अभ्यास
१. तल दिइएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
(क) माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
उत्तर:– माथिको घटनामा तनाव सिर्जना गर्ने कारणहरु निम्नलिखित छन् :
i) कक्षा ११ को परिक्षामा राम्रो नतिजा ल्याउने,
ii) सहरको खर्चिलो बसाइ खर्च जुटाउने समस्या,
iii) वृद्ध बाआमाको जिम्मामा सानो भाइलाई राखेर आउनु,
iv) बाआमा पालैपालो विरामी पर्नु,
v) पढाइमा ध्यान केन्द्रित गर्न नसक्नु,
vi) मनमा नकरात्मक विचार उत्पन्न हुनु ।
(ख) तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?
उत्तर:– तनावले गर्दा ज्ञानहरिले अध्ययनमा ध्यान केन्द्रित गर्न सकेको छैन । यसबाट परीक्षामा राम्रो नतिजा आउनमा शङ्का उत्पन्न भएको छ । खाना खान मन लाग्न छोडेको छ । उसलाई राती राम्ररी निद्रा लाग्दैन । उनका मनमा नकरात्मक विचारहरु आउन थालेको छ तथा ऊ निराश हुन थालेको छ ।
(ग) तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदा के के हुन् ?
उत्तर:- तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदा निम्नलिखित छन् l
i) शरीर फुर्तिलो हुने,
ii) मनमा एकाग्रत बढ्ने,
iii) तनावका कारक तत्त्व पहिचान गर्न मद्दत मिल्ने,
iv) मनमा नकरात्मक सोच घटी सकरात्मक सोच बढ्ने,
v) तनावका कारकतत्त्व निराकरण गर्ने उपाय सोच्न मद्दत मिल्ने,
vi) काममा मन लाग्ने,
vii) शरीरले ऊर्जा प्राप्त गरेको अनुभव हुने,
viii) काम गर्दा थकाइ अनुभव नहुने,
ix) अरुलाई सकारात्मक सोच राख्न प्रेरणा दिन सकिने ।
(घ) ‘तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरु वास्तवमा सकरात्मक छन् ।‘
उत्तर:– ज्ञानहरिले तनाव व्यवस्थापनका लागि अपनाएका रणनीतिहरु सकारात्मक छन् । यसबाट ज्ञानहरिको चिन्ता घटेको छ । ज्ञानहरिले अपनाएका रणनीतिहरु यसप्रकार छन् :
i) पठन तालिका बनाई पढ्न थाल्नु,
ii) योग र ध्यान गर्नु, यसबाट मन एकाग्र गर्न मद्दत मिलेको छ । शरीर फुर्तिलो भएको छ । तनाव घटाउने उपाय सोच्न मद्दत मिलेको छ । त्यसैले ऊ अब मितव्ययी भएको छ ।
iii) साथीहरुसँगको घुलमिलबाट एक्लोपना हराएको छ । चित्रकला बनाउने र सङ्गीतले समयको सदुपयोग भई नयाँ स्फूर्ति प्रदान गरेको छ ।
iv) सन्तुलित खानपान र व्यायामले शरीर निरोगी भएको छ । अपच सम्बन्धी समस्या हराएको छ ।
v) करेशाबारीमा काम गरेकाले शारीरिक व्यायाम भएको छ साथै सफा हावामा बस्न पाइएको छ ।
vi) फोनबाट घरसँग सम्पर्क गरिने हुँदा घरको चिन्ता पनि घटेको छ ।
यसरी ज्ञानहरिले अवलम्बन गरेको रणनीतिले गर्दा उसलाई तनाव व्यवस्थापन गर्न सघाउ पुगेको छ ।
(ङ) तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ, आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।
