Skip links

जनसङ्ख्या व्यवस्थापन

अभ्यास

१.  जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् ।

उत्तर:- कुनै पनि देश वा समाजको विकासका लागि जनसङ्ख्या अपरिहार्य छ । देशमा उपलब्ध स्रोत र साधनको समुचित उपयोग देशको जनसङ्ख्याले गर्छ । देशको स्रोत र साधनको समुचित उपयोग गरी देश विकासलाई गति दिने काम पनि जनसङ्ख्याकै हो । देशमा उपलब्ध स्रोत र साधन तथा जनसङ्ख्याबिच तालमेल रहनु अनिवार्य छ । यसैले कुनै पनि देशमा रहेको जनसङ्ख्याको तुलनामा सो जनसङ्ख्यालाई उपभोग गर्न पुग्ने स्रोत र साधनको अनुपात मिलाउनुलाई नै जनसङ्ख्या व्यवस्थापन भनिन्छ ।

हरेक राष्ट्रले आवश्यक स्रोत र साधनको आपूर्ति र योजना बनाउँदा जनसङ्ख्याको स्थितिलाई ध्यान दिनुपर्छ । किनकि देशमा उपलब्ध स्रोत र साधनले जनसङ्ख्या वृद्धिलाई धान्न सकेन भने देशमा विकराल स्थिति उत्पन्न हुन्छ । देशमा बेरोजगारी बढ्छ साथै भोकमरी बढ्छ, आन्तरिक सुरक्षामा समस्या उत्पन्न हुन सक्छ । विकासको गति ठप्प हुन्छ । यदि देशमा उपलब्ध स्रोत र साधनलाई परिचालन गर्न जनशक्ति वा जनसङ्ख्या छैन भने स्रोत र साधन खेर जान्छ । देशमा विकास हुँदैन । यसकारण देशमा उपलब्ध स्रोत र साधनलाई उपयोग गर्ने जनसङ्ख्या कम भयो भने जनसङ्ख्या वृद्धि गर्नुपर्छ । यदि स्रोत र साधन उपलब्ध जनसङ्ख्यालाई पुगेन भने जनसङ्ख्या वृद्धि कम गर्नुपर्छ । यदि जनसङ्ख्या व्यवस्थापन सही तरिकाले भएन भने देशमा ठूलो समस्या उत्पन्न हुन सक्छ । यसकारण जनसङ्ख्या व्यवस्थापनको ठूलो महत्त्व छ।

२.  जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिंच फरक छुट्याउनुहोस् ।

उत्तर:-  देशमा जनसङ्ख्याको बृद्धि अत्यधिक भयो र देशमा उपलब्ध स्रोत र साधनले धान्न सक्ने भएन भने जनसङ्ख्या वृद्धिमाथि नियन्त्रण गर्नुपर्छ । यस्तो अवस्थामा जनसङ्ख्या व्यवस्थापनका लागि जनसङ्ख्या वृद्धिदर कम गर्ने नीति लिनु पर्छ । यस्तो नीतिलाई जन्मविरुद्धको नीति भनिन्छ । यस्तो अवस्थामा जनसङ्ख्या वृद्धिदर कम गर्न विभिन्न उपायहरू अवलम्बन गर्नुपर्छ । जस्तै: चीनमा हाल दुई सन्तानको नीति अवलम्बन गरिएको छ । देशमा उपलब्ध स्रोत र साधनलाई समुचित उपयोग गर्न देशमा जनसङ्ख्या कम भयो भने देशमा विकासको गति कम हुन्छ । मानिसको जीवनस्तर निम्न रहन्छ । यसकारण जनसङ्ख्या व्यवस्थापनका लागि देशले जनसङ्ख्या वृद्धि गर्ने नीति लिन्छ । यस्तो नीतिलाई जन्म पक्षको नीति भनिन्छ । यस्तो नीति अवलम्बन गर्दा सरकारबाट बढी सन्तान जन्माउन प्रोत्साहन गरिन्छ । जस्तो कि रूस र सिङ्गापुरमा आमाबाबुलाई सन्तान जन्माउन प्रोत्साहन गरिएको छ ।

