अभ्यास
1. निर्णय निर्माण पहिचान दिनुहोस् ।
उत्तर:– निर्णय निर्माण भनेको समस्या समाधानका लागि विभिन्न विकल्पहरुमध्येबाट उत्तम विकल्प छनौट गर्न एउटा निश्चित प्रक्रिया पूरा गरी निर्णय लिने तरिका हो ।
जर्ज आर. टेरिका अनुसार, ‘दुई वा दुईभन्दा बढी सम्भाव्य विकल्पहरुमध्येबाट एउटा सबैभन्दा राम्रो विकल्प छनौट गर्ने प्रक्रियालाई निर्णय निर्माण भनिन्छ ।’
हेरोल्ड कुन्ज र हेन्ज वेरिचका अनुसार, ‘विकल्पहरुबिच उत्तम विकल्प छनोटका साथै योजना तर्जुमाको जगनै निर्णय निर्माण हो ।’
जीवनमा अध्ययन गर्दा वा जीवन यापन गर्दै जाँदा हाम्रा सामु विभिन्न समस्या आइपर्छन् । कुन विधा अध्ययन गर्ने , कहाँ गर्ने, अध्ययन सकिएपछि कुन पेशा अङ्गाल्ने, आफ्नो जीविका कसरी चलाउने, सामाजिक परिस्थितिहरुसँग कसरी सामञ्जस्य स्थापित गर्ने, देशका विभिन्न गतिविधिहरुमा आफूलाई कसरी सहभागी गराउने आदि समस्याहरु आइपर्छन् । यी समस्याहरु समाधानका लागि विभिन्न विकल्पहरूको खोजी गर्नुपर्छ । अरुसँग सरसल्लाह लिनुपर्छ । विकल्पहरुको सकारात्मक तथा नकारात्मक प्रभावहरु विश्लेषण गर्नुपर्छ । ती सम्भाव्य विकल्पहरुमध्ये कुन विकल्प रोज्दा भविष्यमा सफल जीवन बिताउन सकिन्छ , यी सब विचार गरी निर्णय लिनुपर्छ र कार्यान्वयन गर्नुपर्छ ।
देशमा पनि कतिपय समस्याहरु आइपर्छन् । देशका उच्च तहका प्रशासकहरूले देश तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी सम्भाव्य विकल्पहरुको खोजी गरी विश्लेषण विकल्पको छनोट गरी कार्यान्वयन गर्नुपर्छ । यही उत्तम विकल्प छनोट गर्ने प्रक्रिया नै निर्णय निर्माण हो ।
2. निर्णय निर्माणका प्रकारहरु उदाहरणसहित वर्णन गर्नुहोस् ।
उत्तर:– निर्णय निर्माणका प्रकारहरु निम्नलिखित छन् :
i) सङ्गठनात्मक निर्णय (Organizational Decision):- कुनै कार्यलय वा संघसंस्थाका पदाधिकारी तथा कर्मचारीबाट कार्यालय वा संस्थाको कामका सम्बन्धमा लिइने निर्णयलाई सङ्गठनात्मक निर्णय भनिन्छ । यस प्रकारका निर्णयहरु कार्यालय वा संस्थाको उद्देश्य प्राप्ति तथा समस्या समाधानसँग सम्बन्धित हुन्छन् । उदाहरणका लागि रघवापुरको नमूना माध्यमिक विद्यालयमा अध्ययन गर्ने १२ कक्षाका परीक्षार्थीहरूको अन्तिम परीक्षाको परीक्षाफल उत्साहजनक नदेखिएकोले आगामीवर्ष देखि १०० पूर्णाङ्कको प्रवेश परीक्षा लिने, सोमा ५०% अङ्क ल्याउने विधार्थीको भर्ना लिने साथै कक्षा १२ का विधार्थीहरुका लागि छात्रावासको व्यवस्था गरी शिक्षकहरुको निगरानीमा अध्ययन अध्यापन गराउने निर्णय लिइएको थियो ।
ii) व्यक्तिगत निर्णय (Personal Decision):- व्यक्तिले आफ्नो दैनिक जीवनयापनका सिलसिलामा आफ्नो इच्छानुसार गर्ने निर्णयलाई व्यक्तिगत निर्णय भनिन्छ । यस्ता किसिमका निर्णय व्यक्ति स्वयम्बाट लिइन्छ । यस्ता किसिमका निर्णयको प्रभाव निर्णय लिने व्यक्तिमा बढी सीमित हुन्छ । उदाहरण; सरकारले कृषिमा अनुदान दिने घोषणा गरेको छ । तराई ग्रामीण भेगको रामनारायण चौधरीको दुई विघा खेत छ ।उसलाई धान खेतीबाट आएको आयले घर खर्च चलाउन धौधौ पर्छ । अब उसले कृषि कार्यालयबाट तरकारी खेती गर्न तालिम लिएर बेमौसमी तरकारी खेती गर्ने निर्णय लियो र तरकारी खेती गर्न सुरु गर्यो । घरपरिवारका मानिसहरुले पनि उनलाई सघाएका छन् । यसबाट उनलाई मनग्ये आम्दानी भएको छ ।
