अभ्यास
१. धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस् ।
उत्तर:- नेपालमा आर्थिक विकासका लागि कतिपय योजनाहरू बनेपनि चाहेको जस्तो विकास हुन सकेको छैन । यसका कारण निम्न हुन सक्छन्:
(क) योजना कार्यान्वयन:- नेपालमा आर्थिक विकासका लागि योजनाहरू बन्छन् । तर सो योजनाहरूको कार्यान्वयन पक्ष कमजोर रहन्छ । कतिपय योजना बिचमै छोडिन्छन् । कति अलपत्र पर्छन् । कतिलाई पूरा गर्न वर्षा लाग्छ ।
(ख) उद्योग:- देशमा कतिपय उद्योगहरू सञ्चालित छन् । तर सो उद्योगहरूले सञ्चालनमा निरन्तरता पाइरहेका छैनन् । कतिपय उद्योग बन्द भइसकेका छन् । कतिपयको स्थिति राम्रो छैन । उद्योगहरूलाई सरकारी संरक्षण प्राप्त छैन ।
(ग) भूपरिवेष्ठित:- नेपाल भूपरिवेष्ठित मुलुक हो । यसकारण समुद्र पारीको देशहरूसँग सिधा व्यापार गर्ने सुविधा छैन । समुद्र पारीका देशहरूसँग व्यापारका लागि भारतमाथि निर्भर रहनुपर्छ ।
(घ) प्राकृतिक रूपमा:- देशमा उपलब्ध स्रोत र साधनको समुचित उपयोग हुन सकेको छैन । यसले गर्दा रोजगारीका अवसर सृजना हुन सकेको छैन । देशको युवा जनशक्ति विदेशी रोजगारीमा जानु परेको छ । बेरोजगारी बढी रहेको छ ।
(ङ) विप्रेषण:- विदेशी रोजगारीबाट प्राप्त विप्रेषणको रकम उत्पादनमूलक कार्यमा उपयोग हुन सकेकी छैन । विदेशी रोजगारीबाट प्राप्त रकम विलासी वस्तुको खरिद तथा अचल सम्पत्तिमा लगानी हने गरेकोले यसबाट आर्थिक विकासमा टेवा मिलेको छैन ।
(च) व्यापार घाटा:- देशले ठूलो व्यापार घाटा व्यहोरीरहेको छ । यसबाट देशको पैसा विदेशतिर गइरहेको छ । देशमा अत्यावश्यक वस्तुहरूको उत्पादनले देशको माग पूरा गर्न सकेको छैन । देशमा उत्पादित वस्तुले विदेशी वस्तुको प्रतिस्पर्धा गर्न सकेका छैनन् । यसकारण देशमा उत्पादित वस्तुले विदेशी बजार पाउन सकेका छैनन्।
(छ) नीति परिवर्तन:- प्राय: कुनै पनि सरकारले आफ्नो पूरा अवधि काम गर्न सकेको छैन । सरकार फेरिएसँगै नीति परिवर्तन हुन्छ । बारम्वारको चुनावले ठूलो धनराशि खर्च गराउँछ । यसबाट आर्थिक योजना प्रभावित हुन्छन् ।
२. नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस् ।
उत्तर:-
देशको अर्थतन्त्रको सबल पक्षः
(क) जलस्रोत:- नेपालको जलस्रोतलाई, अर्थतन्त्रको सवल पक्षमा मानिन्छ । नेपालमा हिमालबाट बग्ने प्रशस्त नदीनालाहरू छन् । यी नदीहरूबाट करिब ४२००० मेगावाट आर्थिक रूपमा विद्युत् उत्पादन गर्न सकिन्छ । यति धेरै जलविद्युत उत्पादन क्षमता भएपनि हामीले १०८३ मेगावाट मात्र उत्पादन गरेका छौ । विदेशी लगानीको सुरक्षित वातावरण बनाउन सकेमा ठूला आयोजनाहरू सम्पन्न गर्न सकिन्छन् । जल