३.  संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस् ।

उत्तर:- संयुक्त परिवार भन्नाले एकै घरका सबै सदस्यहरू मिलेर एउटै घरको छानामुनि रहनु हो । यसमा बाजेबज्यै, आमाबाबु, काकाकाकी, दाजुभाइ, दिदीबहिनी आदि पर्दछन् । संयुक्त परिवार वृहत परिवार पनि हुन सक्छ। यस्ता परिवारमा विहे गर्ने उमेरका वयस्कहरूको विहे भएमा सन्तान थपिंदै जान्छ । काकाकाकीका सन्तान, उनका सन्तानका सन्तान, बाबुआमाका छोराहरूको सन्तान आदिले गर्दा परिवारमा नयाँ शिशुहरूको जन्मले जनसङ्ख्या वृद्धि हुन्छ । संयुक्त परिवारमा सदस्यहरू पनि बढी हुन्छन् । यसरी नयाँ शिशुहरू जन्मिनेको पनि सङ्ख्या बढी हुन्छ । उच्च शिशुमृत्युदरले पनि जनसङ्ख्या वृद्धिदर बढाउँछ । शिशुको मृत्युदर बढी भएमा आमाबाबुलाई जन्मेका शिशुमध्ये कोही त बाँच्ला भन्ने आशा राख्छन् र यस आशाले उनीहरू बढी सन्तान जन्माउँछन् । किनकि जन्मेको शिशुमा कतिजना जीवित रहलान भन्ने थाहा हुँदैन । यसैले कोही एक दुईजना पनि जीवित रहलान् भन्ने आशाले आमाबाबुले बढी सन्तानको जन्म दिन्छन् र जनसङ्ख्या वृद्धिदर बढ्छ ।

 ४.  जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस् ।

उत्तर:- जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू:

i)  शिक्षा:- जनसङ्ख्या तीव्र वृद्धि भएमा विद्यालय जाने उमेरका बालबालिकाहरूको सङ्ख्या पनि बढी हुन्छ । बढी विद्यार्थीका लागि बढी विद्यालय भवनको आवश्यकता पर्छ । बढी फर्निचरहरूको आवश्यकता पर्छ । बढी शिक्षकहरूको आवश्यकता पर्छ । बढी पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्रीको आवश्यकता पर्छ । यसका लागि ठूलो राशिको लगानी गर्नुपर्छ । विकासशील देशहरूले धेरै ठूलो लगानी गर्न सक्दैनन् र शिक्षाको प्रगति कम हुन्छ । त्यस्ता देशहरूले पूर्ण साक्षरताका लागि ठूलो परिश्रम खर्चिनु पर्छ ।

ii)  स्वास्थ्य:- जनसङ्ख्या वृद्धिले स्वास्थ्य क्षेत्रमा पनि ठूलो प्रभाव पार्छ । धेरै मानिस भएमा अस्पतालको सङ्ख्या थप्नुपर्छ । त्यस्तै डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सङ्ख्या पनि बढाउनुपर्छ । अस्पतालमा स्वास्थ्य सम्बन्धी उपकरण थप्नुपर्छ । औषधि आदिको निर्माण बढाउनु पर्छ । यसरी स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी खर्चिनु पर्छ । यस्तो अवस्थामा सबैले स्वास्थ्य सुविधा पाउलान भन्न सकिन्न । स्वास्थ्य सुविधा सबैले सहज रूपमा नपाउन पनि सक्छन् । जनसङ्ख्या तीब्र वृद्धि भएमा स्वास्थ्य सुविधा सबैलाई पुर्याउन कठिनाई पर्छ । देशमा रोगव्याधिको प्रकोप बढ्न सक्छ । कुपोषणबाट बालबालिका ग्रसित हुन सक्छन् । शिशु मृत्युदर बढ्न सक्छ । विकासशील देशहरूलाई स्वास्थ्य सुविधा वृद्धि गर्न धौधौ पर्छ र स्वास्थ्य अवस्था कमजोर हुन्छ ।

