Skip links

दलित सवाल

अभ्यास

1.  दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।

उत्तर:                                                         कथा

पीपलभिरे गाउँमा जातजातका मानिसहरू टोल टोल बनाई बसेका थिए । माथिल्लो टोलमा क्षेत्री बाहुन, नेवार बस्थे । कोही पसल गर्थे । कोही जागिर र कोही खेती गर्थे । तल्लो टोलमा दलितहरू बसेका थिए । यहाँ दमाइ, विश्वकर्मा, धोवी आदि थिए । तल्ला टोलका कुँवामा माथिल्लो टोलका मानिस पानी लिन आउँदैन्थे माथिल्लो टोलको कुँवामा तल्ला टोलकालाई जान मनाही थियो । कहिलेकाहिं गर्मीमा कुँवामा पानी नहुँदा दलितहरूलाई पानी लिन अर्को गाउँ जानुपर्थ्यो । गाउँको विद्यालयमा पनि दलितका बालबालिकालाई पढ्न । दिइदैन्थ्यो।

समय बित्दै गयो । माथिल्लो टोलका धनप्रसाद बाजे मधेश पुगेर आउनुभयो । राति ज्वरो आएछ । खोक्न थाल्नु भयो ।  स्वाँ स्वाँ गर्न लाग्नुभयो । बुढो जीउलाई सकस पार्यो । गाउँका डाक्टर कहाँ पुर्याएछन् । डाक्टरले यो सरुवा रोग हो। अरूलाई पनि सर्न सक्छ टाढै रहनु भन्नुभयो । बाजे त तेस्रो दिन वित्नुभयो । टोलका मानिसहरू विरामी सर्ला भनेर कोही आएनन् । दलित टोलकाले सुनेछन् । यस्तो आपद विपदमा पनि डर मानेर हुन्छ । मर्ने ज्यान कुनै दिन त जान्छ जान्छ । हर्कै मिजारले भन्यो- ल भाइ हो । बाजेलाई हामी चाहिएको छ । जाऔं, उहाँको अन्तिम संस्कारमा मद्दत गरौं । सबै टोलेहरू गएर बाजेका पार्थिव शरीर मसानघाट पुर्याई दाहसंस्कार गरिदिए अनि घर फर्के।

अस्तिको महिना चन्द्रप्रसाद लप्टन विरामी परेछन् । काठमाडौमा देखाउँदा त किड्नी फेल भएछ । किड्नी फेर्नुपर्छ भनेर डाक्टरले सल्लाह दिएछन् । लप्टन साहबले आफन्तहरूलाई भने । पैसा दिन्छु पनि भने । कोही आएनन् । किड्नी दिएर आफू मरियो भने पैसा के गर्नु नि । हुनलाई त होनि । तर मद्दत पनि गर्नुपर्छ । बिर्खे दमाइको छोरा अस्ति पल्टनबाट विदा भएर आएको थियो । उसले भन्यो- बुबा, लप्टन काकालाई म एउटा किड्नी दिन्छु । एउटाले पनि मेरो जीवन चल्छ । उनी त बाँच्छन् । विचराले काठमाडौं भएर लप्टनलाई किड्नी दिएछन् ।

अस्तिको कुरा हो, रामप्रसाद बाजेकी श्रीमती सिकिस्त बिरामी भएर विराटनगर पुर्याए । उहाँको त अप्रेसन गर्नुपर्छ, रगत चाहिन्छ भनेछन् । बाजेका सन्तानको रगत नमिल्ने भएपछि डिल्ली विश्वकर्मा, सुशील दर्नाल र जीवे दमाइको रगत मिलेछ र उनीहरूकै रगत लिएर डाक्टर साहबले अप्रेसन गर्नुभयो र बज्यैलाई बचाउनु भयो । आज त बज्यैले भन्नुभयो- तिनीहरूले ठूलो उपकार गर्यौ बाबु हो । तिमीहरू धन्यका हौँ।

