अभ्यास
1. कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
उत्तर:-
कार्लमार्क्स अनुसार
i) आदिम साम्यवाद
ii) दासप्रथा
iii) सामन्तवादी समाज
iv) पूँजीवादी समाज
ई. वी. टाइलर र ए. एल. मोर्गानअनुसार
i) ढुङ्गे युग (प्रारम्भिक चरण )
ii) वर्वर युग (मध्यकालीन चरण )
iii) सभ्य युग ( आधुनिक चरण )
2. तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
उत्तर:– हामी बस्ने समाज समाज विकासको आधुनिक चरण (सभ्य युग) सँग मिल्दोजुल्दो छ । किनकि,
i) यहाँ खेतीपाती परिस्कृत छ । विभिन्न किसिमका कृषि औंजार, उन्नत, बीउ, मल तथा वैज्ञानिक तरिका प्रयोग गरी कृषि कार्य हुन्छ ।
ii) मानिसका प्रयोगका लागि विभिन्न किसिमका वस्तुहरुको उत्पादनका लागि कलकारखानाहरू विकसित छन् ।
iii) मानिसहरु ठूला ठूला भवनमा बस्छन् , जुन आधुनिक सुविधाले सम्पन्न छन् ।
iv) आज यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य आदि विभिन्न क्षेत्रमा विकास भएको छ ।
v) देशको शासनमा पनि विभिन्न राजनैतिक पद्धतिको विकास भएको छ ।
vi) सकारात्मक सोचले नयाँ नयाँ आविष्कारहरुको सिर्जना हुँदैछ ।
3. नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
उत्तर:– नवपाषाण युगका सामाजिक सांस्कृतिक विशेषताहरु निम्नलिखित छन् :
i) ढुङ्गाका परिस्कृत औजारहरूको निर्माण
ii) कृषिको व्यवस्थित सुरुवात
iii) कृषि कार्यका लागि नाग्लो, टोकरी, पाथी आदि सामग्रीको उत्पादन
iv) पशुपालनको आरम्भ (गाई, सुँगुर, भेडा, कुकुर आदि पाल्ने )
v) कपडा लाउने बानीको विकास
vi) व्यक्तिगत सम्पत्तिको महत्त्व
vii) धर्मकर्म संस्थागत हुँदै
viii) समाजमा असमानताको विकास
ix) राजनैतिक चेतनाको विकासले राजा रजौटाको शासन पद्धतिको विकास
x) धातुको प्रयोग सुरु
4. नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
उत्तर:– नवपाषाण युग मध्यपाषण युगभन्दा केही बढी विकसित थियो । यो कालखण्डमा ढुङ्गाकै औंजार बनाइए तापनि केही बढी पालिस गरेर चिल्लो बनाइएको हुन्थ्यो । चेतनाको स्तर बढ्दै गएकोले ढुङ्गाका पनि परिस्कृत औँजारहरूको निर्माणले कृषि विकासलाई सघाउ पुर्यायो । कृषि कार्यले गर्दा मानिसलाई अब आफूले परिश्रम गरेको ठाउँलाई रेखदेख गर्न बाध्य बनायो । मानिसले घुमन्ते र सिकारी जीवनको सट्टा स्थायी बसोबास गर्ने कार्य सुरु गरे । यसबाट मानिसलाई पशुपालनमा पनि प्रेरणा दियो । कृषिका लागि श्रम साधन जुटाउन तथा मासुजन्य खाद्य पदार्थको सुनिश्चितताका लागि जङ्गली जनावरलाई समातेर पाल्ने क्रम सुरु गरिएको थियो । कपडा लगाउने बानीको विकास भयो । खेतीका लागि बढी जग्गा ओगट्ने क्रमले व्यक्तिगत सम्पत्तिको महत्त्व बढायो । समाजमा धार्मिक संस्कार संस्थागत हुँदै गए । राजनैतिक चेतनाको विकासले राजा रजौटाको शासन पद्धतिको विकास भयो । यसरी यो कालखण्डमा मानिसहरु घुमन्ते र शिकारी जीवनबाट स्थायी बसोबास गरी कृषि तथा पशुपालन गर्ने कार्य गरी जीवनशैली परिवर्तन गरेकाले यस युगलाई क्रान्तिकारी युग भनिएको हो ।
