अभ्यास
१. पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
उत्तर:– पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धति जुन निर्वाचन क्षेत्रमा निर्वाचन हुन्छ, सो क्षेत्रका मतदाताहरूले निर्वाचनका दिन मतदान केन्द्रमा गई निर्वाचनमा खडा भएका उम्मेदवारहरूमध्ये जुन उम्मेदवारलाई रोज्छन् , उनलाई आफ्नो मत दिन्छन् । निर्वाचन पछि मतपत्र गन्ती गरिन्छ । जुन उम्मेदवारले सो निर्वाचनमा सबभन्दा बढी मत प्राप्त गर्छ, सोही उम्मेदवारलाई निर्वाचनमा विजयी भएको घोषित गरिन्छ । यस्तो निर्वाचन पद्धतिमा निर्वाचनमा जुन उम्मेदवारले सबभन्दा बढी मत प्राप्त गर्छ, सोही उम्मेदवारले निर्वाचन जित्छ।
२. समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
उत्तर:– पहिलो निर्वाचित हुने प्रणालीमा सबभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुन्छ । तर सो निर्वाचनमा अन्य उम्मेदवारहरू पनि हुन्छन् । मतदाताहरूले अन्य उम्मेदवारहरूमध्ये रोजेर मत दिएका हुन्छ । सो मतको कुनै कदर हुँदैन । यसकारण अल्पसङ्ख्यक वर्गलाई पनि शासनमा सरिक गराउने अभिप्राय:ले यो समानुपातिक निर्वाचन पद्धतिलाई लागू गरिएको हो । यस निर्वाचन प्रणालीमा प्रतिनिधिसभाको निर्वाचनमा सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानिन्छ र प्रदेश सभाका लागि सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानिन्छ । यसमा मतदाताहरूले आफूले रुचाएको दललाई आफ्नो मत दिन्छन् । प्रत्येक दलले प्राप्त गरेको मत सङ्ख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरूमध्ये प्रतिनिधि निर्वाचित हुन्छन् ।
यस प्रणालीका केही विशेषताहरू:-
– यस प्रणालीमा अल्पसङ्ख्यकको उचित प्रतिनिधित्व हुन्छ ।
– यस प्रणालीमा लोकमतको उचित प्रतिनिधित्व हुन्छ ।
– यस प्रणालीमा एउटै दलको प्रभुत्व रहँदैन ।
– आफ्नो उम्मेदवारलाई प्राथमिकताको आधारमा छान्न पाइन्छ ।
– यस प्रणालीमा शासनमा सबै वर्गको प्रतिनिधित्व हुन्छ ।
– साधारण जनताले राजनीतिक शिक्षा प्राप्त गर्छन्।
३. पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
उत्तर:- समानता:
i) दुवै प्रणालीबाट प्रतिनिधि छान्ने काम हुन्छ ।
ii) दुवै प्रणालीमा मतदाताहरूले आफ्नो मत दिन्छन् ।
iii) दुवै प्रणालीमा निर्वाचन पद्धतिका अङ्ग हुन् ।
iv) दुवै प्रणालीमा राजनैतिक दलहरू सहभागी हुन्छन् ।
v) दुवै प्रणालीले मतदाताहरूमा राजनैतिक सचेतना वृद्धि गर्छ ।
भिन्नताः
i) पहिलो हुने निर्वाचन पद्धतिमा बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छ । तर समानुपातिकमा प्रत्येक दलले प्राप्त गरेको मतसङ्ख्याको अनुपातमा प्रतिनिधिहरू छानिन्छन् ।
ii) पहिलो हुने निर्वाचन पद्धतिमा राजनैतिक दलका उम्मेदवारलाई ध्यानमा राखी मतदाताहरूले मत खसाल्छन् । तर समानुपातिकमा राजनैतिक दललाई मत दिइन्छ । प्रतिनिधिको छनोट राजनैतिक दलहरूले गरेका हुन्छन्।
