Skip links

बस्ती विकास

अभ्यास

१.  हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।

उत्तर: हाम्लेट र गाउँबीच फरक :

हाम्लेटगाउँ
१. गाउँको पूर्वअवस्था१. हाम्लेटको विकसित अवस्था
२. एउटै जातिको बसोबास२. विभिन्न जातिको बसोबास
३. एउटै वृहत परिवारका सदस्यहरुको बसोबास३. विभिन्न परिवारहरुको बसोबास
४. अाफ्नाे जातिअनुसारको धार्मिक गतिविधि हुने४. विभिन्न जातिहरुको धर्मअनुसार धार्मिकगतिविधि हुने
५. थोरै अार्थिक गतिविधि सञ्चालन हुने५. विभिन्न किसिमका अार्थिक गतिविधि हुने
६. थोरै सामाजिक सेवाको विकास भएको६. बढी सामाजिक सेवाको विकास हुदैँ गरेको
७. हाटबजारको सुविधा नभएको७. हाट बजारको सुविधा भएको

२.  “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।

उत्तर:- बस्तीको प्रकृति नियमित रूपमा परिवर्तन हुँदै जान्छ । वस्तीको प्रकृति परिवर्तन हुँदा वस्तीको आकार र प्रकारमा पनि परिवर्तन हुन्छ । सुरुमा थोरै परिवारहरू मिलेर बनेको वस्ती कालान्तरमा वस्तीमा जनसङ्ख्या वृद्धि भई घरहरू थपिँदै जान्छन् । आर्थिक क्रियाकलाप पनि बढ्छ । किनकि जनसङ्ख्या बढेपछि उनीहरूले जीवन निर्वाहका लागि कुनै न कुनै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्छ । जुनसुकै पनि व्यवसाय वा पेशा

अङ्गाली आफ्नो र परिवारको गुजारा गर्नुपर्छ । बाँच्नका लागि मानिसलाई खान र बास बाहेक अन्य आवश्यकताहरूको जरुरत पर्छ । मानिसलाई जीउ ढाक्न लुगा चाहिन्छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको आवश्यकता पर्छ । साबुन, तेल, इन्धन, लुगा, मनोरञ्जन आदिको आवश्यकता पर्छ ।

दैनिक आवश्यकता परिपूर्तिका लागि पसल खुल्छन् । पायक परेका ठाउँमा अन्य सामान उत्पादनका लागि उद्योग खुल्छ । आवत जावतका लागि बाटो खोलिन्छन् । त्यस्तै बिरामीबाट जोगिन औषधि उपचार चाहिन्छ । पढ्न लेख्नका लागि शिक्षाको जरुरत पर्छ । यसरी विभिन्न सामाजिक सेवाको आवश्यकता पर्छ । मानिसलाई सुरक्षाको आवश्यकता पर्छ । सुविधा थपिँदै जान्छ । बस्ती बढ्दै जान्छ । बस्ती बढ्दै जाँदा अझ सुविधाको आवश्यकता पर्छ । अझ सुविधाहरू थपिने काम गरिन्छ । विभिन्न सामाजिक सेवाहरूका पनि विस्तार हुँदै जान्छ । बस्ती बढ्दै जाँदा विभिन्न गतिविधिहरू बढ्दै जान्छ । उद्योग बढ्छ, व्यापार बढ्छ । व्यवसाय बढ्छ । यसरी मानिसको बस्तीमा खानेपानी, इन्धन, खाना, स्वास्थ्य, शिक्षा, सुरक्षा, यातायात, सञ्चार जस्ता सामाजिक सेवाहरूको आवश्यकता पर्छ । अनि सामाजिक सेवाहरूको परिपूर्तिका लागि कार्य अघि बढ्छ । बस्तीको प्रकृति र आकार अनुसार सामाजिक सेवाको आवश्यकता र उपलब्धता फरक फरक हुन्छ । ठूला ठूला फर्ममा कृषि कार्य नियमित रूपमा सञ्चालन गर्न कामदारहरू बस्न त्यही आवास सुविधा उपलब्ध गराइन्छ । त्यी खानेपानी, खाना, विद्युत् सञ्चार आदि सेवा उपलब्ध गराइन्छ । यस्ता वस्तीलाई एकाकी बस्ती भनिन्छ । यहाँ थोरै कामदारहरू रहने भएकाले सामाजिक सेवाको आवश्यकता पनि कम हुन्छ । यसको उपलब्धता पनि कम हुन्छ । यस्ता एकाङ्की वस्तीहरू टाढा टाढा रहने हुनाले सुरक्षाको आवश्यकता बढी हुन्छ । यसरी वस्ती ठूला भएमा बढी सामाजिक सेवाको आवश्यकता पर्छ । सानो वस्ती भएमा मानिसहरूको सङ्ख्या पनि थोरै भएकाले तुलनात्मक रूपमा सामाजिक सेवाको आवश्यकता पनि कम हुन्छ ।

