बहुसांस्कृतिक र सामाजिक एकता

अभ्यास

1.  तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।

 उत्तर:- हासो समुदायमा भएका विविधताहरू:

हाम्रो समुदायमा बसोबास गरिरहेका जाति सम्प्रदायहरू- ब्राह्मण, क्षेत्रीय, नेवार, राई, लिम्बू, मुसलमान, यादव, हजाम, पोडे, थारु, धोवी, खड्गी, मारवाडी, थारु, कोइरी, लामा, सन्यासी आदि हाम्रो समुदायमा भएका धार्मिक स्थानहरू- कृष्णमन्दिर, शिवमन्दिर, काली मन्दिर, हनुमान मन्दिर, राम मन्दिर, नृसिंह मन्दिर, कृष्ण प्रणामी मन्दिर, २ वटा मस्जिद, ५ वटा चर्चहरू

हाम्रो समुदायमा मनाइने चाडपर्वहरूदशैं, तिहार, गाईजात्रा, माघे सङ्क्रान्ति, फागु, असार १५, सरस्वती पूजा, कृष्ण अष्टमी, इद, वकरिद, ल्होसार, उभौंली, उधौली, बुद्ध पूर्णिमा, जनै पूर्णिमा, शिवरात्री आदि ।

एकताका उदाहरणहरू: हाम्रो समुदायमा मन्दिरकै छेउमा मस्जिद र चर्च छन् । चर्चमा प्रार्थना गरिरहँदा मन्दिरमा शंख बजिरहन्छ । हिन्दूधर्मावलम्बीहरूले धर्मसम्बन्धी प्रवचन कार्यक्रम गर्छन् । भागवत पूजा लगाउँछन् मुसलमानका मौलवीहरूले आफ्नो धर्मबारे मस्जिदमा प्रवचन दिन्छ । इसाईहरूले क्रिसमस मनाउँछन् । कतै कतै विद्यालयमा ‘शान्ता क्लाउज (Santa Claus) बनाएर कार्यक्रम पनि गर्छन् । कुनै धर्मावलम्बीहरूले अर्को धर्मावलम्बीहरूको कार्यक्रममा बाधा पुयाउँदैनन् । कार्यक्रम आयोजना गर्दा सबैको सहयोग लिइन्छ । समाजमा हुने जातिका न्वारान, पास्नी, ब्रतबन्ध, विहे आदि संस्कारहरूमा छिमेकीहरूलाई निमन्त्रणा दिइन्छ । मलामी जाँदा छिमेकीहरू जात हेर्दैनन् । छिमेकी भनेको सधैं चाहिन्छ भन्ने भावना हामीमा छ । यसैले हामी सबै मिलेर शान्तिपूर्वक आ-आफ्ना पेशा व्यवसाय सञ्चालन गरी एकआपसमा समानुभूति, सद्भाव राखी बसेका छौं।

2.  बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तर:- नेपालं बहुल जाति, बहुभाषी, बहुसंस्कृति, बहुधार्मिक सम्प्रदाय भएको देश हो । यस देशको पहिचान नेपालको राष्ट्रिय गीतले नै गराउँछ । मेचीदेखि महाकालीसम्म फैलिएको हाम्रो देशमा हिमाल पहाड र तराई भएको बहु भौगोलिक क्षेत्र छ । त्यस्तै यहाँ ब्राह्मण, क्षेत्रीय, नेवार, राई, मगर, लिम्बू, ठकुरी, कुमाइ, थारु, यादव, मुसलमान, छन्त्याल आदि बहुजातिको बसोबास छ । जसरी फूलैफूल गुँथेर एउटा माला बन्छ, त्यसरी नै बहुजातीय संस्कृति मिलेर नेपाल बनेको छ । मालामा गुडिंएका फूलहरूको आफ्नै पहिचान हुन्छ र समग्र मिलेर पनि अलग पहिचान । विभिन्न जातिको संस्कृतिको आफ्नै पहिचान छ, समग्र संस्कृति मिलेर नेपालीको पहिचान बनेको छ । भक्तपुरमा मनाइने गाईजात्राको रौनक नै अर्को छ । काठमाडौंको घोडेजात्राले दर्शकलाई त्यतिकै लोभ्याउछ । किराँतीहरूको उधौँली र उभौँलीमा झ्यालीझ्याम्टाको स्वरले कति उत्साहित बनाउँछ । ब्राह्मणहरूले गाएको वालनले ईश्वरभक्तितिर मन लैजान्छ । तराईमा मनाइने होलीले भिन्न भिन्न रङ्गहरू मिलेर एउटै होलीको रङ्ग बन्छ । जुनसुकै जातको होस्, जुनसुकै उमेरको होस्, सबैको साथ भए सुखमय समाज बन्छ भनेर होलीले सन्देश दिन्छ । हिमाली भेकमा मनाइने मनिरिम्दु, ल्होसार, बुद्ध जयन्ती, पहाडमा मनाइने दशैं, तिहार, उधौँली, उभौँली, गौरा, भैलो तथा तराईमा छठ, मकर सङ्क्रान्ति, तिहार आदि हो । यी सबै नेपालमा बसोबास गर्ने नेपालीका संस्कृति हुन् । विभिन्न जातिका फूल उनिएर एउटै माला बनेझै विभिन्न क्षेत्रमा रहने जात जातिको आफ्नो मौलिक परम्परा, रीतिरिवाज, संस्कृति मिलेर एउटै नेपालीको पहिचान दर्शाउँछ । यसैले भन्छन् बहुसंस्कृति नै नेपालीको पहिचान हो ।