अभ्यास
१. “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।
उत्तर:- नेपालमा कृषि र उद्योग एक अर्काका पूरक हुन् । नेपालमा अधिकांश उद्योग, कृषि उत्पादनमा आधारित छन् । जस्तैः चामल, तेल, चिनी, कफी, जुट, सिंगरेट, चिया, अलैची प्रशोधन, फलफूलको रस निकाल्ने, कार्डबोर्ड डिस्टलरी, विस्कुट, सुजी, चाउचाउ, मैदा, आटा, कृषि उपकरण आदि हाम्रो देशमा जति कृषि उत्पादन बढ्यो, उतिनै कृषिमा आधारित उद्योग बढ्छन् । उद्योग बढे, रोजगारी बढ्छ, राजस्व बढ्छ, आयात घट्छ, बचत बढ्छ । आर्थिक अवस्थामा सुधार हुन्छ । मानिसको जीवनस्तरमा सुधार आउँछ । कृषि उत्पादन घटे उद्योग घट्छ र यसले आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्छ।
हाम्रो देशको कृषि निर्वाहमुखी छ । कृषि उत्पादन कम छ । यसकारण कृषिमा आधारित उद्योगहरूको सङ्ख्या पनि थोरै छ । हामीले कृषि उत्पादन बढाउन सक्यौ भने उद्योगहरूट सङ्ख्या पनि बढ्छ । रोजगारी पनि बढ्छ । राष्ट्रिय आय पनि बढ्छ । कृषि उत्पादन वृद्धि गर्न कृषिलाई व्यवसायीकरण गर्नुपर्छ । यसका लागि निम्न उपायहरू अवलम्बन गर्नुपर्छ-
i) किसानहरूलाई कृषिको आधुनिक प्रविधिको तालिम दिनुपर्छ ।
ii) ऐच्छिक विषयको रूपमा गाउँघरका विद्यालयहरूमा कृषि शिक्षा लागू गर्नुपर्छ ।
iii) किसानलाई खेतीको याम अगावै उन्न्त बिउबिजन तथा मलखाद उपलब्ध गराउने राज्यले व्यवस्था गर्नुपर्छ ।
iv) किसानलाई कृषि उपकरण खरिद, मलखाद तथा बिउविजन खरिदका लागि सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउनु पर्छ । किनकि नेपालमा वर्षाको ठेगान हुँदैन । हिउँदमा वर्षा नहुने हुँदा सिँचाइ सुविधा भए बाली उत्पादन हुन्छ ।
v) भूमिगत जल उपलब्ध भएका ठाउँमा विद्युत् आपूर्ति सहज गरी सोको प्रयोग गरी सिँचाइ गर्नुपर्छ ।
vi) बढी से बढी किसानहरूलाई पायक पर्ने ठाउँमा कृषि उत्पादन भण्डारण गर्ने, गोदामघर निर्माण गर्नुपर्छ ।
vii) बाली बिमा प्रथा प्रचलनमा ल्याउनुपर्छ ।
viii) किसानलाई जैविक मल उत्पादन गर्ने र प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ ।
ix) यातायात सुविधा भएको र किसानलाई सुविधा हुने ठाउँमा कृषिबजार वा मण्डीको सरकारले व्यवस्था गर्नुपर्छ । यस्ता ठाउँमा सरकारले वा व्यापारीहरूले खरिद गर्ने प्रबन्ध गर्नुपर्छ ।
x) प्रमुख बालीहरूको न्यूनतम बिक्री मूल्य सरकारले बाली तयार हुन अगावै तोक्नुपर्छ र कृषि बजारमा सो मूल्य किसानले पाउनु पर्छ ।
xi) चर्को ब्याज लिने तथा जाली तमसुक बनाई उठीबास लगाउने साहु महाजनलाई कडा सजाय दिनुपर्छ ।
औद्योगिक विकासका उपायहरू–
i) देशमा प्राविधिक शिक्षालयहरूको व्यवस्था गरी दक्ष कामदार उत्पादन गर्ने ।
ii) उद्योगहरूलाई कोरामालको प्राप्तिका लागि यातायात तथा सञ्चारको विकास गर्ने ।
iii) उद्योगहरूको उत्पादन बिक्री गर्न बजारको व्यवस्था गर्ने । यसका लागि संरक्षण नीति अवलम्बन गर्ने।
iv) उद्योगलाई चाहिने पूँजीका लागि वित्तिय संस्थाहरूमा बचत निक्षेप हुने वातावरण बनाउनुपर्छ । वित्तिय संस्थाहरूले बचत डुब्दैन भन्ने विश्वास जनतालाई दिलाउनुपर्छ ।
v) उद्यमी र कामदारबिच सुमधुर सम्बन्ध स्थापना गर्नुपर्छ । उद्यमीको कठिनाई कामदारले विचार गर्ने र कामदारको कठिनाई उद्यमीले बुझ्नुपर्छ ।
vi) हावापानी र माटो अनुसारको कृषि बाली उत्पादनमा जोड दिने यसरी बाली विविधीकरणले गर्दा सबै उद्योगहरूलाई कोरामालको आपूर्ति भइरहन्छ ।
