अभ्यास
१. अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।
उत्तर:– मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई वस्ती भनिन्छ । वस्ती सोना ठूलो हुन सक्छ । सुविधा थपघट हुन सक्छ । R.L. Sing का अनुसार: बस्न, प्रयोग गर्न, कुनै कुरा सञ्चित गर्न आदि जुनसुकै उद्देश्यका लागि निर्माण गरिएका घर तथा सडक गल्ली नै वस्ती हुन् ।
वस्तीको वर्गीकरण निम्नआधारमा गरिएको छ–
i) अवस्थितिका आधारमा:– मैदानी वस्ती, पर्वतीय वस्ती, ताल किनारको वस्ती, समुद्र किनारको वस्ती,
मरुभूमिको वस्ती आदि।
ii) दुरीका आधारमा:– एक्लो वस्ती, छरिएको वस्ती, गुजमुज्ज वस्ती आदि ।
ii) समयका आधारमा:– अस्थायी वस्ती, स्थायी वस्ती, मौसम अनुसारको वस्ती आदि ।
iv) कामको आधारमा:– कृषि वस्ती, औद्योगिक वस्ती, व्यापारिक वस्ती आदि ।
v) आकारको आधारमा:– कृषि गृह, गाउँ, बजार, सहर आदि।
vi) आकृतिका आधारमा:– रेखाकार, वृत्ताकार, तीन आकार, पंखा आकार तारा आकार आदि । मानव बस्तीलाई निम्न प्रकारले पनि विभाजन गर्न सकिन्छ-
(a) ग्रामीण वस्ती
(b) सहरी वस्ती
ग्रामीण वस्ती:- कृषि, पशुपालन र साना व्यवसाय आदि कार्यको आधारमा विकसित भएको वस्ती ग्रामीण वस्ती हो।
सहरी बस्ती:- सेवा, उद्योग, व्यापार, पर्यटन आदिको आधारमा विकसित वस्ती सहरी वस्ती हो।
२. तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर:- म बसेको सहरलाई आजको रूपमा आउन करिब ७० वर्ष लाग्यो । जङ्गलको छेउमा रहेकाले रुख कटनी गर्ने कामको सिलसिलामा मानिसहरू आउन थाले । विस्तारै जङ्गल फडानी हुँदै गयो । पहाडतिरका मानिसहरू आउन थाले । वस्ती बढ्न थाल्यो । १० वर्षपछि साहु महाजनहरूले बाटोमा ढुङ्गा छापे । राजमार्गको निर्माण सुरु भयो । अझ वस्ती बढ्दै गयो । प्राथमिक विद्यालय खुले । ५ वर्षपछि माध्यमिक विद्यालयको स्थापना भयो । सानो अस्पतालको स्थापना सरकारले गर्यो । पूर्वपश्चिम राजमार्गको निर्माण थालनी भएपछि व्यापार बढ्यो । औद्योगिक क्षेत्रको स्थापना भयो । भारततिर मानिसहरू काम गर्न जान थाले । उताबाट आउँदा घरका लागि सरसामान खरिद गर्दा व्यापार बढ्यो । पहाडतिर बाटो बन्न थाल्यो । सरकारका मन्त्रीहरू आउन थाले । चुनावमा नेताहरूले विकासका लागि प्रतिबद्धता जनाए । क्षेत्रीय अस्पतालको निर्माण भयो। कलेजहरूको निर्माण भयो। टेलिफोनको विकास भयो। सडक फराकिलो बनाइयो। पढालेखा मानिसहरूको सङ्ख्या बढ्न थाल्यो। ठूला ठूला भवनहरू बने। विदेशतिरको व्यापार पनि बढ्यो । युवाहरू विदेशी रोजगारीमा जान थाले। विकास बढ्दै गयो । आज यो बजारको सबै वार्डमा कालोपत्रे सडक छ। यो सहरमा १६ वटा सरकारी मा.वि. छन् । ४० वटा निजी मा.वि. छन् । १२ वटा महाविद्यालय छन् । दुईवटा. महाविद्यालयमा डिग्री सम्म पठनपाठन हुन्छ । २ वटा प्राविधिक महाविद्यालय छन् । २ वटा ठूला अस्पताल छन् । सञ्चारको सुविधा छ ।
३. ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।
उत्तर:- ग्रामीण र सहरी वस्तीबिच भिन्नता:
क) ग्रामीण वस्तीमा कम जनसङ्ख्या हुन्छ । सहरी वस्तीमा बढी जनसङ्ख्या हुन्छ ।
ख) ग्रामीण वस्तीका अधिकांश मानिस कृषिमा आधारित हुन्छन् । सहरी वस्तीका अधिकांश मानिस गैर कृषि कार्यमा संलग्न हुन्छन् ।
ग) ग्रामीण वस्ती बढी मात्रामा कुटिर उद्योग चल्छ । सहरी वस्तीमा कुटिर, मध्यम तथा ठूला उद्योगहरू चलेका हुन्छन्।