iii) सामूहिक निर्णय (Group Decision):- आपसी हित वा भलाइका लागि सम्बन्धित व्यक्तिहरु एक आपसमा मिली गरिने निर्णयलाई सामूहिक निर्णय भनिन्छ । यस किसिमका निर्णयमा एकभन्दा बढी व्यक्तिहरु सहभागी हुन्छन् । यस्ता निर्णयमा धेरै जनाको सहभागिता हुने हुँदा कार्यान्वयन सहजता हुन्छ । उदाहरण; मधवापुरगाउँपालिकाका वार्ड नं. ३ का जानकी टोलका १० परिवारले सहकारी खेती गर्ने विचार गरे यसका लागि गाउँका जे.टी.ए. तथा पशु चिकित्सकसँग सहयोग लिने पनि निधो गरे । उनीहरुले दसैँ परिवारका खेतहरुमा तरकारी खेती गर्ने, माछापालन गर्ने, कुखुरा पालन गर्ने तथा १० थान जर्सी गाई पाल्ने विचार गरे । उनीहरु एउटा समिति बनाए तरकारी खेती गर्ने खेत, माछा पोखरी बनाउने , मासुका लागि ५०० थान कुखुरा र अन्डाका लागि ५०० थान कुखुरा पाल्न हुने घर बनाउने ठाउँ र गाई पाल्ने ठाउँ छुट्याए । साथै खेतमा काम गर्ने, गाई स्याहार गर्ने, माछा पोखरी हेर्ने तथा कुखुरा हेर्नेका लागि परिवारहरु छुट्याए । कृषि विकास बैङ्कबाट आवश्यक ऋण लिएर काम सुरु गरे । हाल सो सहकारी संस्थाले राम्रै आम्दानी गर्दै आएको छ ।
iv) विवेकशील निर्णय (Rational Decision):– विभिन्न विकल्पहरुको पहिचान गरी तथ्य तथा प्रमाणहरुको विश्लेषणबाट प्राप्त निष्कर्षका आधारमा उपयुक्त तथा सर्वोत्तम विकल्पको छनोट गरी गरिने निर्णयलाई विवेकशील निर्णय भनिन्छ । उदाहरण- विकास टोलकी रमिता लामिछानेले प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरिन् ।अब यस पछि के अध्ययन गर्ने भन्ने प्रश्न उठायो । मानविकी कक्षा लिने कि वाणिज्य कक्षा लिने, होटल व्यवस्थापन पढ्ने कि विज्ञानतर्फ पढ्ने । घरपरिवारबाट बढी खर्च गर्ने क्षमता छैन । साधारण जागिर खाएर घरपरिवार कसरी धान्ने । बरु नर्सिङमा पढ्दा वेस होला । उतीर्ण गरेपछि अस्पतालमा जागिर पाइने । तलब पनि राम्रै आउने। नर्सिङमा नै उच्च शिक्षा लिने अवसर पाइने । अस्पतालबाट चिकित्सा सुविधा पनि पाइने । फुर्सदमा अन्य ठाउँमा पनि काम गर्न पाइने । घर परिवारलाई सहयोग हुने । यसको अध्ययनका लागि घरबाट पनि सहयोग हुने । यसैले उनले नर्सिङ पेशा अपनाउन नर्सिङ अध्ययन गर्ने विचार गरिन ।
v) बढोत्तरी निर्णय (Incremental Decision):– पहिले गरेको निर्णयलाई आधार मानी भइरहेका कामरहरुलाई थप परिमार्जन वा सुधारगर्ने गरी लिइने निर्णयलाई बढोत्तरी निर्णय भनिन्छ । जस्तै: कुनै विधालयमा गत वर्षदेखि पूर्वाधार सुधार कार्यक्रम सञ्चालन भइरहेकोमा आगामी वर्षदेखि व्यवस्थित पुस्तकालय सञ्चालन गर्ने लिइएको निर्णयलाई मान्न सकिन्छ l
