राणा शासनको विरुद्धमा जनआन्दोलन गर्न शिक्षाको प्रचारले पनि सघायो ।

 iv) विदेशी घटनाको प्रभाव:- अन्य देशमा भएका जनआन्दोलनको प्रभावले पनि अन्य देशमा जनआन्दोलन गर्न प्रेरित गर्यो । अमेरिकी स्वतन्त्रता सङ्ग्राममा सहभागी भई फ्रान्स फर्केका फ्रान्सेली सिपाहीहरूले नेपालमा पनि राणाशासन विरुद्ध चलेको आन्दोलनलाई भारतीय नेताहरूले नैतिक समर्थन दिएका थिए । विटिश शासनकालमा भारतबाट पाएको सहयोग राणाहरूले अब पाएनन् । वि.स. २००७ मा राजा त्रिभुवन, राणा र नेपाली काङ्ग्रेसबिच त्रिपक्षीय सम्झौता भएपछि राणाशासन समाप्त भयो।

v) जनअधिकार:- प्रत्येक देशका नागरिकहरूले सरकारबाट केही अपेक्षा राखेका हुन्छन् । देशमा कल्याणकारी राज्य होस्, जनताले सुखसुविधाको अनुभूति गर्न पाऊन्, थिचोमिचो, शोषण नहोस्, निष्पक्ष न्याय प्रणाली होस्, हिंसात्मक गतिविधि नहोस्, शान्ति वहाल होस्, रोजगारीको सुविधा होस्, मनमा लागेका रचनात्मक कुरा बोल्न तथा लेख्न पाइओस् आदि । यस्ता जनताका मानव अधिकारमाथि प्रहार भएमा जनताहरू आन्दोलित हुन्छन् । नेपालमा वि.सं. २०४६ र वि.सं. २०६२/६३ मा भएका जनआन्दोलनहरू यसैका परिणाम हुन् ।

2.  एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।

उत्तर:- एउटा देशमा भएको घटनाले अर्को देशमा पनि प्रभाव पार्छ । यस्ता प्रभाव सामाजिक, राजनैतिक तथा सांस्कृतिक रूपमा पनि हुनसक्छ । अमेरिकी स्वतन्त्रता सङ्ग्राममा फ्रान्सले आफ्नो सेना अमेरिकीहरूलाई सघाउन पठायो । स.रा. अमेरिका स्वतन्त्र भएपछि फ्रान्सेली फौज फर्के । फ्रान्सेली फौजमा अमेरिकीहरूले बेलायतको औपनिवेसिक नीतिको विरुद्धमा आवाज उठाएको अनुभव गरे । फ्रान्समा त्यसबेला लुई सोह्रौंको शासन थियो। त्यसबेला जनताले कुनै अधिकार पाएका थिएनन् । सामन्तहरूको चरम शोषण थियो । यस निरङ्कुश शासन विरुद्ध जनताहरूले आन्दोलन सुरु गरे । यो आन्दोलनलाई फ्रान्सका अमेरिकी सङ्ग्रामबाट फर्केका सिपाहीहरूले नैतिक समर्थन दिए । फ्रान्समा गणतन्त्र स्थापना भयो । फ्रान्सेली राज्यक्रान्तिले दिएको स्वतन्त्रता, समानता र भातृत्वको भावनाले अन्य मुलुकहरूमा पनि निरङ्कुश शासन विरुद्ध आन्दोलन गर्न प्रेरणा दियो।

भारत पनि १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भयो । यसको प्रभाव नेपालमा पर्यो । नेपालमा निरङ्कुश राणाशासनको विरुद्धमा जनताहरू सङ्गठित हुनु थाले । भारतीय नेताहरूले प्रजातन्त्रका लागि नेपालमा सङ्घर्ष गर्ने जनतालाई नैतिक समर्थन दिए । राणाहरूले पहिले ब्रिटिशहरूबाट पाइरहेको सहयोग पाएनन् । अन्तमा राणाशासन ढल्यो र नेपालमा प्रजातन्त्रको स्थापना भयो।

 3.  नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।

 उत्तर:- नेपालमा लोकतन्त्रको स्थापना भएपछि केही परिवर्तनहरू देखा परेका छन् । तीमध्ये केही सकारात्मक    प्रभावहरू यसप्रकार छन्ः

i)  जनताले मौलिक हक पाएका छन् ।

ii)  जनताले चित्त नबुझेका कुराहरूमा आफ्नो आवाज पनि उठाउन पाएका छन् ।

iii)  विकासका लागि नयाँ सोच र अवधारणाले महत्त्व पाएको छ ।

iv)  विकासमा जनताको सहभागिता र समान सहभागिता सुनिश्चित गर्नुपर्ने मान्यताले स्थान पाएको छ ।

v)  सामाजिक समावेशिता र विकासमा समताको अवधारणाले प्रवेश पाएको छ ।

vi)  नागरिकले विकासमा आफ्ना आवश्यकतालाई उजागर गर्ने र प्राथमिकीकरण गर्ने (Voice and choice) अधिकार पाएका छन्।

vii)  राज्यको आर्थिक गतिविधिमा राज्यको एकाधिकार नरही निजी तथा सहकारीले पनि उचित स्थान पाएका छन्।

viii)  विकासमा सुशासन र जनउत्तरदायित्वको बहसले पनि ठाउँ पाएको छ ।