घ) ग्रामीण वस्तीमा यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत आदिको विकास कम मात्रामा भएको हुन्छ। सहरीक्षेत्रमा यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार र विद्युत आदिको विकास बढी भएको हुन्छ ।
ङ) ग्रामीण वस्तीमा प्रदूषण कम हुन्छ । सहरी वस्तीमा प्रदूषण बढी हुन्छ ।
च) ग्रामीण वस्तीमा फोहोरमैला व्यवस्थापनको समस्या ठूलो हुँदैन । सहरी वस्तीमा फोहोरमैला व्यवस्थापनको समस्या ठूलो हुन्छ।
छ) ग्रामीण वस्तीभन्दा सहरी वस्तीमा सेवासुविधा बढी उपलब्ध हुन्छ ।
ज) ग्रामीण वस्तीमा विलासिताका सामानको प्रयोग कम हुन्छ । सहरबजारमा विलासिताका सामान बढी प्रयोग हुन्छ ।
झ) सहरी वस्तीका मानिसहरूभन्दा ग्रामीण वस्तीका मानिसहरू आफ्ना धर्म र संस्कृतिप्रति बडी आस्थावान हुन्छन् ।
ञ) सहरी वस्ती भन्दा ग्रामीण वस्तीमा प्राकृतिक वातावरण बढी उपलब्ध हुन्छ ।
४. जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।
उत्तर:- जनसङ्ख्याको आधारमा मात्रै वस्तीलाई वर्गीकरण गर्नु उचित हुँदैन । वस्ती बस्नका लागि भौगोलिक बनोट, हावापानी, रोजगारी, सुरक्षा, यातायात, उद्योग, स्वास्थ्य सेवा, सञ्चार आदि अन्य पूर्वाधारहरूले पनि प्रभाव पार्छ । हिमाली क्षेत्रमा मानिसको बसोबास कम मात्रामा हुन्छ । त्यहाँ यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य आदि कुराहरू उपलब्ध हुँदैनन् । हावापानी चिसो हुन्छ । यसकारण यस्ता ठाउँमा सहरबजारमा पातलो वस्ती पाइन्छ।
जुम्ला, हुम्ला, जिरी आदि ठाउँमा जनसङ्ख्या कम हुन्छ । कठिन भूवनोटका कारण यस्ता ठाउँमा मानिसको बसोबास कम हुन्छ । आइसल्याण्डमा ठूलो जनसङ्ख्या भएको वस्तीको कल्पना गर्न सकिदैन । दुई देशको सीमानामा यातायात, सञ्चार आदिको विकास भएपनि सुरक्षाको समस्या हुने हुनाले यहाँ वस्ती पातलो हुन्छ । मैदानी भागमा यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत आदिको विकास भएकोले यहाँको वस्तीमा बाक्लो जनसङ्ख्या पाइन्छ । समुद्री किनारी भागमा हावापानी रम्य हुने, व्यापार व्यवसाय, पर्यटन, यातायात आदिको विकास बढी हुने हुनाले यहाँ बाक्लो वस्ती पाइन्छ । पहाडी क्षेत्रमा ग्रामीण वस्ती भन्दा मैदानी भागका ग्रामीण वस्तीमा बढी मानिसहरूको बसोबास हुन्छ । काठमाडौँ उपत्यकामा स्वास्थ्य, शिक्षा, यातायात, रोजगारी, विद्युत, सञ्चार आदिको विकास भएकोले बाक्लो बस्ती पाइन्छ ।
थप प्रश्नहरू
१. रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।
घरको परिभाषा:-
Jean Brunhes का अनुसार- “घर मानिसको खाना पछिको दोस्रो आवश्यकता हो । उनका विचारमा खाना प्रथम जैविक आवश्यकता हो भन्ने निद्रा दोस्रो जैविक आवश्यकता हो । चाहे त्यो सामान्य झुपडी होस् वा ठूला महल । सुत्नका लागि मानिसलाई घरको आवश्यकता पर्छ ।
Ellsworth Huntington का अनुसार- “घर मानिसको खाना र कपडा पछिको तेस्रो आवश्यकता हो । यसले आश्रयमात्र दिने होइन, जङ्गली जनावर, घामपानी, हावाहुरी आदिबाट जोगाउँछ ।”
२. ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।
उत्तर:-
ग्रामीण वस्तीको परिभाषा:
(क) “परिवार अथवा वर्गभन्दा ठूलो सामुदायिक स्वरूप नै ग्रामीण वस्ती हो ।”
“The village is the expression of a type of community larger than a family or class.”