विद्युत् आयोजनामा निजी क्षेत्रलाई सहकार्य गर्ने प्रेरित गर्नुपर्छ । हामीले बढी जलविद्युत छिमेकी देशमा निर्यात गर्न सकेमा ठूलो धनराशि प्राप्त गर्न सकिन्छ । देशको उद्योगका लागि पनि समुचित विद्युत आपूर्ति भइरहन्छ । तराईको उर्वर भूमिमा सिँचाइको बन्दोवस्त गर्न सकेमा कृषि उत्पादन पनि वृद्धि हुनसक्छ । यसबाट पनि परनिर्भरता घट्छ ।
(ख) पर्यटन:- नेपाल धार्मिक, सांस्कृतिक, ऐतिहासिक, तथा पुरातात्विक वस्तुहरूले भरिएको छ । यस्ता पुरातात्विक, धार्मिक तथा ऐतिहासिक स्थानहरूको अवलोकन गर्न विदेशी पर्यटकहरू आउने गरेका छन् । पहाडको सुन्दर प्राकृतिक दृश्य हेर्न पनि पर्यटकहरू आउँछन् । यसकारण पहाडी क्षेत्रमा पदयात्रालाई प्रोत्साहन दिने र सहज पैदल मार्गको बासस्थानको व्यवस्था मिलाउन सकेमा पर्यटकहरू वृद्धि गर्न सकिन्छ । त्यस्तै साहसिक पर्यटनका लागि पनि विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ । हिन्दू तथा बौद्ध धार्मिक स्थानहरूको अवलोकनका लागि पनि तीर्थ यात्रीहरूको गन्तव्य स्थान बनाउन सकिन्छ । यसबाट रोजगारी सिर्जनाको हुनाको साथै राष्ट्रिय आयवृद्धि हुन सक्छ ।
(ग) मानव संसाधन:- देशमा सक्रिय जनसङ्ख्याको मात्रा ठूलो छ । यसलाई उपयोग गर्न सक्नुपर्छ । प्राविधिक शिक्षामा जोड, कृषिको आधुनिकीकरण, उद्योगको विस्तार, सेवाक्षेत्रको विस्तार, पर्यटन क्षेत्रको विकास र विस्तार गर्नुपर्छ । देशमा उपलब्ध जनशक्तिलाई शिक्षा, व्यवसायिक तालिम, पूँजी, उद्यमशीलताको विकास गरी स्वदेशमा बस्ने वातावरण सिर्जना गर्नुपर्छ ।
कमजोर पक्षः
(क) उद्योग:- देशका अधिकांश उद्योग कृषिमा आधारित छन् । कृषि पनि निर्वाहमुखी छ । साथै देशमा उन्नत बिउ बिजन, मलखाद, सिँचाइ आदिको राम्रो व्यवस्था छैन । देशमा औद्योगिक खनिजको कमी छ । भएका खनिजहरूको उत्खनन भएको छैन । खनिज प्रयोग गर्ने उद्योगको कमी छ । देशमा पूँजीको अभाव, संरक्षण नीतिको अभाव आदिले गर्दा उद्योगका विकास कम मात्रामा भएको छ ।
(ख) कृषि:- कृषिको पनि हालको अवस्था राम्रो छैन । देशको अधिकांश भाग पहाडले भरिएको छ । देशको कूल भूमिको १८% मात्र कृषियोग्य छ । कृषि पनि निर्वाहमुखी छ ।
नेपालको अर्थतन्त्र सुदृढ गर्ने उपायहरूः
(क) कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्ने,
(ख) कृषिवाट निर्यातयोग्य बालीहरूको गुणस्तरीय उत्पादन तथा प्रशोधनका लागि योजना बनाई कार्यान्वयन गर्ने। निजी क्षेत्रलाई यसका लागि प्रेरित गर्ने ।
(ग) कृषि उत्पादन वृद्धि गरी कृषिमा आधारित उद्योगहरूलाई संरक्षण गर्दै जाने । यसबाट देशमा देशकै उत्पादन उपयोग हुन्छ र आयात घट्छ ।
