अभ्यास
1. ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।
उत्तर:– मध्यपाषण युगपछि नवपाषणयुग प्रारम्भ भयो । यो युगमा पनि मानिसहरु ढुङ्गाकै औजार बनाउँथे । तर यो कालखण्डमा ढुङ्गाका औजार केही विकसित थिए । ढुङ्गाबाट पालिस गरी चिल्लो बनाइएका औजारहरुको प्रचलन भयो । यस्ता औजारहरु अझ बढी धारिलो बनाई खन्न, काट्न, बुन्न, काठको काममा प्रयोग गर्ने गरी बनाइएको थियो । हिमयुगको अन्त्यसँगै तातिदैं गएको वातावरणीय अवस्थाले कृषि उत्पादनमा ठूलो भूमिका निर्वाह गरेको थियो । कृषि कार्य व्यवस्थित हुन थालेको थियो । मेसोपोटामिया, जोर्डन आदि देशमा गहुँ, जौको खेती, चीनमा धान र कोदो, अमेरिकामा मकै, भटमास, आलु आदिको खेती हुन्थ्यो । ढुङ्गाकै औजार प्रयोग गरेर कृषि कार्यको थालनी यो युगमा भएकोले यस युगलाई कृषियुगको सुरुवात मानिन्छ ।
2. ‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।
उत्तर:– कैषियुगको सुरुवात भएपछि बसोबास पनि स्थायी हुँदैगयो । खाद्यान्नको प्रमुख स्रोतको रूपमा रहेको खेतीयोग्य जमिन अचल भएकाले मानिसहरुलाई बाध्य भई खेतीकै छेउछाउमा बस्न बाध्य बनायो । बाली लाउने, हेरचार गर्ने तथा बाली काट्ने समयसम्म खेत छोडेर अन्यत्र जान नसक्ने स्थितिले गर्दा व्यवस्थित बसोबासको क्रम सुरु भयो । मानिसहरुले ढुङ्गाकै भएपनि घर बनाउन थाले । घर बनाउन बढी समय र श्रम पनि खर्चिन थालियो । नील नदीको उपत्यकामा खेतीमा सिँचाइ गर्ने र नहर बनाउने काम पनि सुरु भएको देखिन्छ । मेसोपोटामियामा पनि टाइग्रिस र युफ्रेटिस नदीबाट आउने बाढीलाई रोक्न अवरोधहरु बनाइएको पनि भेटिएको छ । नयाँ नयाँ बीउहरु सङ्कलन गरी खेतीपाती गर्न थालियो । स्थायी बसोबासले परिवारको आकारमा वृद्धि भयो । कृषि कार्याले गर्दा समयको बचत भयो । यसले नयाँ खोज र नयाँ अाविष्कारका क्षेत्रहरू खुल्दै गए । खाद्यवस्तु उत्पादन प्रशोधन तथा भण्डारणका नयाँ प्रविधिहरुको विकास भयो । कृषि उत्पादन बिक्रीका लागि र आवश्यक सामान खरिदका लागि बजारको विकास भयो । श्रम विभाजनले विशिष्ट रुप लिँदै गयो । नयाँ नयाँ वर्गहरु समाजमा देखा परे । धर्मप्रतिको अवस्थाको विकास भयो । लवाई खुवाई बसाइँको व्यवस्थित शैली विकसित हुँदै गयो । यसैले कृषियुगलाई व्यवस्थित बसोबास र सभ्य जीवन विकासको जग भनिएको हो ।
3. मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।
उत्तर:– हालको इराकलाई उहिले मेसोपोटामिया भनिन्थ्यो । मेसोपोटामियाको टिग्रीस र युफ्रेटिस नदीबिचको भूभाग उर्वर माटोले बनेको छ । यो क्षेत्र उर्वर अर्द्धचन्द्राकार (Fertile Cresent) नामले चिनिन्छ । यो क्षेत्रको माथिल्लो भागमा जङ्गली भेडा, बाख्रा र गाईवस्तुको बथान पाल्ने गरिन्थ्यो । यहाँ गहुँ र जौको खेती पनि गरिन्थ्यो । यो क्षेत्रमा पनि बाढी नियन्त्रणका लागि विभिन्न खाले अवरोधहरु निर्माण गरिएको थियो ।
4. कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस् ।
उत्तर:– कृषि युगको विकाससँगै जमिनको महत्त्व बढ्यो । जति बढी जमिन भयो, उति बढी उत्पादन लिन पाइने भयो । बढी उत्पादनको अर्थ बढी सुखसुविधा प्राप्त हुनु । यसरी यस युगमा बढी जमिन ओगट्ने प्रतिस्पर्धा चल्यो । केहि टाठाबाठाहरुले अरूको तुलनामा बढी जमिन ओगट्न सफल भए । कतिपयले थोरै जमिन पाए । कतिले पाएनन् । जमिनमा खेतीपाती गर्ने प्रमुख साधन मानवीय श्रम थियो । जोसँग थोरै जमिन थियो वा जमिन थिएन, उनीहरु बढी जमिन भएका मानिसहरु कहाँ काम गरी गुजारा गर्ने गर्थे । यसप्रकार कृषि युगमा बढी जमिन भएका जमिन्दारहरु र कम जमिन हुने वा नहुने गरिब वर्गको सृजना भयो । यी जमिनदारहरु समान्ताका रुपमा स्थापित हुँदै गए । विकासको क्रम बढ्दै गयो । श्रम विभाजनले विशिष्टता पायो । समाजमा राजनैतिक चेतनाको विकासले राजा रजौटाहरुको शासन पद्धति विकास भयो । श्रम विभाजनले गर्दा समाजमा व्यापारी, शिल्पकर्मी, सिपाही, पुजारी, शासक, शासकीय कर्मचारीहरु आदि जस्ता विभिन्न प्रकारका वर्गहरु देखा परे । केही सीमित व्यक्तिहरुले प्रशस्त आय गर्न सफल भए र उनीहरुको सम्पन्न भए । कोहीले उचित अवसर पाएनन् । स्रोत र साधनमा पहुँच पुगेन । उनीहरु निर्धन भए । यो विकासको क्रमले हाल समाजमा धनी, गरिब, भूमिपति, भूमिहीन, किसान, मजदूर, निर्धन, पुँजीपति आदि वर्गहरूको उत्पत्तिले सामाजिक असमान्ता ल्याएको छ ।
परियोजना कार्य
1. तपाईँको समुदायमा प्रचलित कृषि क्रियाकलापहरूको खोजी गरी मुख्य मुख्य क्रियाकलाप र त्यसले समाजमा पारेको प्रभाव समेटी एक प्रतिवेदन तयार गर्नुहोस् ।
उतर:- प्रतिवेदन
मेरो समुदायका अधिकांश व्यक्तिहरू कृषिमा संलग्न छन् । किनकि मेरी समुदाय ग्रामीण समुदाय हो । अधिकांश व्यक्तिहरू किसान छन् । यहाँका किसानहरूले अधिकांश मात्रामा व्यवसायिक तरकारी खेती गरेका छन् । यहाँका किसानहरूले विभिन्न किसिमका तरकारीहरूको उब्जनी गर्छन् । बेमौसमी सब्जीबाट राम्रै आम्दानी लिएका छन् । केही किसानहरूले पशुपालन व्यवसाय पनि गरेका छन् । उन्नत जातिका गाई र भैँसी पालेका छन्। उत्पादित दूध नजिकको दुग्ध व्यवसायलाई बेच्छन् । गाईभैँसीको मल तरकारी खेती गर्ने
(तथा अन्य किसानहरूले किनेर लैजाने गर्छन् । पाखामा डाले घाँस लाएका छन् । कोही माछापालन र कुखुरा पालनमा रमाएका छन् । हरेक हप्ताजसो पशुचिकित्सक गाउँमा आउँछन् र किसानलाई सल्लाह दिन्छन् । हरेक महिना जे.टी.ए. लाई बोलाएर सल्लाह लिन्छन् । यसबाट किसानहरूलाई खर्चवर्चमा सजिलो भएको छ । उतीहरूको जीवनस्तर राम्रै छ । उनका सन्तानहरू विद्यालय जान्छन् । प्राय: जसो घरमा मोटरसाइकल र टि.भी. छ । हरेक जसो किसानहरूले महिनावारी बचत गरी बैंकमा पनि राख्ने गरेका छन् ।