योग तथा ध्यान
अभ्यास
१. प्राणायाम भनेको के हो?
उत्तर:- प्राण र आयाम दुई शब्द मिलेर प्राणायाम शब्द बनेको छ । प्राणको अर्थ जीवनदायी ऊर्जा हो। आयामको अर्थ हो निश्चित दिशा प्रदान गर्न त्यसैले प्राणायाम श्वासलाई नियन्त्रणका साथ सञ्चालन गर्ने एक प्रकारको तरिका हो । प्राणायामको माध्यमबाट श्वासबाट प्राप्त हुने ऊर्जालाई निकै मात्रामा बढाउन सकिन्छ ।
२. योग र ध्यानको महत्त्व बताउनुहोस् ।
उत्तर:- स्वस्थ जीवनशैलीका लागि योग र ध्यानको महत्त्वपूर्ण भूमिका रहन्छ । योग र ध्यानको अभ्यासले शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यलाई बलियो बनाउँछ । शरीरलाई रोग लाग्नबाट जोगाउँछ । योग र ध्यान हाम्रो वैदिक तथा परम्परागत जीवन पद्धतिसँग जोडिएको छ । यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने निरोधात्मक उपचार पद्धतिमध्येको एक प्रकार हो । यसबाट शारीरिक अवस्थामा सुधार आउँछ र सन्तुलन कायम हुन्छ । तनाव व्यवस्थापन गर्छ । आन्तरिक शान्ति कायम गर्छ । यसले गहिरो निद्रा ल्याउँछ ।
३. योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:- योग र ध्यानले शरीरलाई स्वस्थ राख्नुका साथै मन र आत्मालाई पनि स्वस्थ राख्छ । योगले शरीरमा लचकता ल्याउँछ । संयोगी कोषहरू र मांसपेशीहरूलाई योगले बलियो बनाउँछ । मेरुदण्डलाई सुरक्षाप्रदान गरी हड्डीहरूलाई बल प्रदान गर्छ । यसबाट रक्त सञ्चारमा सुधार आउँछ । ध्यानले जीवनमा आउने समस्याहरूलाई नियन्त्रण गर्छ । शरीरको पाचनशक्ति सन्तुलित गर्छ । मन शान्त रहन्छ । आपसी सम्बन्धमा सकारात्मकता आउँछ । यसरी योग र ध्यानले शरीर मनलाई स्वस्थ राखी व्यक्तित्व विकास गर्नमा मद्दत गर्छ।
थप प्रश्नहरू
१. अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।
उत्तर:- यस अन्तर्गत पाँचओटा सामाजिक र नैतिक नियमहरू पर्छन् ।
– अहिंसा (कर्म हिंसा रहित मन, वचन)
– सत्य (सत्य निष्ठा इरादा तथा उच्च सत्यतामा स्थापित हुनु)
– आस्तेय (चोरी नगर्नु)
– ब्रह्मचर्य (विवाह पहिले कुमारत्व र कुमारीत्व सुरक्षित कायम राख्ने, विवाह पश्चात वफादार रहने)
– अपरिग्रह (अनावश्यक वस्तु संचय नगर्ने, अरूको जीवनमा प्राप्त कुराहरूको चाहना नगर्ने)
२. अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।
उत्तर:- नियम अन्तर्गत पाँच व्यक्तिगत नैतिकता र आत्मअनुशासनका कुराहरू पर्दछन् :
– शौच (शारीरिक र मानसिक शुद्धता र सरसफाई)
– सन्तोष (सन्तुष्टि, खुसी रहनु
– तपस (तपस्या तथा आत्म अनुशासन)
– स्वाध्याय (आत्म अध्ययन तथा आत्मामा स्थिर रहनु)
– ईश्वर प्रणिधान (ईश्वरीय शक्तिलाई आदर गर्नु र आस्था राख्नु)
३. भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।
उत्तर:- माहुरीले निकाल्ने आवाजसँग मिल्ने भएकाले यसलाई भ्रामरी प्राणायाम भनिएको हो। यसले रिस, असन्तुष्टि,वितृष्णा जस्ता भावलाई हटाउन मद्दत गर्छ ।
यसका फाइदाहरू निम्नलिखित छन्ः
– आबाजमा मिठास ल्याउँछ ।
– शरीरलाई शान्त राख्छ, तनाव, रिस तथा चिन्ता कम गर्छ ।
– उच्च रक्तचाप तथा नैराश्यतालाई फाइदा गर्छ।
– मनलाई एकाग्र बनाउँछ ।
– गर्भवती महिलाहरूलाई पनि लाभकारी हुन्छ ।
४. कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?
उत्तर:- योग्य प्रशिक्षकहरूबाट प्राणायाम गर्न सिक्नुपर्छ अनि अभ्यास गर्दा बेस हुन्छ । कपालभाति प्राणायामक फाइदाहरू :
– पाचन प्रणालीलाई राम्रो बनाउँछ ।
– गहिरो निद्रा लाग्छ ।
– पेटको मोटोपन घट्छ ।
– मुटु र फोक्सोको अवरोधहरूलाई हटाउँछ ।
– छालामा चमक आउँछ ।
यो अभ्यास गर्दा केही सावधानी लिनुपर्छ जस्तैः
– एकैपटक धेरै समय गर्नु हुँदैन ।
– पेटमा बल पर्ने गरी श्वास लिने र छोड्ने गर्नु हुँदैन ।
– गर्भवती महिलाले गर्नु हुँदैन ।
– पेटका विरामीले गर्नु हुँदैन ।
– उच्च रक्तचाप र दमका रोगीले वा कुनै शल्यक्रिया गराएकाले यो प्राणायाम गर्नु उचित हुँदैन ।
५. अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।
उत्तर:- अनुलोम विलोम प्राणायामका फाइदाहरू :
– नाक र शरीरमा श्वास वहने क्षेत्रलाई सफा गर्छ ।
– मनलाई शान्त राख्छ ।
– शरीरलाई ऊर्जाशील बनाउँछ ।
– मधुमेह रोगीलाई फाइदा गर्छ ।
– तनाव कम गर्छ ।
– कव्जियत, थाइराइड र पिनाशमा लाभ गर्छ ।