उत्तर:– तनाव विभिन्न कारणहरुबाट सृजना हुन सक्छ । बढी कामको बोझ, होहल्ला, भीड, बिरामी, दुर्घटना, हानिनोक्सानी आदि कारणहरुले सम्बन्धित व्यक्तिमा तनाव उत्पन्न हुन सक्छ । तनाव हुनु ठूलो कुरा होइन, तर निराकरण गर्नु ठूलो कुरा हो । व्यक्ति व्यक्तिमा तनाव सृजना हुने फरक फरक कारण हुन सक्छन् । त्यसरी नै तनाव व्यवस्थापन गर्ने तरिका पनि व्यक्ति अनुसार फरक हुन सक्छ । तनाव व्यवस्थापन गर्न पहिले तनावका कारक तत्त्वहरू पहिचान गरी ती कारक तत्त्वहरू निराकरण गर्ने उपाय पहिल्याउनु पर्छ । व्यक्तिको मानसिक र शारीरिक अवस्थालाई सन्तुलित बनाउने उपाय गर्नुपर्छ । मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य एक अर्कासँग सम्बन्धित हुन्छन् । मनमा आघात परे सोको प्रभाव शरीरमा पनि देखापर्छ । शरीरमा आघात परे मनमा पनि प्रभाव परेको अनुभव गर्न सकिन्छ । विरामी भएको व्यक्तिको मनोदशा स्वस्थ व्यक्ति मनोदशाभन्दा भिन्न हुन्छ । समयतालिका बनाई काम गर्ने, योग र ध्यान र सहभागी हुने, अरु साथीभाइ तथा परिवारका मानिसहरूसँग घुलमिल गर्ने, सन्तुलित खानपान, व्यायाम आदिबाट स्वस्थ जीवनशैली अनुसरण गर्ने, जीवन निर्वाहका लागि पेशागत दक्षता हासिल गर्ने पेशा अवलम्बन सगर्ने, मिलनसार बनी काम गरेमा बढि मात्रामा तनाव व्यवस्थापन गर्न सकिन्छ । उपाय भन्न र सूचीबद्ध गर्न सजिलो छ, यसलाई अवलम्बन गर्न कठिनाई पर्न सक्छ । आर्थिक, पारिवारिक, सामाजिक, मनोविज्ञानिक, शारीरिक आदि तत्वहरुले अवरोध उत्पन्न हुन सक्छ । यसैले तनाव व्यवस्थापन कार्यलाई बढी महत्त्वपूर्ण भनिएको हो ।
३. प्रश्नहरु
(क) द्वन्द्व भनेको के हो ?
उत्तर:- मूल्यमान्यता, विश्वास तथा अवधारणामा देखिने फरकका कारण उत्पन्न हुने विवाद द्वन्द्व हो । दुई वा दुईभन्दा बढी सङ्गठन, समूह वा पक्षहरुबीच हुने विरोध, विवाद वा असहमतिको अवस्था पनि द्वन्द्व हो ।
(ख) द्वन्द्वको परम्परागत र आधुनिक अवधारणाबिच के फरक छ ?
उत्तर:- परम्परागत अवधारणामा द्वन्द्वलाई नकारात्मक रुपमा लिइन्छ । उसले विनास ल्याउँछ ।। यो खराब हो । यसबाट हिंसा बढ्न सक्छ । आधुनिक धारणामा द्वन्द्वलाई सिर्जनात्मक रूपमा लिइन्छ । मानव सम्बन्धका महत्वपूर्ण पक्षका रूपमा द्वन्द्वलाई लिने गरिन्छ। द्वन्द्व स्वभाविक हुन्छ र सिर्जनात्मक हुन्छ । यसलाई सामना गर्नुपर्छ र समाधानका उपाय सोच्नुपर्छ । दुइ वा दुइभन्दा बढी अवधारणा वा सोचबिच द्वन्द्व भएमा नयाँ अवधारणाको विकास हुनसक्छ जुन सबैलाई मान्य हुन सक्छ ।
ई. १९७० पछि हालको द्वन्द्वको अवधारणा अन्तरक्रियात्मक अवधारणा हो । सामाजिक गतिशीलता तथा साङ्गठनिक गतिशीलताका लागि यो आवश्यक छ भनी हालको द्वन्द बारे अवधारणा छ ।
(ग) के द्वन्द्वले तनाव सिर्जना गर्न सक्छ ?
उत्तर:- व्यक्तिगत गाली, बेइज्जती, कुटपिट, भौतिक आक्रमण, उजुरी, मुद्दा मामिला, हिंसात्मक घटना आदिले गर्दा व्यक्ति, समाज तथा परिवारमा तनाव सिर्जना हुनसक्छ । यसबाट व्यक्ति, समाज तथा परिवारमा नकरात्मक प्रभाव पर्छ । यसरी उत्पन्न तनावले क्षति पुर्याउन सक्छ । यसैले यस्ता तनाव सिर्जना हुने कारण पहिचान गरी व्यवस्थापन गर्नुपर्छ र क्षतीलाई कम गर्न सकिन्छ ।
(घ) गौतमबुद्धको भनाइको तात्पर्य एक वाक्यमा प्रष्ट पार्नुहोस् ।
उत्तर:- गौतमबुद्ध- ‘ हजारौ हल्का शब्दभन्दा शान्ति ल्याउन एक शब्द काफी हुन्छ ।’
प्रभावकारी शब्दको प्रयोगले हिंसात्मक सोच र कार्यलाई निरुत्साहित गरी शान्ति कायम गर्न सक्छ ।
थप प्रश्नहरु
१. तनाव भनेको के हो ?