३.  बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर:- कुनै पनि भूखण्डमा मानिसहरू बसोबास गरेको क्षेत्रलाई बस्ती भनिन्छ । बस्ती सानो पनि हुन सक्छ, ठूलो पनि हुन सक्छ । आदिम कालमा मानिसहरूले फिरन्ता जीवनबाट स्थायी रूपमा कस्ता ठाउँमा बस्न सुरु गरे होलान् भन्ने कुराको लिखित प्रमाण छैन । तर हाल बस्ती बसेको विश्लेषण गर्दा सुरु सुरुमा मानिसहरू नदी किनारमा बस्न थालेको देखिन्छ । मानिसहरूको अति आवश्यक वस्तु पानी र खाना सजिलैसँग पाइने स्थानहरूमा मानिसहरूले वस्ती बसाले होलान् । नदीको किनारमा उर्वर भूमि खेतीका लागि उपयुक्त हुने, नदीको पानी घरायसी प्रयोगमा ल्याउन हुने, नदीमा माछा पाइने, नदीमा जङ्गली जनावर पानी पिउन आउँदा शिकार गर्न सजिलो आदि सुविधा हेरी मानिस नदी छेउमा बसेका होलान् । नदीले जलमार्गको पनि सुविधा दिएको हुन सक्छ । सिन्धुघाटी सभ्यता, नील नदीको सभ्यता, हंवाग हो नदी सभ्यता, मेसोपोटामियाको सभ्यता आदि नदी किनारका सभ्यताका उदाहरण हुन् । यी नदीहरूको किनारमा मानिसहरूले बस्ती बसाली विकास गरेको प्रमाणित हुन्छ । त्यस्तै समुद्र किनारीभागमा व्यापारमा सुविधा हुने तथा हावापानी पनि रम्य हुने हुँदा मानिसहरूले बस्ती समुद्र किनारमा पनि बसेको पाइन्छ । समुद्र किनारमा पनि प्राचीन सभ्यता विकास भएको देखिन्छ । रोमन सभ्यता र ग्रीसको सभ्यता यसका उदाहरण हुन् ।

विभिन्न आधारमा ठाउँठाउँमा बस्ती विकास भएको देखिन्छ । नेपालको पहाडी भूभागमा सामाजिक, आर्थिक, धार्मिक र सुरक्षाका कारण एकत्रित बस्ती विकास भएको देखिन्छ । कृषि भूमिको व्यापक प्रयोग र अन्य सुविधाहरू प्राप्त स्थानहरूमा पनि एकत्रित बस्ती विकास भएको देखिन्छ । एकत्रित बस्तीमा विभिन्न जातजाति, विभिन्न आर्थिक क्रियाकलाप व्यवसाय, कुटिर उद्योग तथा धार्मिक स्थानहरू उपलब्ध हुन्छन् । हिजोआज पूर्वाधारहरूको विकासले बस्तीको स्वरूपमा पनि व्यापक परिवर्तन आएको छ ।

मानिसको जीवनमा बस्तीको ठूलो महत्त्व छ। मानिस जन्मेदेखि मृत्युसम्म बस्तीमै रहन्छ । मानिस बस्तीमै हुर्कन्छ र जीवन यापन गर्छ । मानिसलाई जीवन निर्वाह गर्ने रोजगारी चाहिन्छ । मानिसलाई विभिन्न किसिमको सहयोग चाहिन्छ, ती सबै मानिसहरूले बस्तीमा पाउँछ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन, धर्म, यातायात, सञ्चार आदि सबै मानिसले बस्तीमै पाउँछ । मानिसले बस्तीमा एक्लै जीवन बिताउनु पर्दैन । जीवनका आधारभूत आवश्यकता यहीं प्राप्त हुन्छ । प्राकृतिक तथा अन्य प्रकोपबाट सुरक्षा पनि बस्तीमै पाइन्छ । जङ्गलमा एक्लै जिन्दगी मानिसले बिताउन सक्दैन । उसका भावनात्मक आवश्यकता पनि बस्तीमै पूरा हुन्छ । बस्ती बढ्दै गयो, मानवीय आवश्यकता बढ्दै गए । नयाँ नयाँ अनुसन्धान भए, आविष्कार भए। मानिसहरूको आवश्यकता पूरा हुँदै गए । अझ आवश्यकता बढ्दै छ, नयाँ नयाँ आविष्कार हुँदैछन् । यस्ता आविष्कारको उपयोग मानिसले मानवीय बस्तीमा नै रहेर गरिरहेका छन् ।

