Skip links

जनसङ्ख्या र विकास

अभ्यास

 १.  जनसङ्ख्या भनेको के हो?

उत्तर:- कुनै निश्चित भूभागमा कुनै निश्चित समयमा बसोबास गरिरहेका मानिसहरूको कूल सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ । जनसङ्ख्या जन र सङ्ख्या मिली बनेको छ । जन भनेको मानिस तथा सङ्ख्या भनेको गन्ती गर्दा आएको परिमाण हो । यसरी कुनै ठाउँमा कुनै निश्चित समयमा बसोवास गरिरहेका मानिसहरूलाई गन्ती गर्दा आएको कूल सङ्ख्या हो । यसमा बालबालिका, युवायुवती तथा वृद्धवृद्धाहरू सबै पर्छन् ।

२.  जनसङ्ख्या र विकासबिचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्नुहोस् ।

 उत्तर:-  जनसङ्ख्या र विकासबिच घनिष्ट सम्बन्ध छ । जनसङ्ख्या विकासको आधारभूत तत्त्व हो । जनसङ्ख्याले नै देशमा उपलब्ध स्रोत र साधनलाई उपयोग गरी विकासको गतिलाई अगाडि बढाउन मद्दत गर्छ । मानिसले रहँदा बस्दा जीवनयापन सहज बनाउन विभिन्न उपायहरू सोच्छ । आफ्नो सोचलाई कार्यान्वयन गर्छ । यसरी सोचलाई कार्यान्वयन गर्दा प्राकृतिक सम्पदा र स्रोतलाई प्रयोग गरी नयाँ कुराको खोजी गर्छ र प्रयोग गर्छ । मानिसलाई आवतजावतगर्न कठिनाई भएकाले मानिसले बाटो बनाउन सुरु गरेका होलान् । त्यसरी नै कसैले पाङ्ग्राको आविष्कार गरी गाडा बनाएको होला । आफ्नो आवश्यकता पूरा गर्न घरेलु उद्योग हुँदै ठूला उद्योग खुलेका होलान् । विकासका लागि यातायातको सुविधा बढाउनुपर्छ, उद्योगधन्धा खोल्दा मानिसहरूको आवश्यकता पूर्ति हुनुका साथै रोजगारीको सुविधा प्राप्त हुन्छ । मानिसलाई ज्ञान वृद्धि गर्न शिक्षाको विकास भएको हो। मानिसलाई स्वस्थ राख्न स्वास्थ्य सुविधाको विकास भयो । मानिसलाई आवश्यक पानीको आपूर्तिका लागि खानेपानीको सुविधा विकास गरेको होला । सञ्चार, विद्युत, बैङ्क, वीमा आदिको सुविधा मानिसहरूको सहज जीवन यापनका लागि विकास गरिएका हुन् । विकासका लागि निर्माण कार्य गरिनुपर्छ । निर्माण कार्य गर्ने जनसङ्ख्या नै हो । निर्माण कार्यबाट भएको विकास पनि जनसङ्ख्याका लागि हो । जनसङ्ख्याले सहज र सरल जीवनका लागि विकास गर्छ र विकास पनि जनसङ्ख्याकै लागि हुन्छ । बाटोघाटो मानिसले बनाउँछन् । बाटोघाटो मानिसकै प्रयोगका लागि बनाइन्छ । नयाँ नयाँ तौरतरिकाहरू र प्रविधिहरूको खोजी र प्रयोगले विकास कार्य अगाडि बढ्छ । आज घरमै बसेर विश्वका कुनै पनि ठाउँमा घटेको घटना हेर्न सकिन्छ । घरमै बसेर संसारको कुनै कुनामा रहेका आफन्तसँग कुराकानी गर्न सकिन्छ । आवतजावतमा सहज भएको छ । औषधि उपचारमा सहज भएको छ । जीवनयापन तुलनात्मक रूपमा पहिलेभन्दा अहिले सहज भएको छ । यो सुविधाहरू जनसङ्ख्याको नयाँ सोच र सोको कार्यान्वयन र प्रयोगबाट प्राप्त भएको हो। विकास जनसङ्ख्याले गर्छ । विकास जनसङ्ख्याका लागि हुन्छ । यी दुवैमा यसले घनिष्ट सम्बन्ध रहेको छ ।