(घ) पर्यटन उद्योगलाई विकास गर्न योजना बनाउने । देशका पुरातात्त्विक तथा ऐतिहासिक स्थलहरूको बारेमा प्रचार प्रसार गर्ने । साहसिक पर्यटन विकासका लागि कार्य योजना बनाउने । काठमाडौं उपत्यका बाहिर पनि उत्तम आवास सुविधाहरू वृद्धि गर्ने ।
(ङ) सडक मार्गलाई स्तरोन्नति गरी सालैमा सवारी चल्न योग्य बनाउने, मरम्मत सम्भारको व्यवस्था गर्ने।
(च) जलविद्युत उत्पादनका लागि विदेशी लगानी आकर्षित गर्ने, सुरक्षित वातावरण तयार गर्ने, बढी उत्पादन निर्यात गर्न आवश्यक व्यवस्था गर्ने ।
(छ) प्राविधिक शिक्षा तथा व्यवसायिक सिप आदिमा दक्षता हासिल गर्न तालिम केन्द्र वा शिक्षालयको स्थापना गर्ने ।
(ज) निर्यात प्रवर्द्धन गर्न व्यापार विविधीकरण, बाली विविधीकरण आदिको योजना बनाई कार्यान्वयन गर्ने ।
(झ) घरेलु तथा साना उद्योगलाई प्रोत्साहित गरी रोजगारी सिर्जना गर्ने l
थप प्रश्नहरू
१. नेपालको अर्थतन्त्रका आधारहरूको छोटो वर्णन गर्नुहोस्
उत्तर:- नेपालमा विभिन्न प्रकारको हावापानी, वनस्पति र धारातलीय स्वरूप पाइन्छ । यहाँ सालैभर विभिन्न प्रकारका बालीनालीहरू उत्पादन हुन्छ । पर्यटनको पनि यहाँ ठूलो सम्भावना छ । नेपालको अर्थतन्त्रका केही प्रमुख आधारहरू यी हुन् :
(क) कृषि:- नेपाल कृषि प्रधान देश हो । कृषिबाट खाद्यान्न आपूर्ति हुन्छ । कृषिले उद्योगलाई कोरा माल दिन्छ । कृषिले रोजगारी दिएको छ । नेपालको ग्रार्हस्थ उत्पादनको २७.६% योगदान कृषिबाट नै भएको छ । तर कृषि निर्वाहमुखी छ । हाल कृषिलाई आधुनिकीकरण गर्ने क्रम बढेको छ । कृषिलाई व्यवसायीकरण गरी, उन्नत मलबिउको प्रयोग, आधुनिक कृषि उपकरणको उपयोग गरी कृषि कार्यलाई उचित प्रोत्साहन दिएमा कृषिमा आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ ।
(ख) उद्योग:- नेपालका उद्योगको विशेष विकास नभए पनि यस्को स्थान महत्त्वपूर्ण छ । उद्योगले दैनिक आवश्यकता पूरा गरेको छ । मझौला तथा ठूला उद्योगहरूको स्थापनाको क्रम बढ्दो छ । उद्योगले कैयौ युवालाई रोजगार दिएको छ। औद्योगिक उत्पादन बढाई औद्योगिक उत्पादन निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । हाल ऊर्जामूलक उद्योग, सिमेन्ट उद्योग र निर्माण उद्योगतर्फ लगानी बढेको देखिन्छ ।
(ग) पर्यटन:- नेपालमा विविध प्रकारको हावापानी, प्राकृतिक सुन्दरता, साहसिक पर्यटन, धार्मिक स्थान, ऐतिहासिक तथा पुरातात्विक स्थानहरू प्रशस्त भएकाले पर्यटन उद्योगको विकासको सम्भावना बढी छ । नेपालमा वार्षिक २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको छ । हाल पर्यटनले पनि सैकडौं युवालाई रोजगार दिएको छ । यहाँका पुरातात्विक महत्त्वका स्थानहरू, कलाकृति, सांस्कृतिक विविधता तथा प्राकृतिक सुन्दरताको विदेशमा प्रचारप्रसार गर्न सके पर्यटन उद्योगको विकासमा टेवा पुग्ला ।