iii)  रोजगारी:- जनसङ्ख्या वृद्धिले रोजगारीलाई पनि प्रत्यक्ष प्रभाव पार्छ । बढी मानिस भनेको बढी रोजगारीको आवश्यकता । जनसङ्ख्या वृद्धि भएको अनुपातमा आर्थिक वृद्धि हुँदैन । देशका उद्योग व्यवसायले बढी मानिसहरूलाई रोजगार दिन सक्दैन । देशमा बेरोजगारी बढ्छ । देशका युवाहरूले वैदेशिक रोजगारीमा जानु पर्ने हुन्छ । यसरी देशबाट सक्रिय जनसङ्ख्या विदेसिन्छ । सक्रिय जनशक्तिको अभावले देशमा विकास आयोजनालाई प्रभाव पार्छ । यसले परनिर्भरतामा वृद्धि गर्छ । विदेशी संस्कृतिको प्रभाव देशमा बढ्छ । देशको श्रमशक्तिको उपयोग नहुँदा खेर जान्छ । सरकारले देशका बढ्दो जनसङ्ख्यालाई रोजगारीको व्यवस्था गर्न सक्दैन । यसबाट आर्थिक विकासको गतिमा बाधा पर्छ । बेरोजगारीले देशमा सामाजिक विकृतिहरू बढ्ने सम्भावना हुन्छ।

5.  हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्ना सायालाइ चिठी लेख्नुहोस् ।

उत्तर:-

  चैनपुर

१७/३/२०७७

साथी रमेश,

तिमीले पठाएको समाचार पाएँ । हाम्रो नेपालमा जनसङ्ख्या वृद्धिदर नियन्त्रण हुँदैछ । तापनि जनसङ्ख्या नियन्त्रण कार्यमा केही समस्याहरू देखिएका छन् । सोको बारेमा म केही कारणहरूको उल्लेख गर्दैछु ।

जनसङ्ख्या र स्रोत साधनबिचको सम्बन्धबारेमा सबभन्दा पहिले अलफ्रेड मार्सलले आफ्नो विचार प्रकट गरेका थिए । उनले भनेका थिए- देशमा उपलब्ध स्रोत र साधन तथा जनसङ्ख्याबिचको अनुपात मिल्नुपर्छ । देशको जनसङ्ख्या वृद्धि र स्रोत साधनबिचको अनुपात मिलेको छ भने देशको हितमा हुन्छ । यदि स्रोत र साधनले धान्न नसक्ने जनसङ्ख्या वृद्धि भयो भने प्रकृतिले सो जनसङ्ख्याको अनुपातलाई सन्तुलनमा ल्याउँछ । जनसङ्ख्या वृद्धि कम गर्न प्राकृतिक प्रकोप (महामारी, दैवीप्रकोप आदि) तथा युद्ध आदिका घटना घट्न सक्छन् । यसकारण जनसङ्ख्या वृद्धिलाई व्यवस्थापन गर्नुपर्छ । हाम्रो देशमा जनसङ्ख्या व्यवस्थापनका सन्दर्भमा निम्न चुनौतिहरू देखा परेका छन् ती हुन्:

(क) शिक्षा:- शिक्षाले जनसङ्ख्या व्यवस्थापनमा ठूलो भूमिका निर्वाह गर्छ । शिक्षित मानिसहरू थोरै सन्तान चाहन्छन्, सन्तानलाई गुणात्मक शिक्षा दिन चाहन्छन्, अन्य सुख सुविधा उपलब्ध गराउन चाहन्छन् । हाम्रो देशमा वि.सं. २०६८ को जनगणना अनुसार साक्षरता ६५.९% छ । अहिले पनि हाम्रो देशमा अशिक्षित मानिसहरू छन् । अशिक्षित मानिसहरूलाई परिवार नियोजनको बारेमा जानकारी हुँदैन । जति सन्तान भएपनि ईश्वरको देन सम्झेर ग्रहण गर्छन् । यसबाट जनसङ्ख्या व्यवस्थापनमा समस्या हुन्छ । किनकि बढी सन्तान भएमा जनसङ्ख्यामा वृद्धि हुन्छ ।