 ३.  भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण छोटकरीमा वर्णन गर्नुहोस् ।

उत्तर: नेपाललाई तीन भौगोलिक क्षेत्रमा विभाजन गरिएको छ । ती हुन्- हिमाल, पहाड र तराई । वि.सं. २०६८ को जनगणना अनुसार यी भौगोलिक क्षेत्रहरूको जनसङ्ख्या यसप्रकार रहको पाइन्छ :

क्षेत्रजनसङ्ख्याप्रतिशत
हिमाल१७,८१,७९२६.७३
पहाड१,१३,९४,००७४३.०१
तराई१,३३,१८,७०५५०.२७
जम्मा२,६४,९४,५०४१००.००

 माथिको तालिकामा हिमाली भागमा सबभन्दा कम, त्योभन्दा बढी पहाडी भागमा र सबभन्दा बढी तराई भागमा जनसङ्ख्याको चाप देखिन्छ । हिमाली भागको भूवनोट कठिन छ । यहाँ होचो अग्लो भूभाग छ। माटो उर्वर छैन । यहाँ उत्पादन भएको खाद्यान्नले वर्षभर खान पुग्दैन । खाद्यान्नको उत्पादन बहुत धोरै हुन्छ । यहाँ हिउँदमा हिमपात हुन्छ । असाध्य जाडो हुने हुँदा मानिसहरू बेंसीतिर झर्छन् । कठिन भूवनोटले गर्दा यहां यातायातको विकास भएको छैन् । शिक्षा तथा स्वास्थ्य सुविधाको कमी छ । खानेपानी तथा सञ्चारको सुविधा छैन । सञ्चार, विद्युत् आदिको पनि राम्रो विकास भएको छैन । रोजगारीको सुविधा छैन । कठिन जीवनयापन गर्नुपर्ने भएकोले मानिसहरू बसाई सरेर सुगम क्षेत्रमा जान चाहन्छन् । यस कारण यो क्षेत्रमा जनसङ्ख्या कम छ।

पहाडी भूभागको विषय भूबनोट, होचा अग्ला डाँडाहरू, कम उर्वर माटो, यातायात खानेपानी, सञ्चार, स्वास्थ्य आदिको विकासमा कमी, उद्योग व्यवसायको कमी, रोजगारीको कमी, पैरो जाने आदि कारणले यहाँ पनि जनसङ्ख्या अपेक्षित रूपमा कम नै छ । रोजगारी र सहज जीवन यापनका लागि पहाडी क्षेत्रबाट पनि काठमाडौं र तराईतिर बसाइँ सर्ने क्रम चलेकै छ।

तराईको भूबनोट सुगम छ । समथर जग्गा छ । मलिलो माटो छ । प्रशस्त उब्जनी हुन्छ । उद्योग व्यवसाय पनि प्रशस्त छन् । रोजगारीको सुविधा छ । यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा आदिको सुविधाले गर्दा यहाँ जनसङ्ख्याको चाप बढी छ । यहाँ हिमाल र पहाडी भागबाट पनि बसाइँसराइँ गरेर मानिसहरू आउने गरेका छन्।

४.  ‘नेपालको बाग्मती प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुको कारण पत्ता लगाउनुहोस्।

उत्तर:- नेपालको प्रादेशिक जनसङ्ख्या वितरणमा सबभन्दा बढी जनसङ्ख्या बाग्मती प्रदेशमा देखिन्छ । बाग्मती प्रदेशमा मलिलो माटो पाइन्छ । यहाँ खाद्यान्नका साथै नगदे बालीको पनि प्रशस्त उत्पादन हुन्छ । यो प्रदेशमा विस्कुट, सिमेन्ट, वियर, कपडा, ईट, टायल, साबुन लगायत अनेकौं उद्योगहरू सञ्चालित छन् । बाग्मती प्रदेशमा नै देशको राजधानी छ । विदेशी दूतावासहरू पनि यही रहेका छन् । यहाँ राष्ट्रिय निकुञ्ज रहेको छ । साथै पशुपतिनाथ लगायतका अनेकौं मठमन्दिरहरू पनि छन् । अन्तर्राष्ट्रिय विमानस्थल पनि यही छ । यहाँ वर्षैभरि विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालित भइरहन्छन् । प्रत्येक वर्ष यहाँ लाखौं पर्यटक आउँछन् । यहाँ यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग व्यवसाय आदिको विकास भएको छ । यहाँ रोजगारीको प्रशस्त सुविधा छ । यसैले यहाँको जनसङ्ख्या बाक्लो छ ।