उत्तर:- व्यक्तिमा उत्पन्न हुने मानसिक दबाबको अवस्थालाई तनाव भनिन्छ । वातावरणमा आएको परिवर्तन, सहन नसकिने कुरा वा काम, धम्की आदिले मानिसमा देखिएको शारिरिक वा मानसिक परिवर्तनको स्थितिलाई तनाव भनिन्छ । ध्यान दिन नसक्नु, निन्द्रा नलाग्नु, थकित अनुभव हुनु, रिस उठ्न खोज्नु, अरुप्रति विरोधी भावना उत्पन्न हुनु, मनमा शान्ति नहुनु आदि तनावका लक्षणहरु हुन् ।
२. तनावका विशेषताहरु के के हुन् ?
उत्तर:- तनावका विशेषताहरु निम्न लिखित छन् :
i) यो वातावरणीय परिवर्तनको उपज हो ।
ii) तनावको स्थिति व्यक्तिपिच्छे फरक हुन सक्छ ।
iii) तनाव व्यवस्थापन गर्न सकिन्छ ।
iv) तनाव जीवनको अनिवार्य शर्त हो ।
३. तनाव व्यवस्थापन भनेको के हो ?
उत्तर:- परिवर्तित बातावरणअनुकूल व्यक्तिको व्यवहार पनि परिवर्तन गरी तनावलाई सिर्जनात्मक एवम् रचनात्मक बनाई व्यक्तिको शारीरिक एवम् मानसिक सन्तुलन कायम राख्ने कामलाई तनाव व्यवस्थापन भनिन्छ ।
उदाहरणको लागि- रामहरिको पहिलो त्रैमासिक परीक्षामा अरू विषयमा ६०% अङ्क आए पनि गणितमा ३२% मात्र अङ्क आयो । यत्रो पढ्दा पनि किन कम अङ्क आएछ ? घरमा पनि बाआमाले गाली गरे । रामहरिले म साँच्चिनै गणितमा कमजोर रहेछु भनी मानी बढी मिहिनेत गर्न थाल्यो । उसले आफूलाई नआएको प्रश्न साथीहरूलाई सोधी, थप जानकारी शिक्षकहरूबाट लिएर बढी अभ्यास गर्न थाल्यो । दोस्रो त्रैमासिक परीक्षामा उसले गणितमा ७०% अङ्क ल्यायो । कम अङ्क आएर रामहरिमा तनाव सृजना भएको थियो । उसले आफ्नो आचरणमा परिवर्तन गरी म कमजोर नै रहेछु भनी मिहिनेत गर्यो । यसबाट ऊ तनावबाट मुक्त भयो ।
४. तनाव सिर्जना हुने अवस्थाहरू के के हुन् ?
उत्तर:- तनाव सिर्जना हुने अवस्थाहरू निम्न लिखित छन् :
i) अस्तित्व तनाव (बाँच्नका लागि हुने):- खतराप्रति प्रतिक्रिया जनाउँने आउने तनाव, दुर्घटना वा विरामी पर्दा आउने तनाव (खतरा, दुर्घटना वा विरामी पर्दा मरिन्छ कि भनी तनाव सृजना हुन्छ ।)
ii) आन्तरिक तनाव:- चिन्ता, संवेग (आफन्त विरामी पर्दा खर्च जुटाउने चिन्ता, घर खर्च चलाउन आय आर्जन गर्ने चिन्ता आदि)
iii) वातावरणीय तनाव:- हल्ला, भीडभाड, दवाव (आफ्नो छेउछाउमा बढी होहल्ला भयो, घर वरपर ठूलो भीडभाड जम्मा भयो भने केही असजिलो अनुभव हुने)
iv) कामको चापबाट हुने तताब:- बढी कामको चापले हुने शारीरिक र मानसिक तनाव (घरमा दिदी बहिनी वा दाजुभाइको बिहेको काम चाँडै पूरा गर्नु परेमा कामको बोझ बढ्छ, मिल मालिकलाई छोटो अवधिमा धेरै मालसामान तयार गर्दा वा कार्यालयमा धेरै सेवाग्राहीको काम गर्नुपर्दा ।)