उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग

अभ्यास

१.  जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् ।

उत्तर:- समय परिवर्तन हुँदै जाँदा समाजमा आर्थिक तथा सामाजिक विकास पनि हुँदै जान्छ । यसले गर्दा जन्मदर र मृत्युदरमा परिवर्तन हुन्छ । अशिक्षित ग्रामीण समाजमा भएको उच्च जन्मदर, उच्च मृत्युदर क्रमिक विकासले गर्दा जनसङ्ख्या वृद्धिका केही अवस्था पार गर्दै न्यून जन्मदर र न्यून मृत्युदरको अवस्थातिर अग्रसर हुन्छ । यिनै जनसाङ्ख्यिक घटना ( जन्म र मृत्यु ) का प्रभावले गर्दा जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट

अर्को अवस्थामा परिवर्तन हुँदै जान्छ । यही प्रकृयालाई जनसाङ्ख्यिक सङ्क्रमण भनिन्छ । विकासको  फलस्वरूप उच्च जन्मदर र मृत्युदरको अवस्थाबाट न्यून जन्मदर र न्यून मृत्युदरको अवस्थामा अग्रसर भइरहेको जनसङ्ख्याको परिवर्तन नै जनसाङ्ख्यिक सङ्क्रमण हो।

उमेर वा उमेरसमूह अनुसार जनसङ्ख्याको वितरणलाई जनसङ्ख्याको उमेर संरचना भनिन्छ । उच्च मृत्युदर र उच्च प्रजननदरको अवस्थाबट न्यून मृत्युदर र न्यून प्रजननदरको जनसाङ्ख्यिक सङ्क्रमणले उमेर संरचनामा प्रत्यक्ष प्रभाव पार्छ । त्यस्तो अवस्थामा जनसङ्ख्याको सङ्क्रमण सानो उमेरबाट ठूलो उमेर संरचनामा परिवर्तन हुन्छ । यो प्रकृयालाई उमेर संरचनाको सङ्क्रमण भनिन्छ । यसमा बाल आश्रित जनसङ्ख्याबाट आर्थिक रूपले सक्रिय जनसङ्ख्यामा र आर्थिक रूपले सक्रिय जनसङ्ख्याबाट वृद्ध आश्रित जनसङ्ख्यामा परिवर्तन हुन्छ । उमेर संरचनाको सङ्क्रमणलाई तीन चरणमा विभाजन गरिन्छ । पहिलो चरणमा मृत्युदर घट्छ तर प्रजननदर बढ्छ । सामाजिक र आर्थिक विकासले गर्दा स्वास्थ्य अवस्थामा सुधार आउनाले मृत्युदर घट्छ । तर मानिसहरू सन्तानलाई पूँजी सम्झने भावना कम भएको हुँदैन । जति सन्तान भए उति नै कमाइ बढ्छ भन्ने भावनाले प्रजननदर उच्च नै रहन्छ । सामाजिक तथा आर्थिक विकासले मानिसको जीवनस्तरमा सकारात्मक परिवर्तनले सानो परिवारतिर आकर्षण बढ्छ र प्रजननदर घट्छ यसबाट बालबालिकाको सङ्ख्या घट्छ र बच्चा जन्माउन सक्ने र काम गर्न सक्ने उमेरको जनसङ्ख्या बढ्छ । त्यसै गरी तेस्रो अवस्थामा प्रजननदर घट्दो अवस्थामा यथावत् रहे बालबालिका र वयस्कको सङ्ख्यामा कमी आउँछ र वृद्धवृद्धाको सङ्ख्या बढ्छ । त्यसैले उमेर संरचनाको सङ्क्रमण एक लामो प्रकृया हो।

२.   जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस् ।

 उत्तर:- जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई प्रत्यक्ष प्रभाव पार्छ । जन्मदर बढी भयो भने बाल आश्रितदर बढ्छ । बालबालिका उमेर समूहको जनसङ्ख्या बढ्छ । उता मृत्युदर बढीमा सक्रिय जनसङ्ख्या उमेरको जनसङ्ख्या घट्छ । यदि प्रजनदर निरन्तर केही समयसम्म कम भएमा बालबालिकाको   सङ्ख्या कम हुन्छ । तर सक्रिय उमेर समूहको जनसङ्ख्या बढ्छ । मृत्युदर केही समय कम भएमा वृद्धवृद्धाको सङ्ख्या बढ्न जान्छ । लामो अवधिसम्म जन्मदर घट्दै गयो भने वृद्धवृद्धाहरूको सङ्ख्या दर पनि बढ्छ । यसरी जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई प्रभाव पार्छ ।

३.  जनसाङ्ख्यिक लाभांश र जनसायिक असरको पालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस् ।