हिजो गाउमा संसारी माइको पूजा थियो । संसारी माइको पूजा थियो । संसारी माइको पूजा गर्न काशीबाट पण्डित आएका थिए । पूजामा एकातिर माथिल्लो टोलका र अर्कातिर तल्लो टोलका मानिसहरू थिए । पूजा सकियो । प्रसाद बाँड्दा पण्डितजीले फरक फरक बसेको देख्नु भयो र कृष्ण बाजेलाई सोध्नुभयो- बाजे, किन तपाईहरू फरक फरक बस्नु भएको ? बाजेले भन्नुभयो- उनीहरू दलित हुन् । छोयो भने जात जान्छ । काशीका पण्डितले सबैलाई सुन्नुगरी भन्नुभयो- हेर भाइबहिनी हो । यो जात मानिसले बनाएका हो, भगवानले होइन । सानो जात ठूलो जात हुँदैन । अस्ति बज्यैलाई रगत दिंदा जात गयो कि ज्यान आयो ? सोच्नुहोस् । लप्टेनले किड्नी पाउँदा ज्यान बाँच्यो कि जात गयो। धनप्रसाद बाजेको सद्गत गर्न कोही नभएर दलितहरूले सद्गत गरे । सोच्नुहोस् त मिलेर बस्दा, आपदविपदमा सहयोग गर्दा, सबैको साथ चाहिन्छ । विश्वमा अन्य ठाउँमा जानुहोस् त त्यहाँ कहाँ जात छ । गोराको मुलुकमा जात छ ? तालिम लिएर पढेर चर्चमा पादरी बन्छन् । योग्यता भए जो कोही पनि डाक्टर, प्राविधिक बन्न सक्छन् । ल आजबाट तपाईंहरूले यो फरक यही बिर्सेर जानुहोस् । सबै मानिस समान हुन् । कामको सम्मान गर्नुहोस् । जातले कोही सानो ठूलो हुँदैन । कर्मले सानो ठूलो हुने हो । पढ्न सबैले पाउनुपर्छ, हो कि होइन भाइ हो ?

सबैले भने- हो हो । ल आजबाट हामी पनि सबै मिलेर बस्ने छौ । सानो जात ठूलो जात भनेर भन्दैनाँ । यति भनी सबै गाउँले आ-आफ्नो घरतिर लागे । पण्डितजी पनि झर्नु भयो।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला भन्ने बेलामा तात्तात्तै आइजाला ।

2.   दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।

उत्तर:- दलित जातिका धेरै समस्याहरू छन् । तीमध्ये मुख्य रूपमा यी हुन् :

(क) आर्थिक क्षेत्रमा भूमिहीनता, बेरोजगारी र परम्परागत पेसा एवम् वालीघरे प्रथा रहनु:- दलित जातिमा अधिकांशको आफ्नो जग्गा छैन । अर्काको जग्गामा बसी जग्गाधनी तथा अरू कहाँ काम गर्छन् । दलित जातिका युवाहरूले पुर्खाली पेसामा लागेका बाहेक अरूहरू बेरोजगार छन् । गाउँघरमा ठूलावडाको घरमा काम सघाइदिए वापत एकमुष्ट एक वर्षमा वाली पाउँछन् । यसलाई वालीघरे प्रथा भनिन्छ । जस्तै: कामीले फलामका सामान मरम्मत गरिदिए वापत, हजामले केश काटी दिएवापत आदि। यस्ता काम जुन घरको गरिन्छ, सो घरबाट वर्षमा एकचोटी एकमुष्ट अन्न पाउँछन् । घरपट्टिले जे दिए पनि उनीहरूको खुसी नत्र अरू चिज माग्न पाउँदैनन् । यस्तो अन्न वर्षमा २/४ पाथी हुन सक्छ ।

(ख) राजनैतिक एवम् प्रशासनिक क्षेत्रका नीति निर्माण र नीति कार्यान्वयन गर्ने निकायमा समानुपातिक र सार्थक उपस्थितिको व्यवस्था नहुनु :- सरकारी सेवामा वा निर्वाचनमा उम्मेदवार वा संवैधानिक आयोगका पदाधिकारी, मन्त्रीहरू, राजपूतहरू, सचिवहरू आदि उच्च पदमा जहाँ नीति बनाइन्छ र कार्यान्वयन गराइन्छ, त्यस्ता पदमा दलितहरूको सङ्ख्या धेरै कम छ । त्यसका लागि कानुनी रूपमा सहभागिताको व्यवस्था छैन ।

(ग)  छुवाछुत तथा भेदभाव हुनु, शिक्षामा पहुँच नहुनु, सामाजिक अपमान र सामाजिक अन्याय कायम रहनु:- समाजमा हालसम्म छुवाछुत र जातीय भेदभावको मानसिकता छ । बहुसङ्ख्यक दलित गरिब भएकाले आफ्ना बालबालिकालाई पढाउन खर्च जोहो गर्न सक्दैनन् । समाजमा ठूला जातका मानिसले छोइन्छ कि भनेर टाढैबाट हिड्छन् । दलितका हातबाट पानी लिन मान्दैनन् । सामाजिक गतिविधिमा सँगै बस्न अनकनाउँछन् । गाउघरमा त दलितहरूलाई होच्याएर बोलाइन्छ ।