कर्णाली प्रदेशको भूबनोट विषम छ । यहाँको अधिकांश भाग होचो अग्लो भूभागले भरिएको छ । माटो कम उर्वर छ । यहाँ खाद्यान्नको उत्पादन कम हुन्छ । यहाँको उत्पादनले वर्षभरि खान पुग्दैन । हरेक वर्ष यहाँ खाद्यान्नको अभाव हुन्छ । यहाँको हावापानी चिसो छ । हिउँदमा उच्च पहाडी क्षेत्रमा हिमपात हुन्छ । यहाँ यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार आदिको विकास भएको छैन । यहाँ उद्योग व्यवसायको विकास भएको छैन । खानेपानीको र विद्युतको समस्या छ । रोजगारीको सुविधा छैन । रोजगारीको खोजीमा यहाँ मानिसहरू सुगम स्थानतिर बसाइँ सर्ने गर्छन् । यसैले यहाँको जनसङ्ख्या कम छ ।

थप प्रश्नहरु

१.  विकास भनेको के हो ? प्रष्ट पार्नुहोस् ।

उत्तर:- विकास भनेको उन्नति या प्रगति हो। कुनै व्यक्ति, समाज वा राष्ट्रको सामाजिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रहरूमा आउने सकारात्मक परिवर्तन नै विकास हो। विकास गतिशील प्रकृया हो। विकासले विद्यमान अवस्थाभन्दा अझ बढी सुविधाहरू थपिदै जान्छ ।

२.  जनसङ्ख्याको स्थिति भन्नाले के बुझिन्छ ?

उत्तर:- कुनै पनि देशको जनसङ्ख्याको आकार, वृद्धि, जनघनत्वको बनोट, जनसङ्ख्याको वितरण आदिलाई जनसङ्ख्याको स्थिति भनिन्छ। जनगणना, नमूना सर्वेक्षण, प्रशासकीय लागत, जन्म, मृत्यु, दर्ता प्रणाली आदि विधिहरू जनसङ्ख्याको स्थिति पत्ता लगाउन प्रयोग गरिन्छ ।

३.  जनसङ्ख्याको आकार र वृद्धि भन्नाले के बुझिन्छ 

उत्तर:- कुनै एक निश्चित क्षेत्रमा निश्चित समयमा बसोबास गर्ने बालबालिका, युवायुवती बृद्धबृद्धाहरूको जम्मा सङ्ख्या नै जनसङ्ख्याको आकार हो। जनसङ्ख्या बढी भएमा ठूलो आकार र थोरै भएमा सानो आकार भनिन्छ । कुनै ठाउँमा रहेको जनसङ्ख्यामा थप नयाँ शिशुको जन्म भएर थपिएको र बसाई सरी आएको कारण थपने जनसङ्ख्यालाई जनसङ्ख्या वृद्धि भनिन्छ।

४.  सक्रिय जनसङ्ख्या भनेको के हो ?

उत्तर:- १५ वर्ष उमेरदेखि ५९ वर्ष उमेरसम्मका पुरुष तथा महिलालाई सक्रिय जनसङ्ख्या भनिन्छ। शिशु अवस्थादेखि १४ वर्ष उमेरसम्मका बालबालिकाहरू रोजगार कमाउन श्रम गर्न सक्दैनन् । किनकि उनीहरूको उमेर कलिलो हुन्छ ६० बर्षदेखि माथिका पुरुष तथा महिलाहरू पनि उमेर बढी भएकाले श्रम गर्न योग्य हुदैनन्। १४ वर्षमुनिका र ६० वर्ष माथिका उमेर समूहलाई आश्रित जनसङ्ख्या भनिन्छ किनकी यिनिहरुले परिवारका कमाउने व्यक्तिमा बढी भर पर्नुपर्छ।

Explore
Drag