(ख) चाँडै विवाह:- नेपालमा सामाजिक तथा धार्मिक कारणहरूले गर्दा आमाबाबुहरूले आफ्नो सन्तानलाई चाँडै विहे गरिदिने गर्छन् । समाजमा हालसम्म पनि छोरी अर्काको घर जाने जात हो । चाँडै जिम्मा लगाइदिन पाए परिवारको भार हलुको हुन्छ भन्ने मान्यता राख्छन् । यसकारण केटीहरूको २० वर्ष उमेर नपुग्दै विहे गरिदिन्छन् । यसबाट प्रजनन अवधि लामो हुन्छ र बढी सन्तान जन्मिन्छन् र यसबाट जनसङ्ख्या वृद्धि हुन्छ ।

(ग) कम जन्मान्तर:- नेपालमा जन्मान्तरको समय पनि कम छ । बिहे गरेपछि आमाबाबु चाँडै सन्तानको मुख हेर्न इच्छुक हुन्छन् । यसबाट जन्मान्तर कम हुन्छ । नेपालमा प्राय: २/३ वर्षको अन्तरमा अर्को सन्तान जन्मिन्छन् । यसबाट जनसङ्ख्या वृद्धि हुन्छ ।

(घ) छोराको महत्त्व:- हिन्दू धर्ममा मृत्युपछिको संस्कार गर्न छोरा चाहिन्छ भन्ने धार्मिक मान्यताले गर्दा जतिवटा छोरी भएपनि छोराको लागि सन्तान जन्माउने क्रम चलिरहन्छ । यसबाट सन्तान बढी जन्मिन्छन् र जनसङ्ख्यामा वृद्धि हुन्छ । बुढेसकालको सहाराका लागि छोरा चाहिन्छ भन्ने भावनाले पनि छोराको महत्त्व बढी हुन्छ ।

(ङ) उच्च शिशु मृत्युदर:- स्वास्थ्य सचेतनाको कमी, स्वास्थ्य सुविधाको कमी, कुपोषण, रोगव्याधि आदि कारणले गर्दा नेपालमा शिशुमृत्युदर बढी छ । यसकारण आमाबुबाले आफूले जन्माएका सन्तानमध्ये कुनै एउटा मात्र भएपनि बाँच्ला भन्ने विचारले धेरै सन्तान जन्माउँछन् ।

(च) महिला स्थिति:- जनसङ्ख्या व्यवस्थापनमा महिलाको भूमिका महत्त्वपूर्ण हुन्छ । नेपालमा शिक्षित तथा काम गर्ने महिलाको प्रतिशत कम छ । अधिकांश महिला घरमै बस्छन् । उनीहरूलाई परिवार नियोजन, जन्मान्तर आदिको ज्ञान हुँदैन यसकारण बढी सन्तान जन्मिन्छन् ।

(छ) गरिबी:- नेपालमा  करिब ३०% मानिसहरू गरिबीको रेखामुनि छन् । उनीहरूमा सानो परिवार र उच्च जीवनस्तरबारेमा ज्ञानको कमी हुन्छ । किनकि यिनीहरूमा साक्षरता प्रतिशत पनि कम हुन्छ । गरिब परिवारमा सन्तानलाई कमाउने हातको रूपमा लिइन्छ । आमाबुबाले छोराछोरीलाई विद्यालय नपठाएर कमाइ गर्ने काममा लगाउँछन् । स-साना बालबालिकाहरूले गिट्टी कुटेर आयआर्जन गर्न सघाएको देखिन्छ। यस प्रवृत्तिले गर्दा बढी सन्तान जन्मिन्छन् र जनसङ्ख्यामा वृद्धि हुन्छ ।