vii) उद्योगहरूले बाली खरिद गरेपछि किसानहरूलाई भुक्तानी दिनुपर्छ । झुक्याउने काम गर्नुहुँदैन ।
viii) उद्योगले गुणस्तरयुक्त वस्तु उत्पादन गर्नुपर्छ जसले बजारमा सहज प्रतिस्पर्धा गर्न सकोस् । त्यसो भए उद्योगलाई बजारको अभाव हुँदैन ।
ix) सशर्त ठूला उद्योगहरूको स्थापनाका लागि बहुराष्ट्रिय कम्पनीहरूको लगानीका लागि वातावरण बताउनुपर्छ । यसबाट रोजगारीका साथै राजस्व पनि वृद्धि हुन्छ ।
२. पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जागिर खोज्दै हिँड्ने हो र भन्छन् । तपाईं कसको पक्षमा हुनुहुन्छ, आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।
उत्तर:- म व्यावसायिक कृषक र उद्यमीको पक्षमा छु किनभने-
i) जागिर खाने उमेरको हद हुन्छ । सो हद पूरा गरेपछि सेवा निवृत्त होइन्छ । खेतीपाती र उद्यममा उमेरको हद हुँदैन । सकुञ्जेल काम गर्न पाइन्छ ।
ii) जागिर छोडेपछि सन्तानले सो ठाउँ पाउँछन्, त्यस्तो सुविधा पाउँछन् भन्ने कुनै निश्चित हुँदैन । खेतीपाती तथा उद्यममा सन्तानलाई जागिरको खाँचो हुँदैन । आफ्नो व्यवसाय रेखदेख गरी जीविका चलाउन सकिन्छ।
iii) जागिरमा निश्चित रकम तलब सुविधा वापत पाइन्छ । खेतीपाती र उद्यममा आयको सिमा हुँदैन । राम्रो उत्पादन भए वा उद्यम राम्ररी चलेमा राम्रै आय हुन्छ । संसारमा नोकरी गर्नेभन्दा उद्यमीहरूले बढी आय आर्जन गरेका छन् ।
iv) जागिर खाँदा भविष्य सुरक्षित हुन्छ भन्ने भावना हुन्छ । सेवाबाट निवृत्त भएपछि राम्रै रकम पाइन्छ भन्ने आश हुन्छ । खेतीपाती तथा उद्यममा पनि भविष्य सुरक्षित हुन्छ । यसका लगानी र परिश्रम गरे अझ बढी आय हुन्छ।
v) जागिरमा सरुवा भइरहन्छ । आफ्नो उद्यम र कृषिमा सरुवा हुँदैन ।
vi) जागिरमा काम गर्ने अवधि निश्चित हुन्छ । सो समयमा कार्यालय जाने र काम गर्नुपर्ने हुन्छ । खेतीपाती र उद्यममा समय सिमा निश्चित हुँदैन, आफू खुसी काम गर्न पाइन्छ ।
vii) जागिरमा हाकिमलाई खुसी पार्नुपर्छ तर आफ्नो उद्यम तथा कृषिमा कसैलाई खुसी पार्नुपर्दैन, आफू खुसी भए पुग्छ।
viii) जागिरमा जति मिहिनेत र श्रम पगरेपनि उही तलब पाइने हो । खेतीपाती र उद्यममा जति बढी मिहिनेत गर्यो उति नै बढी प्रतिष्ठा र आय आर्जन बढ्छ ।
थप प्रश्नहरू
१. औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।
उत्तर:- औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची यसप्रकार छन् :
औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार प्रकृतिका आधारमा निर्माण उद्योगअन्तर्गत पर्ने व्यवसायहरु | ||
१. सड़क, पुल, सुरुङ, २. रोपवे, रेलवे, ट्राम, ट्रलिबस, केबुल कार, मोनोरेल र स्लाइडिङकार ३. हवाई धावन मार्ग विमानस्थल, ४. औद्योगिक संरचना एवम् पूर्वाधार कम्प्लेक्स ५. सभा सम्मेलन केन्द्र ६. ढल तथा ढल निकास ७. खानेपानी आपूर्ति तथा वितरण | ८. सिँचाइ पूर्वाधार९. खेलकुद गृह, रङ्गशाला, १० सवारी पार्किङ स्थल, पार्किङ गृह ११. निर्यात प्रशोधन क्षेत्र १२. विशेष आर्थिक क्षेत्र १३. कार्गो कम्प्लेक्स १४ दूषित पानी प्रशोधन केन्द्र १५. टेलिफोन टावर, अप्टिकल फाइबर नेटवर्क, भूउपग्रह, भूउपग्रह प्रसारण केन्द्र १६. घर तथा आवास भवन | १७. फिल्म सिटी निर्माण, फिल्म स्टुडियो निर्माण १८. व्यापारिक कम्प्लेक्स १९. ऊर्जा घर तथा ऊर्जा निजी वेयर हाउस २०. इन्धन तथा ग्यास आपूर्तिको पाइप लाइन जडानको पूर्वाधारको निर्माण, व्यवस्था तथा सञ्चालन २१. ऊर्जा घर तथा ऊर्जा प्रसारण लाइनको पूर्वाधार निर्माण व्यवस्था तथा सञ्चालन |