iii) पहिलो हुने निर्वाचन पद्धतिमा निर्दलीय उम्मेदवारहरू पनि सामेल हुन सक्छन् । तर समानुपातिक प्रणालीमा निर्दलीयको स्थान हुँदैन ।
iv) पहिलो हुने निर्वाचन पद्धतिमा प्रतिनिधि समय अगावै प्रतिनिधिहरू राजीनामा दिएमा वा अन्य कारणले स्थान रिक्त भएमा सो ठाउँमा निर्वाचन आयोगले उपचुनाव गराउँछ । समानुपातिकमा रिक्तस्थानका लागि उपचुनाव हुँदैन।
v) पहिलो हुने निर्वाचन पद्धति सरल पद्धति हो । यसमा मतदाताहरूले कुनै कठिनाइ अनुभव गर्दैनन् । आफूले रोजेको उम्मेदवारलाई मत दिन्छन् । समानुपातिक पद्धति जटिल प्रकृया हो । यसमा आफूले मत दिएको राजनैतिक दलबाट को प्रतिनिधिसभा जान्छ भन्ने जानकारी हुँदैन।
vi) पहिलो हुने निर्वाचन पद्धतिमा प्रतिनिधि र जनताबिच सिधा सम्पर्क हुन्छ । तर समानुपातिक प्रणालीमा जनता र प्रतिनिधिबिच सिधा सम्पर्क हुँदैन ।
४. प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
उत्तर:- नेपालबाट कतिपय नेपालीहरू कामको खोजीमा विदेश गएका छन् । विदेशमा नै आफ्नो व्यवसाय गरी जीवन धानेका छन् । विदेशमा नै आफ्नो व्यवसाय गरी जीवन धानेका छन् । कतिपय नेपालीहरूले राम्रै आर्जन पनि गर्दै आएका छन् । प्रवासमा रहेका यस्ता नेपालीहरूले नेपालको उन्नतिमा पनि लगानी गरिरहेका छन् । यसकारण नेपालको आर्थिक उन्नतिमा सहभागी गराउन निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न दिनुपर्छ भन्ने माग बढिरहेको छ । नेपालको समृद्धिमा सहयोग पुर्याउने यस्ता प्रवासीलाई पनि असल उम्मेदवार छान्न मत दिने अधिकार दिनु नराम्रो होइन । विदेशको अनुभवबाट यिनीहरूले नेपाली जनतालाई उम्मेदवार छान्दा सोच्नुपर्ने कुराहरू बारेमा सिकाउन सक्छन् । यसका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका बारेमा केही सुझावहरू-
i) प्रवासी नेपालीहरूलाई प्रतिनिधिसभा वा प्रदेश सभा वा स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सकिन्छ । तर सो सहभागिता निजले गरेको उद्यम भएको स्थानमा मात्र दिइनुपर्छ ।
ii) प्रवासी नेपालीलाई राजनैतिक अधिकारको रूपमा निर्वाचनमा उम्मेदवारी दिन निषेध गरिनुपर्छ ।
iii) प्रवासी नेपालीलाई राजनैतिक गतिविधिमा सहभागी हुन अधिकार दिइनु हुँदैन ।
iv) सामाजिक र आर्थिक गतिविधिमा सहभागी गराउन निर्वाचनमा देशको आर्थिक तथा सामाजिक निकासमा सहयोग गर्न सक्ने उम्मेदवार छान्नका लागि मताधिकार प्रयोग गर्न दिनुपर्छ ।
v) प्रवासी नेपालीलाई सशर्त मताधिकार प्रयोग गर्न दिनुपर्छ ।
थप प्रश्नहरू
१. निर्वाचन भनेको के हो ?
उत्तर:- आफूले चाहेको व्यक्तिलाई उम्मेदवारहरूमध्ये छान्ने प्रकृयालाई निर्वाचन भनिन्छ । निर्वाचनलाई चुनाव भनिन्छ ।
२. आमनिर्वाचन भनेको के हो ?
उत्तर:- देशका आम मतदाताहरूले निर्वाचन प्रकृयामा मतदान गर्न पाउने प्रकृयालाई आमनिर्वाचन भनिन्छ । जस्तैः प्रतिनिधिसभाको निर्वाचन, प्रदेशसभाको निर्वाचन आदि ।
३. मतदाता भनेको के हो ?