(घ) व्यक्तिगत स्वतन्त्रता र क्षमताको उपयोग गर्नबाट वञ्चित हुने अवस्था हुनु:- योग्य भएपनि दलितलाई अगाडि बढ्ने अवसर दिइँदैन । दलित अगाडि बढेमा ठूला जातिले मौका पाउँदैनन् भन्ने विचार ठूलावडामा भएको देखिन्छ ।

दलित समस्याका समाधानका उपायहरू:

दलित समस्याका समाधानका लागि केही उपायहरू निम्न हुन् सक्छन् :

(i)   दलित जातिका बालबालिकाहरूलाई विद्यालयमा अध्ययन गर्न सहज पहुँच बनाउनु पर्छ ।

(ii)   योग्य तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ ।

(iii)  प्रत्येक राजनैतिक दलले निर्वाचनमा दलित जातिका उम्मेदवारलाई पनि स्थान दिनुपर्छ ।

(iv)   प्रत्येक राजनैतिक दलहरूबाट मनोनित हुने सदस्यहरूमा दलित जातिको पनि सहभागिता गराउनु पर्छ ।

(v)   संवैधानिक निकायहरूमा पनि दलित जातिबाट सार्थक उपस्थिति गराइनु पर्छ ।

(vi)   दलित जातिका महिलाहरूको समूह बनाई समूहमा बचत गर्ने प्रवृत्ति विकसित गराउन महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना गर्न सहयोग गर्नुपर्छ । यस्ता संस्थामा बचत जम्मा गर्ने तथा बचतमाथि केही व्याज दिने व्यवस्था गर्ने । जम्मा भएको बचतलाई दलित उद्यमी महिलालाई १० महिलाको जमानिमा थोरै ब्याजका दरले ऋण उपलब्ध गराई आत्मनिर्भर बन्न सहयोग गर्नुपर्छ ।

(vii)   दलित युवालाई रुचिअनुसारको कामको तालिम प्रदान गरी स्वरोजगारका लागि प्रेरित गर्ने वा देशैभरीका

दलित संघसंस्थामार्फत् विभिन्न उद्योगहरूमा रोजगारीका लागि सहयोग गर्ने ।

(viii)   दलितप्रति अपमानजनक व्यवहार भएमा पीडितले उजुरी गर्दा तत्काल कार्वाही गर्ने व्यवस्था गर्ने ।

(ix)  ‌ राज्यबाट तथा स्थानीय सरकारबाट दलितहरूलाई आत्मनिर्भर बन्नमा नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्छ ।

(x)   दलितका परम्परागत पेसालाई तालिम तथा सरल ब्याजमा ऋण प्रवाह गरी आधुनिकीकरण  गर्न सहयोगगर्नुपर्छ ।

(xi)   अति विपन्न दलित परिवारलाई राज्यबाट वा कल्याणकारी संस्थाहरूबाट आवास सुविधा प्रदान गर्नुपर्छ ।

.     ‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

 उत्तर:  प्राचीन समयमा जातीय व्यवस्था निर्माण गर्दा ब्राम्हण, क्षेत्रीय, वैश्य र शुद्र गरी चार वर्णको व्यवस्था गरियो । शुद्र वर्णलाई अरूको सेवा गर्ने काम जिम्मा दिइयो । समाजका टाठाबाठाहरूले अरूको सेवा गर्ने श्रमजीविहरूको श्रम शोषण गरेर उनीहरूसँग भेदभावको व्यवहार गरिन थालियो । यसलाई धर्मसँग जोडी कानुनहरू पनि बनाइए। समाजमा यिनीहरूलाई दलित भनियो । यसैले दलित भनेको सामाजिक विभेदको परिणाम हो । वास्तवमा जातका आधारमा ठूला साना हुँदैनन् । असल कामका आधारमा, योग्यता, क्षमता तथा सकारात्मक सोचले गर्दा मानिसको व्यवहारलाई ठूलो सानो भन्न सकिन्छ । तर सानिस मानिसमा सानो ठूलो कोही हुँदैन । यस्तो व्यवहार मानवोचित तथा न्यायोचित हुँदैन । यस्ता विभेदले मानिस मानिसबिच मनोमालिन्य (झगडा) बढाउँछ । आपसी द्वेष, डाहा र घृणा सृजना गर्छ । जुन व्यवहारले समाजमा एकता तथा शान्तिमा बाधा पुर्याउँछ, त्यस्ता व्यवहारलाई दण्डित गरी निषेध गर्नुपर्छ । यसकारण सामाजिक विभेद र छुवाछुतको व्यवहार दण्डनीय हो ।