(ज) बेरोजगारी:- नेपालमा बेरोजगारीको ठूलो समस्या छ । बेरोजगार व्यक्तिहरूको अधिकांश समय घरमै व्यतित हुने र कुनै काम नभएकाले गर्दा यस्ता दम्पत्तिको सन्तान बढी हुन्छ ।

हाम्रो देशमा जनसङ्ख्या व्यवस्थापनमा देखिएका केही चुनौतीहरूको बारेमा मैले उल्लेख गरें । हुन त हिजोआज जनसङ्ख्या नियन्त्रण गर्नेतर्फ काम हुँदैछ । मानिसहरूमा साक्षरता प्रतिशत बढ्दै छ । तापनि यस कार्यमा अझ बढी योजनाहरूको आवश्यकता छ । आजलाई यति नै अरू अर्को पत्रमा उल्लेख गर्नेनै छु ।

तिम्रो साथी

अङ्कुर

थप प्रश्नहरू

१. जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस् ।

उत्तर:- “जनसङ्ख्या वृद्धिलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरिन्छन् । तीमध्ये प्रत्यक्ष उपायहरू निम्न छन्:

(क) परिवार नियोजनका साधनको उपयोगः- जनसङ्ख्या वृद्धि नियन्त्रण गर्न विभिन्न प्रकारका गर्भनिरोधक उपायहरू अवलम्वन गरिन्छन् । यस्ता उपायहरूमा प्राकृतिक उपायहरू तथा कृत्रिम उपायहरू हुन सक्छन् । स्थायी वा अस्थायी गर्भनिरोधक साधनहरूको प्रयोग गर्न सकिन्छ । यस्ता साधनहरूको उपयोगले जन्मान्तरलाई बढाउने वा पूर्णरूपमा जन्मलाई नियन्त्रण गर्न सकिन्छ । यसरी जनसङ्ख्या व्यवस्थापन गर्न सकिन्छ ।

(ख) कानुनी प्रावधान:- जनसङ्ख्या वृद्धिदर अधिक भएको अवस्थामा जनसङ्ख्या नियन्त्रणका लागि कानुनी प्रावधानको व्यवस्था गरी जनसङ्ख्या नियन्त्रण गर्न सकिन्छ । हाल चीनमा दुई सन्तानको नीति लिइएको छ । नेपालमा पनि हाल सरकारी काम गर्ने महिलाहरूलाई दुई सन्तानसम्म जन्माउनका लागि विदा दिने सुविधा दिइएको छ ।

(ग) उचित जन्मान्तर:- एउटा बच्चा जन्मेपछि अर्को बच्चा जन्माउने समय अवधि ५ वर्षको भएमा आमा र बच्चा दुवैको स्वास्थ्यका लागि लाभप्रद हुन्छ साथै सन्तानको सङ्ख्या पनि कम हुन्छ ।

(घ) उपयुक्त उमेरमा विवाह:- शारीरिक र आर्थिक रूपमा सबल भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ । : महिलाका लागि २० वर्ष र पुरुषका लागि २५ वर्ष उमेर पुगेपछि विवाह गर्दा प्रजनन अवधि कम हुने हुँदा जनसङ्ख्या वृद्धिदरमा कमी आउन सक्छ । यसरी उपयुक्त उमेरमा विवाह गर्दा जनसङ्ख्या नियन्त्रण गर्न मद्दत मिल्छ ।

(ङ) बसाइँसराइँ नियन्त्रण:- बसाइँसराइँका कारणले गन्तव्य स्थानहरूमा जनसङ्ख्या वृद्धि हुन्छ । आन्तरिक बसाइँसराई नियन्त्रण गर्न आर्थिक विकास गरेर रोजगारीको अवसर सृजना गर्नुपर्छ । आप्रवासी नीति निर्माण गरी बाह्रय बसाइँसराई नियन्त्रण गर्न सकिन्छ ।