उत्तर:- १८ वर्ष उमेर पुगेका पुरुष वा महिला नागरिकले निर्वाचनमा मत दिने अधिकार भएका व्यक्तिलाई मतदाता भनिन्छ
४. पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।
उत्तर:- प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारको सङ्ख्या तोकिएको हुन्छ । प्रायः एउटा निर्वाचन क्षेत्रमा एक व्यक्ति निर्वाचित हुने प्रावधान रहन्छ । कुनै बेला दुईजना पनि रहन सक्छन् । यस्तो निर्वाचन क्षेत्रमा विभिन्न राजनैतिक दलहरूले आफ्नो उम्मेदवार खडा गर्छन् । निर्दलीय पनि उम्मेदवार बन्न सक्छन् । यस्तो निर्वाचनमा खसेको मतमा सबभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी घोषित गरिन्छ । यस्तो निर्वाचनलाई. प्रत्यक्ष वा बहुमतीय निर्वाचन पद्धति पनि भन्ने गरिन्छ । प्रतिनिधिसभाका लागि नगरपालिका/गा लिका प्रमुख, उपप्रमुखको निर्वाचनमा यस्तो पद्धति प्रयोग गरिन्छ ।
५. समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।
उत्तर:- प्रत्यक्ष निर्वाचनमा बहुमतको कदर हुन्छ । अल्पमतको कदर हुँदैन । निर्वाचनमा मतदाताहरूले आ-आफ्नो रुचिअनुसारको उम्मेदवारलाई मत दिन्छन् । सबभन्दा बढी मत ल्याउनेले जित्छ। अरूहरूको हार हुन्छ । अन्य उम्मेदवारहरूलाई पनि मत दिइन्छ । ती मतहरूको पनि कदर हुनुपर्छ भनी समानुपातिक प्रणाली ल्याइएको हो । यो निर्वाचन पद्धतिमा मतदाताहरूले आफूले रोजेको दललाई मत दिन्छन् । प्रत्येक राजनैतिक दलले आफ्नो दलबाट हुने उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा दिएका हुन्छन् । निर्वाचनमा प्रत्येक दलले ल्याएको मतको अनुपातमा उम्मेदवारहरूको चयन हुन्छ । यस्तो सूचीहरू बन्द, खुल्ला वा स्वतन्त्र कुनै पनि हुनसक्छ । नेपालमा बन्द सूचीको प्रयोग गरिएको छ यो निर्वाचन पद्धतिमा प्रत्यक्ष निर्वाचनमा कुनै राजनैतिक दलबाट उम्मेदवारले जीत हासिल नगरेपनि मतको अनुपातमा समावेशीमा उम्मेदवारको चयन हुनसक्छ ।
६. नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
उत्तर:- नेपालमा निर्वाचनमा कतिपय मतपत्र बदर भएको सुनिन्छ । नेपालमा शिक्षित प्रतिशत कम छ । शिक्षाको कमीले गर्दा राजनैतिक चेतनाको पनि कमी छ । यसकारण निर्वाचनमा मतपत्र बदर हुन्छन् । यसका केही कारणहरू निम्न हुन सक्छन्-
– मतपत्रमा उम्मेदवारको नाम अङ्कित कोठाको घेरा बाहिर छाप लाएमा,
– मतपत्रमा उम्मेदवारको कोठाको धर्का छोएमा,
– मतपत्रमा उम्मेदवारको अगाडि छापको सट्टा बुढी औंलाको छाप लाएमा,
– मतपत्रको दुई उम्मेदवारको कोठाको बिचमा छाप लाएमा,
– मतपत्रको दुई उम्मेदवारको कोठाको बिचमा छाप लाएमा,
– मतपत्रमा लगाएको छाप अस्पष्ट भए, वा मसी पोतिएमा,
– मतपत्रमा मतदान अधिकृतको सही नभएको भएमा,
– मतपत्रमा स्वस्तिक बाहेक अन्य छाप लाएमा,
यसलाई नियन्त्रण गर्न निम्न उपायहरू गर्नुपर्ला:-
– जनतालाई शिक्षित तुल्याउनु पर्छ । शिक्षित व्यक्तिले कसरी छाप लगाउनुपर्छ भन्ने जानकारी हुन्छ ।
– कम पढेलेखेका ठाउँमा नक्कली चुनाव गराई छाप लगाउने तरिका सिकाउन सकिन्छ ।
– चुनाव हुनुभन्दा अगाडि पर्चा, पोष्टर, टि.भी., अखबारमार्फत् मतदाताहरूलाई मतदान गर्न सिकाउनु पर्छ ।
– राजनैतिक दलका कार्यकर्ताहरूले यसबारेमा सचेतना वृद्धि गर्न सक्छ ।
७. राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?
उत्तर:- राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि निर्वाचन आयोगबाट गरिन्छ । संघीय संसदका सांसदहरू र प्रदेश सभाका सांसदहरूले मात्र यस निर्वाचनमा भाग लिन पाउँछन् । निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले खसेको सदर मतको पचास प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छ । प्रथम पटकको निर्वाचन आवश्यक मत प्राप्त नभए पुनः निर्वाचन गराइन्छ ।