उत्तर:- जनसङ्ख्याको उमेर संरचनामा परिवर्तनका कारणले आश्रित जनसङ्ख्या (१४ वर्ष मुनिका र ६० वर्ष माथिका) भन्दा आर्थिक रूपले सक्रिय जनसङ्ख्या (१५ वर्षदखि ५९ वर्ष सम्मका मानिसहरू) बढी भई आर्थिक वृद्धिको सम्भावना रहने अवस्था आउँछ । यस्तो अवस्थालाई जनसाङ्ख्यिक लाभांश वा बोनस (Demographic Dividend) भनिन्छ । यस्तो जनसायिक लाभांश कुनै पनि देशमा एउटा निश्चित अवधिसम्म मात्र रहन्छ । यस्तो अवस्थामा कुनैपनि देशलाई आर्थिक उपलब्धि हासिल गर्नलाई अवसर प्रदान गर्ने भएकाले यसलाई जनसाङ्ख्यिक अवसरको झ्याल (Demographic window of opportunity) भनिन्छ । यो अवस्थामा लगानी र बचतका कारण आर्थिक दर बढ्छ । कुनै पनि देशले यस अवस्थाको सही उपयोग गर्न सकेमा समाज र देशको अर्थ व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । सन् १९६० को दशकमा जनसाङ्ख्यिक लाभांशको अवस्थामा सिङ्गापुर, कोरिया, थाइल्याण्ड, मलेसिया आदि देशहरूले ठूलो आर्थिक प्रगति गरेका थिए । जनसाङ्ख्यिक लाभांशको समयमा सक्रिय जनसङ्ख्या बढी भएकाले सो जनसङ्ख्यालाई उपयोग गरी आर्थिक क्षेत्रमा विकास गर्न सकिन्छ ।

थप प्रश्नहरु

१. जनसङ्ख्या सङ्क्रमणको कस्तो अवस्थालाई जनसङ्ख्या विस्फोटको अवस्था भनिन्छ 

उत्तर:- जनसाङ्ख्यिक सङ्क्रमणको दोस्रो अवस्थामा जनसङ्ख्या वृद्धि तीव्र हुन्छ । जनसाइख्यिक सङ्क्रमणको पहिलो अवस्था पुरानो रीतिरिवाजमा रहेको अवस्थाको हो। यो अवस्थामा जन्मदर र मृत्युदर उच्च हुन्छ । किनकि यो अवस्थामा परिवार नियोजनको चेतना व्यक्तिमा हुँदैन। दैवी प्रकोप तथा रोगव्याधि आदिले गर्दा मृत्युदर पनि बढी हुन्छ । समय परिवर्तनका साथै आर्थिक र सामाजिक प्रगति हुँदै जान्छ । यो अवस्थामा मानिसहरू शिक्षित हुनुका साथै औषधि उपचार तथा सफाइ, आदिको क्षेत्रमा प्रगति भएकाले मृत्युदरमा कमी हुन्छ। यो अवस्थामा जन्मदर मृत्युदरभन्दा बढी हुन्छ किनकि व्यक्तिको अभिवृत्ति तथा व्यवहारमा खासै परिवर्तन नआइसकेकोले जन्मदर भने उच्च नै रहन्छ । यो अवस्थामा जनसङ्ख्या तीव्र रूपले वृद्धि हुन्छ । यस अवस्थालाई जनसङ्ख्याको विस्फोटको अवस्था (Stage of population explosion) भनिन्छ ।

२. उमेर संरचनाको सङ्क्रमणले आश्रितवरमा पार्ने प्रभावको छोटो विश्लेषण गर्नुहोस्। 

उत्तर:- उमेर संरचनाको सङ्क्रमणले आश्रित दरमा पनि प्रत्यक्ष प्रभाव पार्छ । यसले कुल आश्रित दरमा परिवर्तन ल्याउँछ । जन्मदर बढी भयो भने बाल आश्रित दर बढी हुन्छ। लामो समयसम्म जन्मदर घट्दै गयो भने बाल आश्रित दर पनि घट्दै जान्छ । तर केही दशकपछि वृद्धवृद्धाको जनसङ्ख्या भने बढ्छ । यसबाट कुल आश्रित दर भने बढ्छ । बालबालिकाको जनसङ्ख्या वृद्धि भयो भने राज्यले ठूलो मात्रामा शिक्षा तथा स्वास्थ्यमा लगानी गर्नुपर्ने हुन्छ। बाल आश्रित जनसङ्ख्या आर्थिक रूपमा सक्रिय जनसङ्ख्यामा परिवर्तित भएपछि राज्यले उनीहरूलाई आर्थिक प्रगतिमा सदुपयोग गर्नुपर्छ तथा वृद्धवृद्धा अवस्थामा पुर्याउनुपर्ने सेवा सुविधा र सामाजिक सुरक्षाका बारेमा योजना बनाउनुपर्ने हुन्छ । जनसङ्ख्या वृद्धिको सुरुको अवस्था र अन्तिम अवस्थामा कुल आश्रित दर एकदमै उच्च हुन्छ । यस अवस्थाको मध्य भागमा आर्थिक रूपमा सक्रिय जनसङ्ख्यामा वृद्धि भएकोले देशको आर्थिक सामाजिक र सांस्कृतिक उन्नतिले गति दिन्छ ।