– By Vidal de Lablache
(ख) “ग्रामीण वस्ती त्यो सामुदायिक स्वरूप हो, जहाँ अपेक्षाकृत रूपमा बढी समानता,अनौपचारिकता, प्राथमिक समूहको समानता, कम जनघनत्व र कृषि व्यवसाय मुख्य पेशा हुन्छ ।”
“A village is that community which is characterized by relative homogeneity, informality, prominence of primary groups, lesser density of population and agriculture as the main occupation.” – By R.N. Mukherjee
ग्रामीण बस्तीका विशेषताहरु:
(क) कम जनसङ्ख्या बसोबास गर्ने ।
(ख) प्राथमिक आर्थिक कृयाकलापमा संलग्न समूहहरूको प्रधानता हुने, जस्तैः कृषि, पशुपालन, काठको काम, हाटबजार, कुटिर उद्योग आदिमा संलग्न
(ग) वस्तीहरू पातला हुने ।
(घ) प्रकृति र मानिसहरूबिच नजिकको सम्बन्ध हुने ।
(ङ) मानव समुदाय विभिन्न तहमा विभाजित हुने ।
(च) साझा अनुभव, उद्देश्य, चालचलन र परम्परा आदि वस्तीहरूको एकताको आधार हुने ।
३. सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।
उत्तर:- सहरको अङ्ग्रेजी शब्द Urban हो। Urban शब्द लेटिन भाषाको Arbs बाट आएको हो । यसको अर्थ नगर अथवा नगरसँग सम्बन्धित हुन्छ। सहरी बस्तीमा सेवा, उद्योग, व्यापार, पर्यटन आदिको विकास हुन्छ । सहरको परिभाषा विद्वानहरूले यसरी दिएका छन् –
(क) A.B. Gallion अनुसार, “सहर भन्नाले त्यस ठाउँमा बस्ने सम्पूर्ण बासिन्दाहरू बस्नका लागि घरहरू, किनबेचका लागि पसल, हिड्नका लागि सडक (गल्ली) र व्यापारका लागि स्थान उपलब्ध भएको क्षेत्रलाई जनाउँछ ।”
(The city means the whole people who inhabitate it, the entire collection of the house the people live in, the shops which they work, the streets on which they travel and the places which they trade.”
(ख) Von Richthofen का अनुसार, “सहरले त्यस्तो क्षेत्र समावेश गरेको हुन्छ, जहाँ कृषि भन्दा फरक मुख्य पेशाका रूपमा व्यापार र उद्योग हुन्छ।”
“The town consists of the area in which normally the main occupations are concerned with commerce and industry as opposed to agricultural pursuits.”
(ग) भूगोलविद् Ratzel का अनुसार, “विस्तृत कृषि भूमि र बृहत व्यापारिक मार्गहरू भएको वस्ती सहरी वस्ती हो । उनले सहरलाई घना जनसङ्ख्या र भवनको जमघट भएको क्षेत्र भनेका छन् ।
४. सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।
उत्तर:- सहरी वस्तीका विशेषताहरू:
(क) बढी जनसङ्ख्या बसोबास गर्ने,
(ख) उद्योग, व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा वा सेवामूलक व्यवसायमा आधारित हुने,
(ग) मानिसहरूको मुख्यपेसा गैरकृषि हुने,
(घ) औद्योगिक, व्यापारिक, प्रशासनिक, शिक्षा, स्वास्थ्य आदि सुविधाहरू उपलब्ध हुने,
(ङ) ठूला भवनहरू र घना बस्ती भएको हुने,
(च) विकासका पूर्वाधारहरू जस्तैः यातायात, सञ्चार, विद्युत, खानेपानी आदिको राम्रो विकास भएको हुने ।