२. जनसङ्ख्या व्यवस्थापनका अप्रत्यक्ष उपायहरूको उल्लेख गर्नुहोस् । 

उत्तर:- जनसङ्ख्या वृद्धि नियन्त्रण गरी जनसङ्ख्या व्यवस्थापन गर्ने अप्रत्यक्ष उपायहरू निम्न हुन्:

(क) शिक्षा तथा स्वास्थ्य अवस्थामा सुधारः- शिक्षाको अवस्थामा सुधार ल्याउँदा मानिसहरू शिक्षित भई सचेतनामा वृद्धि हुन्छ । शिक्षित मानिसहरू बढी सन्तानभन्दा गुणात्मक जीवन बाँच्न चाहन्छन् । स्वास्थ्य अवस्थामा सुधार भएमा बाल शिशु मृत्युदर घट्छ । यसबाट थोरै सन्तानको चाहना बढ्ने हुनाले जनसङ्ख्या वृद्धि नियन्त्रण हुन्छ ।

(ख) रोजगारीको अवसर:- रोजगारीले मानिसको जीवनस्तरमा सकारात्मक सुधार ल्याउँछ । रोजगारमा संलग्न मानिसहरूलाई ठूलो परिवार हेरचाह गर्न समय मिल्दैन । रोजगारमा संलग्न मानिसले जीवनस्तर उकास्न उचित परिवार योजना बनाउँछ । यसकारण उनीहरूको सन्तान कम हुन्छ । यसरी देशमा रोजगारीको अवस्थामा सुधार आएमा जनसङ्ख्या वृद्धि दरमा नियन्त्रण हुन्छ ।

(ग) सहरीकरण:- सहरीकरणको विकास भएमा मानिसमा सानो परिवारप्रतिको आकर्षण बढ्छ । यस्तो : अवस्थामा मानिसहरू थोरै सन्तानको चाहना गर्छन् । यसबाट जनसङ्ख्या व्यवस्थापनमा सहज हुन्छ ।

(घ) सामाजिक सुरक्षा:- मानिसहरूमा बुढेसकालमा साहाराका लागि ठूलो परिवारको चाहना गर्छन् । वृद्ध अवस्थामा सन्तान भए हेरचाह गरिदिने भावना रहन्छ । तर राज्यले सामाजिक सुरक्षाको व्यवस्था भएमा ठूलो परिवारप्रतिको चाहना घटेर जान्छ । यसकारण वृद्धवृद्धाको अवस्थाका लागि उचित स्याहार, उपचार तथा अन्य सुविधा उपलब्ध भएमा भविष्यको चिन्ता घट्ने हुँदा जनसङ्ख्या वृद्धिदर कम हुन्छ किनकि मानिसलाई धेरै सन्तानको चाहना हुँदैन ।

(ङ) महिला सशक्तिकरण:- नेपालमा महिलाहरू राजनैतिक आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका : छन्। घरको महत्त्वपूर्ण निर्णयमा उनीहरूको सहभागिता कम हुन्छ । महिलाहरूलाई सीप वृद्धिका लागि तालिम दिने, रोजगारीको अवसर दिने, शिक्षा स्वास्थ्य आदि क्षेत्रमा अवसर दिने, राजनैतिक क्षेत्रमा पनि प्रोत्साहन दिने हो भने महिलाहरूमा सचेतना वृद्धि हुन्छ । रोजगारीमा संलग्न महिलाहरूलाई बच्चा स्याहार सुसारका लागि समयको पनि अभाव हुन्छ । यसकारण काम गर्ने महिलाहरू थोरै संन्तान चाहन्छिन् । यसरी महिला रोजगारीले पनि जनसङ्ख्या व्यवस्थापनमा सहयोग पुग्छ ।

(च) स्रोत र साधन:- जनसङ्ख्या वृद्धिको अनुपातमा स्रोत र साधनको आपूर्ति गरी जनसङ्ख्यालाई पुयाउन सकेमा पनि जनसङ्ख्या व्यवस्थापन गर्न सकिन्छ ।