४.  “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

उत्तर:- मानव वस्तीको पर्यावरणसँग गहिरो सम्बन्ध रहेको हुन्छ । मानिसहरूको जीवनशैलीलाई पर्यावरणले प्रभाव पारेको छ । मानिसहरूको घर पनि त्यहाँको हावापानी र उपलब्ध स्रोत र साधनमा भर पर्छ । पर्यावरणमैत्री नभए मानिसलाई बाँच्न कठिन पर्छ । मानव बस्तीको विकासको इतिहास धेरै पुरानो छ। प्राचीन समयमा पानी र यातायातको सुविधा भएका ठाउँमा मानिसहरूले बस्ती बसाले । त्यहाँ उपलब्ध स्रोत र साधनको उपयोग गरे । मिश्रमा नील नदीको किनारमा, मेसोपोटामियामा युफ्रीटीस र टिग्रीस नदीको बिचमा, पाकिस्तानमा सिन्धु नदीको किनारमा, पानीको स्रोत छेउछाउको पर्यावरणीय अवस्थाले प्राचीन बस्तीको विकासमा सहयोग पुर्याएको देखिन्छ । चिसो हावापानी भएको ध्रुवीय क्षेत्रमा हिउँबाट निर्माण भएका घरहरू ‘इग्लु’ मा मानिसहरू बसोबास गरेको पाइन्छ । मरुस्थलीय क्षेत्रको मरुधानमा पानीको स्रोतको वरिपरि वृत्ताकार बस्ती विकास भएको देखिन्छ । धेरै हावा चल्ने ठाउँमा होचा घरहरू बनेको पाइन्छ । नेपाल हिमाल, पहाड र तराई गरी तीन पर्यावरणीय क्षेत्रमा विभाजित छ । यी क्षेत्रहरूमा पनि पर्यावरण अनुसार नै घरहरू बनेको पाइन्छ । तराई क्षेत्रका पुराना वस्तीहरूमा काठ वा माटो वा बाँसले बनेको होचा घरहरू पाइन्छन्। जङ्गली जनावरहरूबाट बँच्नका लागि यहाँ एकीकृत वस्तीहरू बनेका छन् । पहाडी क्षेत्रमा होचो अग्लो धरातल, कम उर्वरा जग्गा, काठ र ढुङ्गाहरू उपलब्ध हुने हुँदा यहाँ काठ र ढुङ्गाबाट घरहरू बनाइन्छन्। तराईमा गर्मी हुने हुनाले यहाँ ठूला झ्यालहरू भएको घर बनाइन्छ । हिमाली क्षेत्रमा चिसो हुने हुनाले यहाँ उपलब्ध ढुङ्गा र काठबाट होचा घरहरू बनाइन्छ । यहाँ चिसो हावाबाट जोगिन सानो झ्यालहरू बनेका हुन्छन् । पहाडी क्षेत्रमा होचा अग्ला ठाउँहरूले गर्दा बस्तीहरू छरिएर रहेका हुन्छन् । वर्षा धेरै हुने ठाउँमा भुइँबाट केही अग्लो र भिरालो छानु भएको घरहरू बनेका हुन्छन् । पहाडी भेकमा यातायात र कृषि कमजोर भएकोले पातलो बस्ती पाइन्छ । वर्षा याममा पहाडी क्षेत्रमा पैरोले धनसम्पत्ति तथा मानवीय क्षति बेहोर्नुपर्छ । मैदानी भागमा कृषि र यातायातको पनि सुविधा भएकोले यहाँ बाक्लो बस्ती पाइन्छ ।

थप प्रश्नहरू

१.  शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् 

उत्तर:- शितोष्ण प्रदेशमा चिसो हावापानी पाइन्छ । यहाँ गर्मीमा न्यानो र हिउँदमा तुलनात्मक रूपमा केही बढी जाडो हुन्छ । सूर्य पूर्वबाट उदाउने हुँदा पूर्वतिर फर्केका घरहरूमा घामको सहज प्रवेश हुन्छ र घरहरूभित्र बढी जाडो हुन पाउँदैन । घामको सहज प्रवेशका लागि घरहरू पूर्वतिर फर्केको बनाइन्छ ।

२.  नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?

उत्तर:- नेपालको अवस्थिति कर्कट रेखादेखि माथि पर्छ। यहाँ सूर्य दक्षिणपूर्व दिशाबाट उदाउँछ। गर्मीमा यहाँ हावा दक्षिण दिशाबाट बहन्छ । यसकारण दक्षिण मोहंडाको घरमा गर्मीमा सहज रूपमा हावाको प्रवेश हुन्छ । हिउँदमा घामको सहज प्रवेश हुन्छ । यसैले नेपालमा दक्षिण मोहडा भएको घरहरू प्रायः बनाइन्छन् ।

३.  इग्लू (Igloo) भनेको के हो ? यसको निर्माण कहाँ र किन गरिन्छ ?

उत्तर:- हिउँबाट बनेका घरहरूलाई इग्नु भनिन्छ। यस्ता हिउँका घरहरू घुवीय प्रदेशमा इन्युट जातिले बनाउने गर्छन्। ध्रुवीय प्रदेशमा अत्यन्त जाडो हुन्छ । यहाँ वर्षभरिमा करिब ७/८ महिना हिउँ जम्छ यहाँ इंटर ढुङ्गा, काठपातको अभाव छ । यसैले यहाँका मानिसहरू हिउँबाट घर बनाएर बस्छन्।