(घ) जलस्रोत:- नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार जलस्रोत हो । नेपालमा हिमालबाट बगेर आउने नदीहरू धेरै छन् । यी नदीहरूबाट करिब ४२००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । हालसम्म करिब १०८३ मेगावाट मात्र विद्युत् उत्पादन गरिएको छ । नेपालमा जलविद्युतको उत्पादन गर्न सके छिमेकी मुलुकहरूमा निर्यात गरी आय आर्जन गर्न सकिन्छ । नेपालका नदीहरूको पानी तराईका उर्वरभूमि सिंचाइ गरी खाद्यबाली तथा नगदे बालीको उत्पादन बढाउन सकिन्छ ।
(ङ) मानव संसाधन:- देशको संसाधनको उपयोग मानव संसाधनबाट हुन्छ । नेपालका सक्रिय जनसङ्ख्या बढी भएकोले यसको समुचित उपयोग गर्न सके देशको विकास छिट्टै हुन सक्छ । देशले उपलब्ध • मानव संसाधनको सदुपयोग गर्न राज्यले स्वदेशभित्र नै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । यसका लागि प्राविधिक शिक्षामा जोड़, कृषिको आधुनिकीकरण, उद्योगको विस्तार, सेवा क्षेत्रको विस्तार तथा पर्यटनको विस्तार गर्नुपर्छ । देशमा उपलब्ध जनशक्तिलाई शिक्षा, व्यवसायिक सिप, पूँजी र उद्यमशीलताको माध्यमबाट देशमै सक्रिय बनाउने वातावरण बनाउनुपर्छ ।
२. नेपालको अर्थतन्त्रका विशेषताहरूको छोटो वर्णन गर्नुहोस् ।
उत्तर:- विश्वका कतिपय हामी जस्ता मुलुकहरू विकासतिर लम्किरहेका छन् । हामीले आर्थिक विकासका लागि सोच्नुपर्छ । नेपालको अर्थतन्त्रका विशेषताहरू निम्नलिखित रहेका छन्:
(क) निर्वाहमुखी कृषि:- देशको ठूलो जनसङ्ख्या कृषि र पशुपालनमा निर्भर छ। तर परम्परागत सोच र निर्वाहमुखी कृषि प्रणाली भएकोले कृषि उत्पादन कम छ ।
(ख) औद्योगिककरण:- नेपालमा उद्योगहरूको विकास सुस्त गतिमा छ । धेरैजसो उद्योग कृषिमा आधारित छन् ।
(ग) न्यून आय र जीवनस्तर:- बेरोजगार र आंशिक रोजगारको कारण मानिसहरूको आय कम भएकोले निम्न जीवनस्तर रहेको छ ।
(घ) पूँजी र स्रोतसाधनको अभाव:- पूँजीको अभावले लगानी वृद्धि हुन सकेको छैन । कतिपय युवा जनशक्तिहरू रोजगारीको सिलसिलामा विदेश गएका छन्। खनिज, जलसोत, माटो, खनिज, सौर्य ऊर्जा आदिको उपयोग कम भएको छ ।
(ङ) आयातमुखी अर्थतन्त्र:- निर्यातभन्दा आयात बढी भएकोले व्यापारघाटा वृद्धि हुँदै गएको छ । परनिर्भरता बढेको छ ।
(च) आयमा असमानता:- नेपालमा २१% जनता गरिबीको रेखामुखी छन् । सीमित मानिसहरू मात्र धेरै आयआर्जन गर्नेमा पर्दछन् । आयमा धेरै असमानता देखिन्छ ।