थप प्रश्नहरु
1. मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस् ।
उत्तर:- पुरापाषाण युगको अन्त्यसँगै लगभग दस हजार वर्ष अघिसम्मको कालखण्डलाई मध्यपाषाण युग भनिन्छ । यो कालखण्डमा पनि मानिसहरूले ढुङ्गाकै औँजार प्रयोग गर्थे । यसबेला ढुङ्गका पातला केही धारिला ब्लेड जस्ता औँजारलाई काठको विड वा हयाण्डलमा जोडेर पटक पटक प्रयोग गर्न सकिने गरी विकास गरिएको थियो । यस समय कतिपय औँजारहरू त्रिभुजाकार, चन्द्राकार, आयताकार आदि विभिन्न ज्यामितीय आकारको बनाइएको थियो । यसबाहेक ढुङ्गाकै तीर तथा भाला आदि जस्ता हतियारको प्रयोग गरिएको थियो । यस समयका केही औजारहरू जापान, आयरल्याण्ड, डेनमार्क, सर्विया आदि देशमा फेला परेका छन् । यसबेला माछा मार्ने, बासको चोयाबाट टोकरी आदि बनाउने काम पनि थालिएको थियो ।
2. पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्।
उत्तर:- आजभन्दा करिब २५ लाख वर्ष अगाडिदेखि १० हजार वर्ष अघिसम्मको कालखण्डलाई पुरापाषाण युग भनिन्छ । यो काल खण्डलाई तीन खण्डमा बाँडिएको छ । जस्तै :
i) निम्न पुरापाषाण जीवनशैली:- यो सबभन्दा पुरानो जीवनशैली मानिन्छ । मानिसहरू ढुङ्गाकै औजार बनाउँथे । ढुङ्गे औँजारहरू प्रायः सरल र भद्दा हुन्थे । मुख्य औँजार हाते बञ्चरो थियो । मानिसहरू झुण्डमा बस्थे । बढी घुमन्ते थिए । मानिसहरू गुफा, रुखको छहारीमुनि वा नदी किनारामा प्राय: बस्थे । यो कालखण्डको मुख्य मानव प्रजाति होमोइरेक्टस थियो ।
ii) मध्य पुरापाषाण जीवनशैली:- यो कालखण्ड करिब २ लाख वर्षअघिदेखि ४० हजार वर्ष अघिसम्मको थियो । ढुङ्गाका हतियार पहिलेभन्दा खाँरिएका थिए । ढुङ्गालाई फुटालेर निस्केका चोइटालाई धारिलो बनाउने कला मानिसले जानिसकेका थिए । यस बाहेक ढुङ्गालाई बाँधेर हाते बन्चरो बनाई खुर्कन, खाडल खन्न, ताछ्न, प्वाल पार्न आदि काममा प्रयोग गर्न थालेको पत्ता लागेको छ । यो कालखण्डमा नियान्डरथल प्रजातिको विकास भएको थियो ।
iii) उच्च पुरापाषाण जीवन शैली:- यो काल खण्ड करिब ४० हजार वर्षअघिदेखि १० हजार बर्ष अघिसम्मको हो । यो कालखण्डमा होमोसेपिन्यस मानव प्रजातिको विकास भएको थियो । यस युगमा मानिसहरूले ढुङ्गाका चोइटाहरूबाट धारिला औँजारहरू बनाउन जानिसकेका थिए । उनीहरूले ढुङ्गाबाट परिस्कृत ब्लेड जस्ता हतियार विकास गरी ब्युरिन, भाला, तीर आदि औँजारहरू बनाई प्रयोगमा ल्याउँथै । यिनीहरू चित्रका माध्यमबाट आफ्ना अभिव्यक्तिहरू प्रस्तुत गर्थे । यस्ता चित्रहरू युरोप, एसिया तथा अफ्रिकाका विभिन्न गुफाहरूमा भेटिएका छन् । यो कालखण्डमा कपडा लगाउने बानी तथा जङ्गली जनावर पक्रेर पाल्ने काम आदि सुरु भएको पनि मानिन्छ ।