vi) सहभागितामूलक निर्णय (Participative Decision):– लक्षित समूह, सरोकारवालाहरू वा लाभग्राहीको फाइदा वा हितका लागि गरिने कार्यहरूमा उनीहरुलाई पनि निर्णय प्रक्रियामा सहभागी गराई गरिने निर्णयलाई सहभागितामूलक निर्णय भनिन्छ । जस्तै: कुनै सुकुम्बासी टोलको खानेपानीको समस्या समाधान गर्न स्थानीय गाउँपालिका र वडाअध्यक्ष तथा स्थानीय टोलका प्रतिनिधिहरु मिली छलफल गरे । यसका लागि नजिकको खोलाबाट पानी ल्याउने विचार गरियो । यसका लागि ट्याङ्की निर्माण, पाइपलाइनओछ्याउने, ठाउँठाउँमा भल्भहरु राख्ने र हरेक परिवारमा धारा जडान गर्न लाग्ने खर्चको अनुमानित लागतयत इन्जिनियरबाट तयार गराउने । सो लाग्ने खर्चको आधा गाउँपालिकाले अनुदान दिने तथा बाँकी खर्चका लागि सबै घरपरिवारले दामासाहीका दरले ब्यहोर्ने निर्णय गरे ।
3. निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरुको सूची तयार गर्नुहोस् ।
उत्तर:– कुनै पनि निर्णय गर्नु पर्दा निम्न कुराहरू विचार गर्नुपर्छ :
i) समस्या के हो भनी पहिचान गर्ने ।
ii) समस्या पहिचान गरिसकेपछि सोको विश्लेषण गर्ने । सो समस्या किन सृजना भयो यसका पक्षहरु केके हुनु , यसको मूल कारण के हो , आदि ।
iii) समस्या विश्लेषण गरिसकेपछि सो समस्या समाधान गर्न के के विकल्पहरु छन् , सोको खोजी गर्ने ।
iv) खोजिएका विकल्पहरुको राम्रा तथा नराम्रा पक्षहरुबारेमा विश्लेषण गर्ने ।
v) विकल्पहरुमध्ये सबभन्दा राम्रो विकल्प छनौट गर्ने ।
vi) छनौट गरिएको विकल्पलाई कार्यान्वयन गर्ने ।
vii) कार्यान्वयन गरिसकेपछि केही अवधिपछिको निर्णयको पुनरावलोकन गर्ने र मूल्याङ्कन गर्ने ।
viii) केही कमीकमजोरी देखिएमा संशोधन गर्ने र कार्यान्वयन गर्ने ।
4. ‘निर्णय निर्माण जटिल र व्यावहारिक काम हो ।’ यस भनाइलाई आफ्ना तर्कले पुष्टि गर्नुहोस् ।
उत्तर:– निर्णय गर्न हरेकसमय त्यति सजिलो हुदैँन । यसका लागि कति पटक सोच्नुपर्छ, छलफल गर्नुपर्छ, समाधानका लागि विकल्पहरुको खोजी गरी ठिक विकल्प पहिचान गरी निर्णय लिनु पर्छ । निर्णय गर्दा कागजमा टिपेर वा लेखेर मात्र पुग्दैन । यसका व्यवहारिक पक्षका बारेमा पनि ध्यान दिनुपर्छ ।
काम गर्दै जाँदा वा काम थाल्न लाग्दा समस्याहरु आउन सक्छन् । आर्थिक समस्या, पारिवारिक समस्या, कानुनी समस्या, वातावरण, समाज आदि हुन सक्छन् । यसका लागि ती समस्या किन भए, यसको मुख्य कारण के हो, आदिको बारेमा खोजी गर्नुपर्छ । यो काम व्यक्तिले व्यवहारिक रुपमा गर्नुपर्ने हो । यसका सैद्धान्तिक पक्ष पनि व्यक्तिले विश्लेषण गर्नुपर्छ । समस्यासँग सम्बन्धित पक्षहरु के के हुन, विष्लेषण गरी सोलाई निराकरण गर्न के के गर्नुपर्छ । घर परिवारसँग सोधपुछ, स्रोत र साधनको खोजी, सोको निराकरण गर्नका लागि सम्बन्धित अन्य पक्षहरु, विकल्पहरूको राम्रो तथा नराम्रो पक्षहरु, कुन विकल्पको सबैभन्दा कम नराम्रो प्रभाव रहेछ, सो विकल्प छनौट गर्दा के कति राम्रो प्रभाव पर्छ, कति लाभ हुन सक्छ, सो विकल्प रोज्दा तथा अन्य पक्षहरुसँग सरसल्लाह गर्नुपर्छ, सो विकल्प कार्यान्वयन गर्न केही अप्ठ्याराहरु आउन सक्छन्, आदि सबै सबै कुरा सोच्नुपर्छ । अनि मात्र निर्णय लिन सकिन्छ । यसैले निर्णय निर्माणलाई जटिल र व्यवहारिक काम भनिएको हो ।